महोत्तरीका सबै क्रसर उद्योग सञ्चालनमा रोक

महोत्तरीका सबै क्रसर उद्योग सञ्चालनमा रोक


क्रसर उद्योगले अवैध उत्खनन बढाएको गुनासो बढेपछि महोत्तरीमा उद्योग सञ्चालनमा रोक लगाइने भएको छ । प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय बुधबार गरेको छ ।

उद्योगले गत आर्थिक वर्ष ०७५–७६ को भण्डार (स्टक) विवरण उपलब्ध नगराएको हुँदा हाललाई सबै उद्योग बन्द गर्ने निर्णय गरिएको अनुगमन समितिका संयोजक सुरेशप्रसाद सिंहले जानकारी दिए । जिल्लाका सबै स्थानीय तहलाई आ–आफ्ना क्षेत्रमा रहेका क्रसर तथा बालुवा प्रशोधन केन्द्रको स्टक प्रमाणित गरी पाँच दिनभित्र जिल्ला समन्वय समितिमा पठाउन निर्देशनसमेत दिइएको उनले बताए ।

जिल्लामा १५ स्थानीय तह रहेका छन् । उत्तरी क्षेत्रका बर्दिवास, औरही, भंगाहा र गौशाला नगरपालिका क्षेत्रमा अनुमतिबिनाका क्रसर उद्योग सञ्चालित रहेको जनाइएको छ । सबै प्रक्रिया पूरा गरेका उद्योगलाई मात्र पुनः सञ्चालनको अनुमति दिन सकिने समन्वय समितिका संयोजकसमेत रहनुभएका सिंहले जानकारी दिए ।

चुरे पहाडी शृंखला र नदी एवं जग्गामा जथाभावी ठूलाठूला यन्त्र लगाएर बालुवा ढुंगाको अवैध उत्खनन बढेको जनगुनासो आएपछि जिल्ला समन्वय समिति र प्रदेश सभा–२ को प्राकृतिक स्रोत तथा वातावरण समितिले संयुक्त अनुगमन गर्दै आएका छन् । करिब ५० क्रसर र बालुवा प्रशोधन उद्योगले अनुगमनका क्रममा माग गरिएका कागजात उपलब्ध गराएका थिएनन् ।

आवश्यक कागजात उपलब्ध नगराउने र उत्खनन कार्य जारी राखेका उद्योगलाई पूर्ण रूपले बन्द गराउने निर्णय गरिएको जनाइएको छ । जिल्लाका रातु, मरहा, भब्सी, जंघा, बडहरी, सोनी र टुटेश्वरसहितका नदी र नदीउकास जग्गामा क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालित छन् । उद्योगले जथाभावी उत्खखन गर्दा बनेका खाल्डामा परेर वर्षेनी मानवीय क्षति हुँदै आएको छ । अवैध उत्खनन भइरहेको ठाउँमा रोक्न पुगेका धनुषा मिथिला नगरपालिका–५ का दिलीपकुमार महतोलाई टिपरले किचेर गत पुुस २५ गते हत्या गरिएको थियो ।
rss