कोरियामा किन गर्छन् नेपाली कामदारले आत्महत्या ?

कोरियामा किन गर्छन् नेपाली कामदारले आत्महत्या ?


■ सविना कार्की

वैदेशिक रोजगारका लागि साउदी, कतार, दुबई, मलेसिया, कुवेतलगायत अन्य खाडी मुलुकमा पुगेका नेपाली श्रमिकले आत्महत्या गरेका समाचार खासै सुनिँदैन । उनीहरू त्यहाँ थोरै पारिश्रमिक पाउँछन्, समस्या र सास्ती भने बग्रेल्ती खेपिरहेका हुन्छन् र पनि हिम्मतका साथ काम गरिरहेका छन् । सलाम छ ती नेपाली श्रमिक दाजुभाइ–दिदीबहिनीहरूलाई, जसले त्यस्तो प्रतिकूलताका बाबजुत हिम्मत नहारी पसिना बगाएर स्वदेशलाई रेमिट्यान्सको थैलो पठाइरहेका छन् ।

तर, थोरैमा पनि दुई लाख तलब पाउने देश दक्षिण कोरियामा ईपीएसमार्फत आएका कतिपय नेपाली श्रमिक किन गर्छन् आत्महत्या ? के हुन् कारण जसले गर्दा कोरियाजस्तो विकसित मुलुक र श्रमको उचित मूल्य पाउने देशमा पुगेर पनि आत्महत्याको बाटो रोजिरहेका छन् ? गम्भीर चासोको विषय बनेको छ । आखिर कोरियामा आत्महत्या गर्नुपर्ने अवस्थाको जड के हो ?

कोरियामा हालसम्म ४९ जना नेपाली कामदारले आत्महत्या गरिसकेका छन् । सन् २००८ देखि २०१९ डिसेम्बर ३० सम्म ४८ जना र सन् २०२० जनवरीमा एकजना गरी आत्महत्या गर्नेको सङ्ख्या ४९ पुगेको हो ।

कोरिया जान त्यति सजिलो छैन । रोजगारीका लागि कोरिया पुग्न निकै नेपाली युवा सङ्घर्ष गर्छन्, भाषा पढेर हजारौँसँग प्रतिस्पर्धा गर्नुपर्छ । मेडिल पास, स्किल टेस्टमा पास, त्यसपछि पनि छनोट प्रक्रियाको फाइल जारी रहन्छ । रोजगारको लागि कोरियाबाटै रोजगारदाताले छान्नुपर्छ र यस्ता अनेक प्रक्रियाबाट पास भएपछि मात्र बल्ल कोरिया पुगिन्छ । तर, यत्तिका अवस्था पार गरेर कोरिया आइपुगेका कतिपय श्रमिकले आत्महत्या गर्दा साह्रै नरमाइलो र निराश तुल्याउँछ ।
मध्यपूर्व र खाडी मुलुकमा श्रम गर्ने श्रमिकको तुलनामा ७ गुणा बढी पारिश्रमिक पाउने दक्षिण कोरियामा पुगेर पनि केही नेपालीले आत्महत्या गर्नुपर्ने अवस्था आउनु सारै दुःखको कुरा हो ।

किन गर्छन् आत्महत्या ? के पारिवारिक तनाव सहन नसकेर हो ? काम गर्न नसकेर हो ? अथवा नेपालमा हुँदा सुन्दर, रमाइलो सोचेको देश कोरियामा आएर लगातार ८ देखि १०–१२ घन्टा काम गर्नुपर्ने भएकोले हो ? वा, काम गर्दा रोजगारदाताको अवहेलना, कचकच, काम गर्नै नसकिने वातावरण भएर हो ? अथवा के हो ?

यस विषयमा कोरियास्थित नेपाली राजदूतावासका श्रम सहचारी डिल्लीराम बाँस्तोलाको भनाइअनुसार पारिवारिक समस्या, घरमा भएको समस्या सम्झिरहने, दाजुभाइ सम्पत्ति बाँडफाँडलगायत पारिवारिक समस्या सम्झिरहनु, केटीसाथीबारे धेरै सोच्नु, गलत खालको लत हुनु, एकोहोरो हुनु, सहकर्मी साथीहरूको र सहयोग र उत्प्रेरणा पाउन नसक्नु, विदेशको जीवन र काम स्वदेशको भन्दा फरक हुने यथार्थलाई आत्मसात् गर्न नसक्नु, अत्यधिक वितृष्णा, उच्च महत्वाकाङ्क्षा, मानसिक तनावजस्ता कारणले आत्महत्याको बाटो रोजेको हुन सक्छन् ।

सन २००८ देखि २०१९ डिसेम्बरसम्म १८१ नेपालीको कोरियामा मृत्यु भइसकेको छ । मृत्यु हुनेमध्ये आत्महत्या गर्ने ४८ जना, सामान्य दुर्घटनामा ४७ जना, प्राकृतिक रूपमा ८४ जना र हत्या हुनेमा २ जना गरी जम्मा १८१ रहेको छ । र, सन् २०२० जनवरीमा एकजना आत्महत्या र एकजना कार्यस्थलमा दुर्घटनामा परी अहिलेसम्म १८३ जनाले ज्यान गुमाइसकेका छन् ।

