इन्डोनेसियामा कामदार बोकेको डुंगा पल्टिँदा दश बेपत्ता

इन्डोनेसियामा कामदार बोकेको डुंगा पल्टिँदा दश बेपत्ता


इन्डोनेसियाको पश्चिमी भूभागमा पर्ने रियाउ प्रान्तमा २० जना यात्रु सवार रहेको एक डुंगा दुर्घटना हुँदा कम्तीमा दशजना बेपत्ता भएको उद्धारकर्ताले बिहीबार जनाएका छन् ।

इन्डोनेसियाली कामदार बोकेर मलेसियातर्फ जान लागेको सो डुंगा बुधबार साँझ रुपाट टापुनजिक डुबेको प्रान्तीय खोजी तथा उद्धार कार्यालयका प्रमुख इसक ताहिरले बताए । स्थानीय नाविकले उद्धार गरेपछि १० जना कामदार दुर्घटनाबाट बचेका छन् ।

हराएका यात्रुको खोजी भइरहेको छ । उद्धारकार्यमा सुरक्षाकर्मी र उद्धार कार्यालयका कर्मचारी लागेका छन् । त्यसैगरी मलेसियाबाट पनि उद्धारकर्मीको सहभागिता रहेको जनाइएको छ ।

खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ । इन्डोनेसियाको विशाल द्वीपहरूमा आवतजावतका लागि यातायातको प्रमुख साधन डुंगा नै भएको तर सुरक्षा मापदण्डको अभावमा बारम्बार समुद्रमा दुर्घटना हुने गरेको सिन्ह्वाले जनाएको छ ।