सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर


नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद अग्निप्रसाद सापकोटाविरुद्ध आज (शुक्रबार) सर्वोच्च अदालतमा रिट दायर भएको छ । कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका सापकोटालाई प्रतिनिधिसभाको सभामुखमा निर्वाचित नगर्न भन्दै तत्काल सो निर्वाचन प्रक्रिया रोक्न माग गर्दै उनीविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।

त्रिपाठीद्वारा दायर रिटमा कर्तव्य ज्यान मुद्दाका अभियुक्त रहेका सापकोटालाई गिरफ्तार गरी न्यायालयमा उपस्थित गराउने आदेश जारी गर्न पनि माग गरिएको छ ।

यही माघ १२ गते आइतबार प्रतिनिधिसभामा सभामुखको निर्वाचन हुँदै छ । सो पदका लागि सापकोटा एकल उम्मेदवार हुन् र उनी आइतबार प्रतिनिधिसभाको समामुखमा चयन हुने पक्का छ । तर, वरिष्ठ अधिवक्ता त्रिपाठीले संसदको सो प्रक्रियाभन्दा अगावै उनलाई सभामुख चयन गर्ने प्रक्रिया स्थगित गर्न अन्तरिम आदेशको माग गरेका छन् ।

सापकोटाविरुद्ध १७ वैशाख २०६२ मा ‘माओवादी कार्यकर्ताको अपहरणमा परेका’ भनिएका काभ्रेको छत्रबाँसका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । अर्जुनकी श्रीमती पूर्णमाया लामाले ७ मंसिर ०६९ मा सापकोटासहितका माओवादी नेता–कार्यकर्ताविरुद्ध काभ्रेमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दा अहिले संवैधानिक अदालतले हेरिरहेको अवस्था छ ।