७४३ स्थानीय तह बैंकको पहुँचमा

७४३ स्थानीय तह बैंकको पहुँचमा


सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुऱ्याउने सरकारको योजना पूरा हुने क्रममा पुगेको छ । आमनागरिकमा सहज रूपमा वित्तीय सेवा पुऱ्याउने उद्देश्यले सरकारले शुरु गरेको अभियान लक्ष्यको नजिक पुगेको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । स्थानीय तहमा नै बैंक तथा वित्तीय संस्थाको शाखा खुलेपछि लामो समय लगाएर सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्यसमेत भएको छ ।

केन्द्रीय बैंकका अनुसार कुल ७५३ स्थानीय तहमध्ये अब १० स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । बाँकी रहेका स्थानीय तहमा पनि वाणिज्य बैंक शाखा खोल्न तयार भए पनि सुरक्षा, सूचना प्रविधिको पहुँच तथा उपयुक्त घरको अभावमा जटिलता देखिएको छ । बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार कुल ७५३ मध्ये ७४३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

बैंकका अनुसार प्रदेश १ का कुल १३७ स्थानीय तहमध्ये अब एक स्थानीय तहमा मात्रै वाणिज्य बैंकले शाखा खोल्न बाँकी रहेको छ । यस्तै प्रदेश २ का कुल १३६ स्थानीय तहमध्ये १३५ स्थानीय तहमा बैंक पुगेका छन् । यस्तै संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा कुल ११९ स्थानीय तहमध्ये ११७ स्थानमा बैंकका शाखा पुगेका छन् ।

केन्द्रीय बैंकका अनुसार गण्डकी प्रदेशका कुल ८५ स्थानीय तहमध्ये ८४ मा बैंकका शाखा खुलेका छन् । प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । वित्तीय रूपमा सो प्रदेशका सबै स्थानीय तहमा शाखा खुलेर पहुँच स्थापित भएको छ । कर्णाली प्रदेशका कुल ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । सुदूपश्चिम प्रदेशका कुल ८८ स्थानीय तहमध्ये ८४ मा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

स्थानीय तहमा बैंकको शाखा पु¥याउने सरकारको लक्ष्यलाई आत्मसात् गर्दै आफूहरूले पनि दुर्गम क्षेत्रमा शाखा खोलेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । प्रभु बैंकले डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङमा समेत बैंकको शाखाको विस्तार गरेको छ ।

समुद्री सतहदेखि करिब चार हजार दुई मिटरको उचाइमा रहेको साल्दाङस्थित शे–फोक्सुण्डो शाखा कार्यालयबाट उच्च हिमाली क्षेत्रका सर्वसाधारणलाई बैंकले सेवा दिने लक्ष्य राखेको छ ।

यस्तै सनराइज बैंक, एनएमबी बैंकले पनि राष्ट्र बैंकले तोकेको स्थानमा आफ्ना शाखा खोली वित्तीय सेवा दिएका छन् । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले पनि राष्ट्र बैंकले दिएको निर्देशनअनुसार नै आफूहरूले स्थानीय तहमा शाखा विस्तार गरेको बताए । राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या गत मंसिर मसान्तसम्म कुल १६५ रहेको छ । त्यसमा २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९१ लघुवित्त संस्था र एक पूर्वाधार विकास बैंक छन् । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या नौ हजार २९७ पुगेको छ । गत असार मसान्तमा त्यस्ता शाखा संख्या कुल आठ हजार ६८६ रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्था गाभ्ने तथा गाभिने एवं प्राप्ति हुने प्रक्रिया शुरु भएपश्चात् गत मंसिर मसान्तसम्म कुल १८१ बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिएका छन् । त्यसमध्ये १३८ संस्थाको इजाजतपत्रसमेत खारेज भएका छन् ।
rss