भारोत्तोलनका प्रतिभाशाली खेलाडी विशाल

भारोत्तोलनका प्रतिभाशाली खेलाडी विशाल


■ श्रीविक्रम भण्डारी

सुदूरपश्चिमका खेलाडीले नेपालको राष्ट्रिय झन्डा अन्तर्राष्ट्रियस्तरमा फहराउन कति महत्वपूर्ण योगदान दिएका छन् त्यसको उदाहरणका लागि कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको नाम नै काफी छ । दीपकको सफलताबाट प्रेरित विशालसिंह विष्ट अहिले उनकै पदचिह्नलाई पहिल्याइरहेका छन्– भारोत्तोलन खेलमार्फत । आफ्नो शारीरिक बनावट र रुचिका कारण भारोत्तोलनलाई आफ्नो प्रिय खेल बनाएका विशालले अहिले यो खेलमै आफ्नो भाग्य अजमाइरहेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेर पदकसमेत जितिसकेका विशालले यो खेलमा उत्कृष्ट खेलाडी बन्ने सपना देखेका छन् । सर्वप्रथम आफ्नो कीर्तिमान आफैँ तोडेर कीर्तिमानी खेलाडी बन्दै दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने लक्ष्य राखेका छन् । भविष्यमा आफ्नो लक्ष्य पूरा गर्न विशाल कति सफल हुन्छन् त्यो आफ्नो ठाउँमा भए पनि यतिबेला उनको मिहिनेत हेर्दा आगामी दिनमा विशाल भारोत्तोलनको उत्कृष्ट खेलाडी बन्ने कुरामा दुईमत छैन ।

०५७ सालमा कञ्चनपुरको हल्दुखालमा जन्मिएका विशाल १४ वर्षको उमेरमा भारोत्तोलनतर्फ आकर्षित भएका थिए । उनलाई भारोत्तोलनतर्फ आकर्षित गर्न प्रशिक्षक जीवन गौतमको विशेष हात रहेको छ । प्रशिक्षक गौतमकै खोजीको रूपमा रहेका विशालले उनकै प्रशिक्षणमा पहिलोपटक आफ्नो खेलजीवनको शुभारम्भ गरेका थिए । रुचि भएर पनि भारोत्तोलनप्रति अन्जान अर्थात् कोराकागजको रूपमा रहेका विशाललाई निखार्ने र सक्षम बनाउने कार्यमा प्रशिक्षक जीवनको मिहिनेत अविष्मरणीय छ । यो कुरालाई खुद विशालले पनि स्वीकार गरेका छन्, साथै जीवन गुरुकै मिहिनेत र मार्गदर्शनको परिणाम नै आफू यो स्थितिमा पुग्न सफल भएको खुलासा गरेका छन् । यसरी आफ्नो खेलजीवनको ५ वर्षको अन्तरालमा पनि विशाल जीवन गुरुकै छत्रछायामा आफ्नो प्रशिक्षणलाई निरन्तरता दिइरहेका छन् । जसको परिणाम हालै सम्पन्न १३औँ सागमा प्राप्त भएको छ, जसमा विशालले ९० केजी तौल समूहमा रजत पदक जितेका थिए । सागको पहिलो सहभागितामै रजत पदक जितेपछि निकै प्रसन्न मुद्रामा देखिएका विशालले यसको सम्पूर्ण श्रेय जीवन गुरुलाई दिएका छन् ।

भारोत्तोलनको प्रशिक्षण गर्न थालेको ६ महिनामै विशाललाई पहिलोपटक प्रतिस्पर्धा गर्ने अवसर प्राप्त भएको थियो । जुनियर खेलाडीको रूपमा चौथो ग्य्रान्डपिक्स राष्ट्रिय च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका विशालले आफ्नो पहिलो सहभागितामै स्वर्ण पदक जितेका थिए । त्यसपछि निकै हौसिएका विशालले विराटनगरमा सम्पन्न सातौँ राष्ट्रिय प्रतियोगिताको लागि निकै मिहिनेत गरे । सातौँमा स्वर्ण पदक जित्ने लक्ष्य लिए पनि विशाल रजतमै खुम्चिए । सातौँ राष्ट्रियमा रजत पदक जित्नु चानचुने कुरा थिएन, किनकि विशालले राष्ट्रिय प्रतियोगिताको पहिलो सहभागितामै सिनियरतर्फ धुरन्धर खेलाडीलाई पाखा लगाउँदै यो उपलब्धि हासिल गरेका थिए । जुन उनको खेलजीवनको महत्वपूर्ण पाटो बन्नुको साथै अगाडि बढ्न प्रेरणाको स्रोतसमेत बनेको थियो । जसलाई विशालले सकारात्मक रूपमा आत्मसात् गर्दै भविष्यका लागि साँचेर राखेका थिए ।

