हराएका पर्यटक हिमपहिरोमा खोतल्दै नेपाली सेना

हराएका पर्यटक हिमपहिरोमा खोतल्दै नेपाली सेना


यही माघ ३ गते अन्नपूर्ण आधारशिविरको पदमार्गमा गएको हिमपहिरोमा परेर हराइरहेका चार जना कोरियन पर्यटक तथा तीन जना नेपाली गाइडहरुको नेपाली सेनाको पोखरास्थित सेकेण्ड रेञ्‍जर गणका गणपतिसहितको उद्धार टोलीद्वारा मंगलबार (७ माघ) देखि खोजी कार्य जारी रहेको सेनाले जनाएको छ । उक्त उद्धार टोलीलाई नेपाली सेनाको इक्वेरल हेलिकोप्टरद्वारा घटनास्थलबाट करिव २० मिनेटको पैदल दुरीमा अवस्थित देउराली भन्ने स्थानसम्म पुर्‍याई हाल हेलिकोप्टर पोखरा विमानस्थलमा तैनाथ रहेको बताइएको छ ।

उक्त खोज तथा उद्दार कार्यको लागि खटेको नेपाली सेनाको उद्धार टोलीद्वारा कोरियन पर्यटकहरु हिमपहिरोमा परी पुरिएको भनिएको स्थानमा करिव पाँच मिटर गहिराईसम्म खन्दा पनि हालसम्म केही फेला नपरेको र उक्त टोलीले नेपाली गाइडहरु पुरिएको भनी मार्क गरिएको सम्भावित स्थानमा समेत खोजी कार्य जारी राखेको छ । बताइएअनुसार हराइरहेका नेपाली गाइडका दुईजना आफन्तहरु समेतले उद्धार कार्यमा सहयोग गरिरहेका छन् । नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तस्बिर : नेपाली सेना