धादिङ, चितवनलगायत जिल्लामा राजमार्गका संरचना हटाइँदै

धादिङ, चितवनलगायत जिल्लामा राजमार्गका संरचना हटाइँदै


सडक विभागले विभिन्न जिल्लामा राजमार्ग क्षेत्रमा सडक अतिक्रमण भइरहेको भन्दै त्यसलाई अतिक्रमित संरचना तत्काल हटाउने निर्णय गरेको छ ।

धादिङ, चितवनलगायत जिल्लामा सडक अतिक्रमण बढी रहेको पाइएको विभागले जनाएको छ । सडक क्षेत्रमा घर, टहरा बनाउने, नाली पुरेर व्यवसाय सञ्चालन गर्ने, सडक संरचना भत्काउने, ढल तथा पानी सडकमा बगाउने काम भइरहेको बताइएको छ । सडक अतिक्रमणका कारण यातायात सञ्चालन तथा सडक प्रयोगकर्तालाई बाधा पुगेको विभागले जनाएको छ ।

विभागले आगामी २७ गतेसम्म अवरोध हटाउनुपर्ने र नहटाएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार भत्काउने जनाएको छ । सम्बन्धित जिल्लाको डिभिजन सडक कार्यालयले आफैँ संरचना भत्काउँदा लाग्ने खर्च सम्बन्धित सडक प्रयोगकर्ताबाटै असुल गर्नेसमेत बताइएको छ । राष्ट्रिय राजमार्गहरूको अधिकार क्षेत्र मूल सडकको केन्द्रबाट ३१–३१ मिटर हुने ऐनमा उल्लेख छ ।