महाधिवेशन तयारीका लागि देउवानिवासमा काङ्ग्रेसको छलफल

महाधिवेशन तयारीका लागि देउवानिवासमा काङ्ग्रेसको छलफल


नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरूले आपसी छलफललाई तीव्रता दिएका छन् । यसैबीच सभापति शेरबहादुर देउवानिवास बुढानीकण्ठमा आज (शुक्रबार) बिहानदेखि छलफल शुरु भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

शीर्ष नेताहरूबीचको आजको छलफलले गत पुस ११ गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि उत्पन्न विवाद समाधान गरी टुङ्गो लगाउने बताइएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशन तालिका, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा छलफल जारी रहेको स्रोतले बताएको छ । विवाद समाधानका लागि यसअघि पार्टी उपसभापति विमलेन्द्र निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले विभिन्न चरणमा बैठक बसी सहमतिको प्रयास गरेका थिए । यसअघि बुधबार साँझ पार्टीका शीर्ष नेताबीच आज टुङ्गो लगाउने गरी सकारात्मक छलफल भएको थियो ।

आजको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि, महामन्त्री डा शशांक कोइराला, नेताहरू सिंह र सिटौलालगायत उपस्थित हुनुहुन्छ । काङ्ग्रेसमा गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच विवाद देखिएको हो ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि ६ महिना थप गर्ने, काङ्ग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन ०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्नेलगायतका निर्णय गरेको थियो । सो बैठकमा आफ्नो माग सुनुवाइ नहुने देखेपछि नेता पौडेल पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्य भने उपस्थित भएनन् ।
rss