काङ्ग्रेस विवाद साम्य, १४औँ महाधिवेशन २०७७ फागुनमै !

काङ्ग्रेस विवाद साम्य, १४औँ महाधिवेशन २०७७ फागुनमै !


एक महिना अघिदेखि पार्टीमा देखिएको आन्तरिक विवाद समाधान भएको नेपाली काङ्ग्रेस नेतृत्वले दाबी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार (१० माघ) बसेको पार्टीका शीर्ष तहका नेताहरूको बैठकले आन्तरिक विवादको समाधान निकालेको बैठकमा सहभागी नेताहरूले बताएका छन् । सभापति देउवाकै विशेष अग्रसरतामा शुक्रबार बैठक बसेको थियो ।

काङ्ग्रेसमा गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद देखिएको थियो । सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काङ्ग्रेस को सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, पार्टीको विभिन्न तहका अधिवेशन गर्ने कार्यतालिका र विधानका केही दफा निलम्बन गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्नेलगायतका निर्णय गरेको थियो ।

यसपछि उत्पन्न विवादमा सहमतिका लागि पार्टीका शीर्ष नेताबीच विभिन्न चरणमा छलफल भए पनि टुङ्गो लाग्न सकेको थिएन । तर, शुक्रबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म भएको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने, केन्द्रीय महाधिवेशनअघि विभिन्न तहका अधिवेशन तथा ती अधिवेशनका कार्यतालिका र कार्यविधिका सम्बन्धमा परिमार्जनसहित नयाँ प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने सहमति भएको उपसभापति निधिले जनाएका छन् ।

निधिलाई उद्धृत गर्दै राससले जनाएअनुसार बैठकले पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने, ६ महिनाभित्र महाधिवेशन गर्ने गरी नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति गठन गर्नेलगायतका विषयमा सहमति गरेको छ । नेविसङ्घका निवर्तमान अध्यक्ष नैनसिंह महर नेतृत्वको केन्द्रीय समिति विघटन भएको दिनसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीले नेविसङ्घको आगामी १२औँ महाधिवेशनमा भाग लिन पाउने सहमति पनि भएको छ । साथै तदर्थ समितिमा बस्ने पदाधिकारी र सदस्य नेविसङ्घको आगामी महाधिवेशनमा उम्मेदवार बन्न पाउने छैनन् ।

शुक्रबार सहमति भएका विषयलाई केन्द्रीय समितिबाट पारित गर्न काङ्ग्रेसले यही माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।