बिगार त्यहीँ परेको छ प्रधानमन्त्रीज्यू !

बिगार त्यहीँ परेको छ प्रधानमन्त्रीज्यू !


■ केशवप्रसाद भट्टराई

मन त आफ्नो प्रधानमन्त्रीलाई प्रशंसा नै गर्न लालायित छ नि, तर के गर्नु ?

१. हिजो सुशील कोइरालाले तपाईंविरूद्ध प्रधानमन्त्रीमा उम्मेदवारी दिँदा मुलुकभरीका काङ्ग्रेसीहरूले सुशील कोइरालाको आलोचना गरे र तपाईंको प्रशंसा गरे ।
काङ्ग्रेसी सांसदहरूले मुर्मुर्रिएर सुशील कोइरालालाई भोट हाले !

२. तपाईंको सरकार ढालेर प्रचण्डको नेतृत्वको सरकार गठन गर्नमा काङ्ग्रेस नेतृत्वले गरेको राजनीतिक आत्महत्याको विरोध काङ्ग्रेसीहरूले नै गरे !
कारण थियो– माओवादी हिंसा, आतंक र अराजकताविरूद्ध तपाईंको दृढ अडान र कठोर दृष्टिकोण !
अराजक, उच्छृङ्खल र घातक जातीवादी र साम्प्रदयिक राजनीतिविरूद्धका तपाईंको हुङ्कारले मुलुकको एकता र अखण्डताका पक्षधरहरूमा प्राण वायु सञ्चालन गरेको थियो !
माओवादीको सधैंको अराजक मोलतोलको विरूद्ध तपाईंको स्पष्ट र खरो विमतिसहितको सशक्त उपस्थितिले नेपाली जनताले तपाईंमा एउटा महानायकको छवि देखेका थिए !

३. संविधान जारी हुने बेलामा सुव्रमन्यम जयशंकरको आगमन र दबाबसामु अरू झुक्ने थिए होलान् नै तर तपाईं दह्रोसँग उभिएकाले अरूले झुक्ने आँट गरेनन् !
संविधान ठिक–बेठिक के थियो त्यो अर्को कुरा होला, तर संविधानसम्बन्धी सबै छलफल र पारित गर्ने प्रक्रिया समाप्त भएर संविधान जारी हुने मिति समेतको घोषणापछि अन्तिम समयमा आएर जयशंकरले जुन बडी ल्याङ्ग्वेज प्रदर्शन गरे ।
जस्तो रुखो वचन गरेर उनले नेपाली नेताहरूलाई चुनौती दिए– त्यो कुनै आधारमा पनि ग्राह्य थिएन ।
नेपाली राष्ट्रिय स्वाभिमानविरूद्धको अपमानजनक प्रहार थियो त्यो !

४. त्यसको विरूद्ध उभिएर तपाईंले वर्षौंपछि नेपाली मनोवललाई जुरुक्कै पारिदिनुभयो !
त्यसपछिको मधेशकेन्द्रित दलले मधेशमा चलाएको, सीमानामा बसेर गरेको अराजक, अग्राह्य र हिंसात्मक चरित्रको आन्दोलन र भारतीय नाकाबन्दी सामू सामसामयिक नेपालमा असम्भव लाग्ने तपाईंको प्रखर राष्ट्रिय अडान र अभिव्यक्तिले मुलुकको स्वाभिमान र गौरवलाई एउटा असाधारण उचाई प्रदान गरेको हो ।

५. तपाईंको जीवन रक्षाको लागि मानिस भगवानसँग भाकल मात्रै गरिरहेका थिएनन्, आफ्नो मृगौलाको के कुरा सम्भव भए आफ्नो आयु पनि दिन तयार थिए ।

६. तर त्यही ओली फगत चुनावी जितको लागि माओवादीसँग पार्टी एकता गर्छन् !
प्रष्ट रूपमा ठूलो रकम भ्रष्टाचार देखिने वाइडबडी काण्डमा आफ्ना मन्त्रीलाई सफाई मात्रै दिँदैनन् त्यसको छानवीन समेत गराउँदैनन् !
मुलुकमा एकपछि अर्को घिनलाग्दो भ्रष्टाचारको काण्ड घट्दै जान्छ मुलुकले सवैभन्दा बढी विश्वास गरेको प्रधानमन्त्री केही नभए जस्तो गरेर, केही नसुने जस्तो गरेर बस्छन् !

७. निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई सरकारी संरक्षण नभएको भए नेपाल प्रहरीले सात दस दिनभित्र दोषी पत्ता लगाउन नसक्ने कुनै कारण नै थिएन !
इश्वरको नाउँमा आफ्नो पदको शपथ ग्रहण नगर्ने तर एउटी विवादित क्रिश्चियन महिलाको देवत्वकरण गरिएको होलीवाइन समारोहमा सरकारी कामकाज र सरकारी निवाश छोडेर मुलुकको प्रधानमन्त्री तीन दिनसम्म होटलमा बस्नुको औचित्य जनताले कसरी बुझ्ने ??
कसैले जाहेरी दिएको भरमा शाक्ति र पदको आडमा आफ्नो कार्यालय कि सामान्य महिला कर्मचारीको यौनशोषण र बलात्कार प्रयासको आशंकामा मुलुकको सभामुख हटाइए !
हटाइनु अनुचित थिएन होला !
तर, हत्याको अभियोगमा अदालतमा मुद्दा चलिरहेको
व्यक्तिलाई सभामुख ???

८. यी र यस्ता कुराहरूका शृंखला एकपछि अर्को भैरहने !
बालुवाटार र गोकर्णदेखि मुलुकभरीका सर्कारी, मन्दिर, पाटी–पौवा र शैक्षिक सँस्थाहरूका जग्गामा सरकारकै संरक्षणमा मनपरी भैरहेको छ, लुटिएका छन्,…, तर प्रधानमन्त्री ???

गिट्टी र बालुवाका लागि डाँडापाखा, नदी–खोला, गाउँ (बस्ती स्वाहा पारिएको छ र त्यसो गर्नेमा सबैभन्दा बढी नेकपाका नेता र कार्यकर्ता देखिन्छन् !

९. तपाईंका मन्त्रीहरू र संसदीय समितिहरू, पार्टी नेताहरू अराजक, असहिष्णु, अनुत्तरदायी छन् !
तपाईंका अदालतदेखि संवैधानिक निकायसम्मका र शैक्षणिकदेखि राजदुतसम्मका नियुक्तिहरूमा अस्वस्थ्य र भ्रष्ट स्वार्थ मिसिएको देखिन्छ, बुझिन्छ, सुनिन्छ र पढिन्छ !
तर सरकार कतै सचेत भएको देखिन्न !
हामीले जे गरे पनि हुन्छ भन्ने मानसिकतामा सरकार चलेको देखिन्छ !

१०. अनि के गर्नु प्रधानमन्त्रीज्यू !?
‘बिगार त्यहीँ परेको छ !’