तीन रसियनमाथि विष सेवन गराई हत्या प्रयास गरेको बुल्गेरियाको आरोप

तीन रसियनमाथि विष सेवन गराई हत्या प्रयास गरेको बुल्गेरियाको आरोप


बुल्गेरियाले तीन रूसी नागरिकमाथि विष सेवन गराएर व्यक्ति हत्या गर्ने प्रयास गरेको आरोप लगाएको छ । बुल्गेरियाली अभियोजनकर्ताहरूले बिहीबार (२४ जनवरी) यसबारे जानकारी गराएका हुन् ।

उनीहरूमाथि हतियार निर्माता इमिल्यान गेब्रेव, उनका छोरा र कम्पनीका एक व्यवस्थापकलाई सन् २०१५ को अप्रिल २८ र मे ४ तारिखमा ‘अर्गानोफोस्फेट’ नामक विषाक्त तत्व सेवन गराई हत्या गर्ने प्रयास गरेको आरोप लागेको अभियोजनकर्ताहरूले एक विज्ञप्ति जारी गरी बताएका छन् ।

धेरैको जीवनलाई जोखिम गरेको अति बिषाक्त तत्वको प्रयोग गरी उनीहरूलाई हत्या गर्ने प्रयास गरिएको भए पनि समयमै उपचार हुँदा उनीहरूको जीवन बचेको थियो ।

आरोपित तीनै जना रूसी नागरिकको नाम विज्ञप्तिमा उल्लेख नगरिएको तर उक्त घटना बेलायतको सोल्जबरी आक्रमणका नामले चर्चित रूसी पूर्व गुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरीमाथिको रासायनिक आक्रमणसँग जोडिएको बताइएको छ ।

सन् २०१९ को फेब्रुअरीमा अनुसन्धानमूलक वेबसाइट बेलिङक्याटले आक्रमणमा तेस्रो व्यक्ति डेनिस भ्यास्चेस्लाभोभिच सेर्गिभ नामका रूसी सैन्य गुप्तचरका उच्च पदस्थ अधिकारी पनि जोडिएको हुनसक्ने उल्लेख गरिएको थियो ।

सेर्गिभ नक्कली रूसी राहदानीमा स्क्रिपाल र उनकी छोरी यूलियालाई रासायनिक आक्रमण गरिनुपूर्व (दुई दिन आगाडि) बेलायत पुगेको बेलिङक्याटले लेखेको थियो । उनी सन् २०१५ को फेत्र्रुअरी र अप्रिलमा बुल्गेरिया पुगेका थिए । सेर्गिभको बुल्गेरियाको दोस्रो भ्रमणको अन्तिम दिन गेब्रेभले सोफियामा गरेको स्वागत समारोहमा बेहोस भई लडेका थिए । एएफपीले जनाएअनुसार उक्त बिषको असर गेब्रेभका छोरा र उनका कम्पनीका कार्यक्रम व्यवस्थापकमा पनि देखिएको थियो, तर ती सबै जना केही समयको उपचारपछि निको भई घर फर्किएका थिए ।