चिनी उद्योगले तिर्नुपर्ने एक अर्ब २० करोड, कृषकले पाए जम्मा १५ करोड

चिनी उद्योगले तिर्नुपर्ने एक अर्ब २० करोड, कृषकले पाए जम्मा १५ करोड


सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै उखु किसान फेरि आन्दोलित भएका छन् । गत पुस १८ गते सरकार र उखु किसान सङ्घर्ष समितिबीच भएको सम्झौतामा माघ ७ गतेभित्र सबै किसानको अघिल्लो वर्षको उखु बिक्रीवापतको रकम भुक्तानी गर्ने सहमति भएको थियो, तर तोकिएको समयमा सम्झौताअनुसार चिनी उद्योगले भुक्तानी नगरेपछि किसान आन्दोलित भएका हुन् । भुक्तानीका लागि भोलिसम्म पर्खने र ठोस जवाफ नआए चरणबद्घ आन्दोलनको घोषणा गरेका छन् ।

बुधबार (८ माघ) सर्लाही सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलनमार्फत कृषकहरूले आन्दोलनका कार्यक्रम घोषण गरेका हुन् । माघ १० गते कृषकले कालोपट्टि बाँधेर काम गर्ने, ११ गतेदेखि १७ गतेसम्म किसान जागरण अभियान सञ्चालन गर्ने र १८ गते गोडैता बजारमा किसानको भेला गराई काठमाडौँ केन्द्रित आन्दोलनको स्वरुप र मिति तय गरिने उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले जानकारी दिए ।

सर्लाहीको बागदहमा रहेको महालक्ष्मी सुगर मिलले रु १० करोड, अन्नपूर्ण सुगर मिल धनकौलले रु ३५ करोड, श्रीराम सुगर मिल रौतहटले रु ४२ करोड र नवलपरासीको इन्दिरा सुगर मिलले रु ९ करोड भुक्तानी गर्न बाँकी रहेको छ । सोमबारसम्म सर्लाहीमा रहेको महालक्ष्मी सुगर मिल बगदहले रु ११ करोड ५० लाख, अन्नपूर्ण सुगर मिल धनकौलले रु तीन करोड ९० लाख र इन्दिरा सुगर मिल नवलपरासीले रु ७४ लाख रकम भुक्तानी गरेको छ ।

उखु किसानले उद्योगबाट पाउनुपर्ने रु एक अर्ब २० करोडमध्ये अहिलेसम्म जम्मा रु १५ करोड मात्र भुक्तानी पाएको उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष एवम् उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीको दाबी छ । सरकारले उखु किसानलाई दिने भनिएका प्रतिक्विन्टल ६५ रुपैयाँ ५६ पैसा पाएका छैनन् । अनुदानवापतको रकम रु एक अर्ब ३४ करोड अहिलेसम्म उपलब्ध नगरेपछि किसानले गुनासो गरेका छन् ।