रसुवागढी नाकाबाट झोले र पोके समान आयातमा प्रतिबन्ध

रसुवागढी नाकाबाट झोले र पोके समान आयातमा प्रतिबन्ध


उत्तरी नाका रसुवागढीबाट बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्न प्रतिबन्ध गरिएको छ । ६८औँ विश्व भन्सार दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा भन्सार कार्यालय टिमुरेले ‘घरेलु प्रयोजन’ भन्दै झोला-पोकामा सामान आयात वृद्धि भएकोले प्रतिबन्ध लगाइएको जानकारी दिइएको हो ।

कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्न प्रतिबन्ध गरिएको जानकारी दिँदै शुल्क नतिरी ल्याइएका सबैखाले झोले पोके व्यापारीको सामान जफत गरिने जिकिर गरे । स्थायी लेखा नम्बर र वाणिज्य दर्ता प्रमाणपत्र लिई आयातनिर्यातको गर्न चाहने सबै व्यक्तिलाई सम्पर्क राख्न पनि कार्यालयले आग्रह गरेको छ ।

सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजश्व चुहावट नियन्त्रण २१ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले बिना इजाजतका झोले पोके व्यापारी नियन्त्रण गरिने बताए । यही माघ १० गतेसम्म आयातनिर्यात भएका सामग्रीबाट भन्सार शुल्क कूल रु १९ अर्ब ७२ करोड ६४ लाख ४५ हजार राजश्व आर्जन भएको कार्यालयले जनाएको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले सरकारले निर्धारण गरेका भन्सार शुल्क बुझाउन व्यापारीलाई आग्रह गर्दै राजश्व सङ्कलनमा अह्रोरात्र योगदान दिनुहुने भन्सार कार्यालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिए । राससका अनुसार सोही कार्यक्रममा राजश्व सङ्कलनमा सहयोग पुऱ्याउने भन्सार अधिकृत विष्णुकुमार श्रेष्ठ र कार्यालय सहयोगी धनबहादुर तामाङलाई पुरस्कृत गरिएको थियो ।