युवा खेलाडी रगतमा जोसैजोस भरिएको थियो, अझ सातौँमा रजत जितेपछि नौलो जोस आउनु स्वाभाविकै थियो । यस्तोमा पुनः विशालले पहिलोपटक राजधानीमा काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय जुनियर एसियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने मौका पाए । एसियाका ३२ राष्ट्रले सहभागिता जनाएको उक्त च्याम्पियनसिपमा विशालले उत्कृष्ट प्रदर्शन गर्दै भारोत्तोलनको उदीयमान र प्रतिभाशाली खेलाडीको रूपमा आफूलाई स्थापित गर्न सफल भए । उनले यो प्रतियोगितामा पदक जित्न नसके पनि खेलप्रेमीको मन भने जित्न सफल भए । त्यसपछि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गरेका विशालले उक्त प्रतियोगितामा पनि रजत पदक जिते । राष्ट्रियमा लगातार दोस्रोपटक रजत जिते पनि स्वर्ण पदक जित्न नसक्दा विशाल निराश बने । निकै मिहिनेत गरेको थिए, भाग्यले साथ दिएन, अब नवौँ राष्ट्रियमा स्वर्ण जित्ने विशालले दाबी गरे । मेरो उमेर छ, मिहिनेत गरेको छु, आत्मविश्वास छ, अवश्य स्वर्ण पदक जित्नेछु । सर्वप्रथम आफ्नो कीर्तिमान तोड्नेछु, त्यसपछि स्वर्ण पदक टाढा छैन– विशालले भने । विशालले सातौँ र आठौँ राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिमाञ्चलबाट खेलेका थिए ।

क्रमिक रूपमा आफ्नो खेलमा सुधार ल्याउँदै आएका विशालले १३औँ सागमा पनि उत्कृष्ट प्रदर्शन गरे । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता अनुभवको कमीको बाबजुद पनि उनले १३औँ सागमा जुन उत्कृष्ट प्रदर्शन गरेर रजत पदक जिते त्यो आफैँमा प्रसंशनीय थियो । आफूले सागमा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेपछि निकै हर्षित विशालले आउँदो १४औँ सागमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ प्रशिक्षणमा जुट्ने बताए । तर, सुदूरपश्चिम बेसिक प्रशिक्षणको लागि राम्रो भए पनि अन्तर्राष्ट्रियस्तरमा पदक जित्नको लागि चाहिने आवश्यक खेल–सामग्रीको अभावमा छ । प्रशिक्षण हलदेखि लिएर खेल सामग्री पर्याप्त छैनन् । यदि यो कुरामा सुधार हुने हो भने यहाँका युवा खेलाडीले अझ राम्रो प्रदर्शन गर्न सक्छन् । यहाँका धेरै युवा अहिले भारोत्तोलन खेलतर्फ आकर्षित भएका कारण सम्बन्धित निकायले यसबारेमा सोच्नुपर्ने विशालले बताए । युवाहरूलाई आकर्षण गर्न उचित खेल वातावरण र आधुनिक खेल–सामग्रीको आवश्यक हुन आवश्यक छ । यस्तोमा अन्तर्राष्ट्रियस्तरमा सम्भावित पदक जित्ने खेललाई मध्यनजर राख्दै सम्बन्धित निकायले उचित व्यवस्था गरे त्यो भारोत्तोलन खेलको विकास र विस्तारमा टेवा पुग्ने विशालको दाबी थियो ।

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पहिलो सहभागितामै रजत जितेका विशालले यसलाई आफ्नो खेलजीवनको अहिलेसम्मको अविष्मरणीय क्षणको रूपमा लिएका छन् । सागमा रजत पदक जितेपछि विशालले भने, ‘पहिले आफ्नो लागि पदक जितेँ, सागमा राष्ट्रको लागि पदक जितेँ, राष्ट्रको लागि पहिलोपल्ट पदक जित्दा निकै खुशी लाग्यो, त्यो क्षण मेरो लागि साँच्चिकै अविष्मरणीय बनेको छ, मलाई अझ मिहिनेत गर्ने प्रेरणा मिलेको छ ।’ ‘यो सफलताले मेरो परिवारमा पनि सकारात्मक सन्देश गएको छ, जसले मलाई खेलकुदमा खुलेर लाग्ने वातावरण तयार भएको छ, म एकदमै खुशी छु । अब खेलकुद र पढाइलाई सँगसँगै लगेर भविष्यमा उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछु, मेरो आमा, बुबा, प्रशिक्षक र मेरो सपना साकार गर्नेतिर लाग्नेछु,’ उनले भने ।

यतिबेला भारोत्तोलनमा रमाइरहेका विशालले भारोत्तोलनमा आफ्नो भविष्य निकै उज्ज्वल देखेका छन् । उनी भन्छन्, ‘यतिबेला भारोत्तोलनको स्कोप निकै राम्रो छ, सुन्दर भविष्य छ, जोकोही पनि अगाडि बढ्न सक्छ, तर त्यसको लागि मिहिनेत गर्नुपर्छ, मिहिनेत आफ्नो लागि हो ।’ त्यसको साथै सन्तुलित डाइट, पारिवारिक सहयोग र सहयोगी प्रशिक्षकको पनि त्यत्तिकै आवश्यकता छ । प्रशिक्षकको मामलामा म एकदमै भाग्यमानी छु, मैले जगदीश प्रधानजस्तो गुरु पाउनुको साथै सञ्जय महर्जन, राम पौडेल र सकिल अन्सारीजस्ता गुरुको रेखदेखमा आफूलाई प्रशिक्षित गर्ने अवसर पाइरहेको छु । यसको लागि म सम्पूर्ण गुरुवर्गलाई धन्यवाद दिन चाहन्छु ।