जनताको आशा र विश्वास बढ्ने गरी सदन अगाडि बढाउँछु : सभामुख सापकोटा

जनताको आशा र विश्वास बढ्ने गरी सदन अगाडि बढाउँछु : सभामुख सापकोटा


नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसदप्रति जनताको आशा र विश्वास बढ्ने ढंगबाट आफूले सदनको कामकारबाही अगाडि बढाउने बताएका छन् । सभामुख पदको शपथग्रहणलगत्तै सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेपछि आयोजित संक्षिप्त पत्रकार भेटघाटमा सापकोटाले सदनलाई जीवन्त रूपमा सञ्चालन गरिने बताए । ‘हामीले चुनेर पठाएका प्रतिनिधिले लोकतान्त्रिक बाटोबाट छलफल गरेका छन् भनेर जनताले अनुभव गर्नेगरी सदनलाई अगाडि बढाउँछु,’ उनले भने, ‘केही विधेयक प्रमाणीकरण गर्न बाँकी छ । प्राथमिकता प्राप्त विधेयकलाई शीघ्र अगाडि लैजाने र विधेयकको प्राथमिकता छुट्याएर काम गर्नेछु ।’

सभामुखमा निर्वाचित भएलगत्तै अब आफ्नो सम्पूर्ण ध्यान संसदमा केन्द्रित भएको उनको भनाइ थियो । सभामुख सापकोटाले सदनमा दर्ता भएका विधेयकका साथै संकल्प प्रस्ताव, सार्वजनिक महत्वका प्रस्तावलाई प्राथमिकता क्रम छुट्याएर अगाडि बढाउने बताए ।

‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सम्बन्धी प्रस्ताव के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले एमसीसीसम्बन्धी सहयोग लिने–नलिने भन्नेमा नेपाली समाजमा बहस छेडिएको र बहसबाट निस्कने निष्कर्षका आधारमा निर्णय लिइने टिप्पणी गरे । ‘एमसिसीको सन्दर्भमा सबै सांसदको भावना समेटेर अघि बढ्छु,’ उनले भने ।

लोकतन्त्रमा विरोध भइरहन्छन्

सभामुखमा निर्वाचित भएपछि आफ्नोबारे गरिएको विरोधलाई सामान्य रूपमा लिँदै उनले लोकतन्त्रमा विरोध गर्न सबैलाई छुट भएको टिप्पणी गरे । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै केही व्यक्तिले विरोध गरेका थिए ।

उनले आफूविरुद्ध अदालतममा केही मुद्दा विचाराधीन रहेको र ती विषयमा बढी बोल्नु मनासिव नहुने बताए । ‘यस विषयमा धेरै बोल्नु परिपक्वता हुँदैन,’ त्यस विषयमा आफूलाई बोल्न बाध्य नपार्न आग्रह गर्दै उनले भने, ‘केही विषय उठेका छन्, ती निरुपण हुँदै जान्छन् ।’

पदवहालीलगत्तै सभामुख सापकोटाले संसदमा पेस गर्न विधेयक स्वीकृत गरेका छन् । सभामुखलाई कार्यकक्षमा संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत संसदका कर्मचारीले स्वागत गरेका थिए ।