‘बाह्रखरी कथा प्रतियोगिता’को घोषणा

‘बाह्रखरी कथा प्रतियोगिता’को घोषणा


१२खरी बुक्सले दोस्रो ‘बाह्रखरी कथा प्रतियोगिता’को घोषणा गरेको छ । नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ ।

प्रतियोगिताको शर्तअनुरुप प्राप्त भएका कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउने छ । ती कथामध्येबाट निर्णायकले ‘उत्कृष्ट कथा २०७७’ पुस्तकका लागि २५ वटा छान्नेछन् र त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुने आयोजकले जनाएको छ ।

वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण वाग्लेको संयोजकत्वमा उपन्यासकार अमर न्यौपाने र नवप्रतिभा बिना थिङ तामाङ प्रतियोगिताको निर्णायक रहेका छन् ।

नेपाली कथा लेखनको क्षेत्रमा दिइने सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा गत वर्ष नौ सयभन्दा बढी कथाकारले भाग लिएका थिए भने यस वर्ष अझ ठूलो सहभागिता हुने आयोजकको विश्वास छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्लो वर्षमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार तथा अवार्ड र प्रमाणपत्र प्रदान गरिने छ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिने जानकारी दिइएको छ ।

सङ्ग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गरिने छ ।

प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा आगामी फागुन १०गतेभित्र ‘बाह्रखरी कथा’ को ईमेल ठेगानामा पठाइसक्नुपर्नेछ । कथा प्रतियोगिताको नतिजा २०७६ वैशाख १२ गते एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिनेछ । सोही दिन ‘उत्कृष्ट कथा– २०७७’ को लोकार्पणसमेत हुनेछ ।

आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले ‘बाह्रखरी कथा प्रतियोगितामा’मा भाग लिन सक्नेछन् ।

यो प्रतियोगिताले नवप्रतिभालाई स्थापित बनाउनुका साथै अग्रजको सम्मान गर्ने आयोजक पक्षले विश्वास लिएको छ ।

पहिलो संस्करण अर्थात् २०७६ वैशाखमा बजारमा आएको ‘उत्कृष्ट कथा २०७६’ हिन्दी भाषामा पनि प्रकाशित भइसकेको छ भने गत वर्ष मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’कथा तृतीय भएको थियो । प्रथम हुने कथाकारले एकलाख, द्वितीय र तृतीय हुनेरले क्रमशः ६० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगिताको शर्त तथा नियम :

– कथा नेपाली भाषामा हुनुपर्नेछ ।
– अघिल्लो वर्षमा प्रतियोगिताका लागि प्राप्त कथा दोहोऱ्याउन पाइने छैन ।
– कथा अप्रकाशित र अप्रशारित हुनुपर्नेछ । प्रतियोगिताको नतिजा सार्वजनिक नहुञ्जेल कथा कतै प्रकाशन तथा प्रशारण गर्न पाइने छैन ।
– छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रशारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
– ‘बाह्रखरी कथा प्रतियोगितामा’ भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रुपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रशारण गर्न ‘बाह्रखरी बुक्स’को पूर्वस्वीकृति अनिवार्य छ ।
– कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्नेछ ।
– प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।
– प्रतियोगिताका लागि छानिएका कथाकारलाई ‘बाह्रखरी बुक्स’ले ईमेल तथा फोनमार्फत् सम्पर्क गर्नेछ ।
कथा पठाउनका लागि इमेल– [email protected]