कुसुण्डा भाषाका एक मात्र ज्ञाता ज्ञानीमैयाको निधन

कुसुण्डा भाषाका एक मात्र ज्ञाता ज्ञानीमैयाको निधन


विश्वमै एक मात्र कुसुण्डा भाषाका ज्ञाता ज्ञानीमैया कुसुण्डाको निधन भएको छ । लामो समयदेखि दमले ग्रस्त दाङको लमही नगरपालिका–६ कुलमोहर निवासी ८२ वर्षीय कुसुण्डाको शनिबार (११ माघ) निधन भएको हो ।

ज्ञानीमायाको निधनसँगै कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको दुःखेसो गर्दै यस भाषाका अनुसन्धानकर्ता उदय आले बताउँछन्– ‘विश्वमा उहाँमात्रै कुसुण्डा भाषा बोल्ने ब्यक्ति हुनुहुन्थ्यो, उहाँलाई हामीले कुसुण्डा भाषाको शब्दकोषका रुपमा समेत लिएका थियौँ, तर उहाँको निधनले कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको छ ।’

पुसको अन्तिम सातादेखि ज्ञानीमैया बिरामी परेकी र उनको प्रारम्भिक उपचार लमहीस्थित फ्लोरेन्स अस्पतालमा गरिएको थियो । थप उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो तर अवस्थामा सुधार नभएपछि पछिल्लो समय घरमै राखिएको थियो । ज्ञानीमैयाकी बुहारी आशा पुनमगरलाई उद्धृत गर्दै राससले दिएको जानकारीअनुसार अब दाङको लमहीमा उनकी काकाकी छोरी कमला कुसुण्डाले मात्रै यो भाषा बोल्न जानेकी छिन् ।

ज्ञानीमैयाका एक मात्र छोरा प्रेमबहादुरको ६ वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियोे । उनका दुई छोरीको विवाह भइसकेको छ । घरमा उनकी बुहारीले नै हेरचाह गर्दै आएकी थिइन् । स्मरणीय छ,, दाङमा ९८ र देशभर २७३ जना कुसुन्डा रहेका कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाको भनाइए छ ।