दक्षिण कोरियामा सन २०२० देखि मासिक तलब दुई लाख रुपैयाँ हाराहारी पुगेको छ । त्यसमा पनि ओभरटाइम, बिदाको दिन, रात्रि समयमा काम र बोनस सबै गरेर झन्डै ४ साढे ४ लाखसम्म तलब पुग्न सक्छ । मेनिफेक्चर क्षेत्रमा भने कृषिमा बेसिक तलब दुई लाख हाराहारी नै पुगेको छ, कृषिमा भने ओभरटाइम काम हुँदैन र बिदामा काम हुँदैन, तर नेपालीका लागि यो ठूलै रकम हो । तर, यत्तिको कमाउन सकिने ठाउँमा पुगेर किन अन्य समस्याको समाधान र बाटो नै नखोजी आत्महत्याको बाटो रोज्छन् त ? यो प्रश्न श्रमिकलाई पनि उठ्छ ।

कोरियामा अन्य गन्तव्यको तुलनामा जति नै बढी कमाइ गरे पनि आत्महत्या गर्नेको सङ्ख्या मात्र ४९ पुग्दा भने समस्या नै समस्या मात्र छ कि कोरियामा जसको कारण आफ्नै ज्यान फालिरहेका छन् भन्ने पनि सबैले सोच्न थालिसकेका छन् । ज्यानै गुमाउन कोरियाको रोजगारी नेपालका लागि कमाइ र गुमाइ उस्तै जस्तो भएको छ ।
हाल रोजगारीका लागि खाडी मुलुक र मध्यपूर्व जाने कामदारको महिनाको सरदर पारिश्रमिक ३० हजार देखि ३५–४० हजार (नेपाली) सम्म छ । खाडी र मध्यपूर्वमा गर्ने सोहीखाले काम गर्दा नेपालीले कोरियामा भने महिनाको दुई लाख रुपैयाँ हाराहारी पाउने गर्छन् । तैपनि किन कोरिया पुगेका सबै नेपाली काम र यथार्थलाई आत्मविश्वास गर्दै खुसी हुन सकेनन् ?

कोरिया पुगेपछि अधिकांश बलको काम गर्नुपर्ने र निश्चित तोकेको समयसम्म गर्नुपर्ने हुन्छ । तर, विडम्बना ! हाम्रो प्रतिस्पर्धा भने बौद्धिक क्षमता अर्थात् भाषाको हुन्छ । जसको कारण सम्बन्धित कामको लागि प्रतिस्पर्धा भने हुँदैन, भाषा पास भएपछि कामदारको शारीरिक अवस्था र क्षमताभन्दा पनि घरमा रहँदा काम खेतीबारीमा पाइला नटेकेका र काम नै नगरेका युवायुवती भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने र काम गर्न नसकेपछि विकल्प रोजेको हुन सक्ने पनि अनुमान छ । आत्महत्या गर्नेमा अधिकांश २२ देखि ३१ वर्षका युवायुवती रहेको तथ्यले देखाएको छ । कतिपय विज्ञहरू कोरियामा आत्महत्याका घटना निरन्तर वृद्धि भइरहनुको कारण कोरिया जानुअघि त्यहाँको यथार्थ अवस्था, विवरण कामदारलाई नदिनुलाई पनि ठान्छन् ।

कोरियामा प्रायजसो सबै ठाउँमा काम गर्नुपर्ने र जस्तो काम दियो त्यस्तै गर्नुपर्ने हुन्छ । कृषिमा त प्रायः महिनाको एक दिन मात्र बिदा हुन्छ । कामको हिसाबले बलले गर्नुपर्ने र गह्रौँ कामहरू नै पर्छ । खेतीमा परे कतै मलहरू लोड गरेर ट्र्याक्टर चलाएर बारीमा पुऱ्याउनुपर्ने त कतै गाडामा ठेलेर लैजानुपर्ने पशुपालनमा परे गोबर गाडामै फाल्नुपर्छ यस्ता कामहरू जे–जे अराउँछन् सब गर्नुपर्छ ।

जुन काम लगातार महिना दिनजस्तो गर्नुपर्दा निकै गाह्रो हुन्छ भने मेनुमा ठुल्ठूला रोबर्ट मेसिनले निकालेका सामानहरू काट्ने, मिलाउने, उचाल्ने, कतै फलामको काम कतै वयल्डिङ कामजस्ता गाह्रो कामहरू गर्नुपर्छ । यसरी यथार्थमा त्यहाँ गर्नुपर्ने काम निकै जटिल छ भनेर कोरिया जानुअघि नै सिकाउने र जान तयारी श्रमिक आफैँले पनि बुझ्न सक्ने हो भने र कोरियामा कार्यरत श्रमिकले पनि मानसिक चिन्ता नलिने हो भने आत्महत्याका समस्यामा कमी आउन सक्छ ।

श्रमिकका लागि राम्रो व्यवस्था मानिएको देशमा नै आत्महत्या गरी ज्यान गुमाउनेहरू सङ्ख्यात्मक हिसाबले ४९ जना पुगिसक्दा अब पूरै रोकथामको लागि नेपाल सरकार र कोरियामा नेपाली हकहितका लागि सञ्चालनमा रहेका सङ्घसंस्थाहरू गम्भीर हुनुपर्छ । नत्र अन्य श्रमिकमा पनि निराशा छाउने र वितृष्णा बढ्ने हुन सक्छ । त्यसैले बेलैमा आत्महत्या निवारणका लागि सरकारको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।