जापानमा बिरामी परेका विद्यार्थीलाई आर्थिक सहयोग

जापानमा बिरामी परेका विद्यार्थीलाई आर्थिक सहयोग


■ विशेष प्रतिनिधि, जापान

स्याङ्जा घर भई अक्टूबर सेसनमा विद्यार्थी भिसामा जापान आएर आकस्मिक बिमारी परी पेटको शल्यक्रिया गराएका भक्तबहादुर थापालाई एनआरएनए जापानले सहयोग गरेको छ ।

बिरामी थापालाई ३० हजार जापानी येन क्योटोमा रहेका नेपालीहरू बीच एक कार्यक्रमका साथ संस्थाका संयोजक कृष्ण गैरे, उपसंयोजकद्वय दिलीप शर्मा गैरे र हरि कँडेल तथा कोषाध्यक्ष विष्णु सापकोटाले संयुक्त रूपमा हस्तान्तरण गरी आपतकालीन राहत कोषमार्फत राहत दिने कामको सुरूवात गरेका छन् ।
थापा बिरामी परेपछि उपचार खर्च लगभग जापानी २ लाखसम्म लाग्ने भएपछि एनआरएनए कान्साईका सहकोषाध्यक्ष चूड़ामणि कँडेललाई आफ्नो अवस्थाबारे जानकारी गराएका थिए ।

कँडेलमार्फत एनआरएनए कान्साईमा बिरामीको बारेमा निवेदनसहित जानकारी आएपछि एनआरएनए क्षेत्रीय समिति कान्साईका उपसंयोजक दिलीप शर्मा गैरे हस्पिटलमा गई बस्तुस्थिति बुझेका थिए । त्यसपछि वार्ड अफिसबाट प्रकृया पुऱ्याएर गेन्दोगाकु सिन्सेई पश्चात २ लाख लाग्नेमा लगभग ४० हजार येन मात्र खर्च लागेको थियो । सुरूमा लाग्ने भन्दा कम रकम लागेता पनि थापा नेपालबाट भर्खर आएको र केही समय आराम गर्नुपर्ने भएको अवस्थामा थापालाई थोरै भए पनि आर्थिक सहयोगले यो समयमा मलमको काम गर्ने भएको हुदा आर्थिक सहयोग गर्ने निर्णय सल्लाहकारसहित कार्यसमितिले सर्वसहमत पारित गरेको थियो ।

राहत रकम हस्तान्तरण कार्यक्रममा थापाले आफू जापानमा भर्खर आएको र बिरामी पर्दा सुरूमा आत्तिए पनि अभिभावकीय भूमिका खेल्दै एनआरएनए कान्साईले गरेको सहयोगले आफूलाई भोलिका दिनमा एनआरएनए अभियानमा लाग्न समेत प्रेरणा मिलेको भन्दै एनआरएनएको मुक्तकण्ठले प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा उपस्थित व्यवक्तिहरुले यस्ता पवित्र कार्यहरूले एनआरएनएप्रति अझ विश्वास बढ्ने धारणाका साथ ख़ुशी व्यक्त गर्दै धन्यवादसहित अगामी दिनका लागि शुभकामना दिएका थिए । एनआरएन कान्साईका संयोजक कृष्ण गैरेको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई समापन गर्ने क्रममा गैरेले यी र यस्तै कार्यको निरन्तरता आफ्नो अनि संस्थाको प्राथमिकतामा सधै पर्ने कुराको जानकारी गराउँदै सम्पूर्णलाई सधै हातेमालो गरेर यस अभियानमा जुट्न आग्रह गरे ।