गायिका राउतलाई हिरासतमा राख्न म्याद थप्ने तयारी

गायिका राउतलाई हिरासतमा राख्न म्याद थप्ने तयारी


सोमबार बिहान परिवारका सदस्यसहित प्रहरी कार्यालय उपस्थित भएकी गायिका आस्था राउतलाई हिरासतमा राख्न प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ ।

माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । भारतको सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रहरी जवान श्रेष्ठसँग भएको घटनापछि गायिका राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् । ड्युटीमा रहेका बेला आफूलाई दुव्र्यवहार गरेको भन्दै श्रेष्ठले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

घटनालगत्तै प्रहरीले सुरक्षा जाँचका क्रममा दुव्र्यवहार गरिएको भनिएको सीसीटीभी फुटेज बाहिर ल्याएको थियो । प्रहरीले राउतले प्रहरी संगठनकै बदनाम गरेको र ड्युटीमा खटिएका प्रहरीलाई दुव्र्यवहार गरेको दाबी गरेको छ भने गागिका राउतले ड्युटीमा खटिएका प्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको आरोप लगाएकी छिन् ।

अभद्र व्यवहारसम्बन्धी कसुर जिल्ला प्रशासन कार्यालयले हेर्ने भएकोले राउतलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमै लैजाने तयारी भइरहेको छ ।

गायिका राउत आइतबार बेलुका भारतबाट नेपाल आएकी हुन् ।