बिरामी बोकेको बोलेरो दुर्घटनामा एकको मृत्यु

ओखलढुंगामा सोमबार बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीनजना गम्भीर घाइते भएका छन् । चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो ।



गाउँबाट बिरामी लिएर ओखलढुंगा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा.२१च ७३६१ नम्बरको बोलेरो आज बिहान ६ः३० बजेको समयमा दुर्घटना हुँदा विश्वकर्माको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाएका विश्वकर्मा आफैँ पनि बिरामी थिए । दुर्घटनामा परेर चालक सोही ठाउँका जितबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी गम्भीर घाइते भएका छन् ।

घाइतेको अवस्था गम्भीर रहेकाले स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर अस्पताल लैजाने तयारी गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बोलेरो सिद्धडाँडाबाट करिब पाँच सय मिटर तल खसेर गोपेखोला पुगी दुर्घटनाग्रस्त भएको छ । साँघुरो सडकका कारण अनियन्त्रित भई बोलेरो दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
rss

प्रतिक्रिया