चौधौँ महाधिवेशनको तयारीमा कांग्रेस

चौधौँ महाधिवेशनको तयारीमा कांग्रेस


■ भीष्मराज ओझा, काठमाडौं

नेपाली कांग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशनको मिति तय गर्दै त्यसको तयारीलाई तीव्र बनाएको छ । कांग्रेसले केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

कांग्रेसको गत पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले गाउँ/नगर वडा अधिवेशन २०७७ साल मङ्सिर ९ गते, गाउँ/नगरपालिका अधिवेशन मङ्सिर ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर १५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मङ्सिर १७ गते, जिल्ला अधिवेशन मङ्सिर २५ गते, प्रदेश अधिवेशन पुस १५ गते र केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय समितिको सो बैठकले बहुमतका आधारमा उक्त निर्णय गरेपछि पार्टीमा आन्तरिक विवाद उत्पन्न भएको थियो । विवाद समाधानका लागि शीर्ष नेताहरुले सोबारेमा यही माघ १० गते सहमति गरेका थिए । कांग्रेसको आज अपराह्न बस्ने केन्द्रीय समिति बैठकले सो सहमतिलाई सर्वसम्मतरूपमा पारित गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा गत शुक्रबार भएको शीर्ष नेताहरुको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन तोकिएको मितिमै गर्ने तथा केन्द्रीय महाधिवेशन अघि विभिन्न तहका अधिवेशनसम्बन्धी कार्यतालिका र कार्यविधि परिमार्जनसहित नयाँ प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने सहमति गरेको थियो । साथै पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने, ६ महिनाभित्र महाधिवेशन गर्ने गरी नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति गठन गर्नेलगायतका सहमति गरी उक्त सहमति केन्द्रीय समिति बैठकबाट सर्वसम्मतिले पारित गर्ने निर्णय भएको थियो ।

गत पुस ११ गते केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद देखिएको थियो । वरिष्ठ नेता पौडेल पक्षको अनुपस्थितिमा बसेको केन्द्रीय समितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि ६ महिना थप गर्ने, कांग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, पार्टीको विभिन्न तहका अधिवेशन गर्ने कार्यतालिका, विधानका केही दफा निलम्बन गर्नेलगायतका निर्णय गरेको थियो ।

गत मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा १४औँ महाधिवेशनको कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै वरिष्ठ नेता पौडेल पक्षका नेताहरु बैठकमा उपस्थित भएनन् । त्यसपछि सहमतिका लागि शीर्ष नेताहरुबीच पटकपटक छलफल भएका थिए । शीर्ष नेताबीचको सहमति भएको झण्डै डेढ महिनापछि आज वरिष्ठ नेता पौडेल पक्ष पनि केन्द्रीय समिति बैठकमा सहभागी हुँदैछ ।

कांग्रेसको १३औं महाधिवेशन विसं २०७२ फागुनमा काठमाडौंमा सम्पन्न भएको थियो । कांग्रेसको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने उल्लेख छ । साथै सोही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था उल्लेख छ ।

pict: rss