आस्थाले मात्र होइन कसैले पनि आस्था र संयमता गुमाउनुहुन्न

आस्थाले मात्र होइन कसैले पनि आस्था र संयमता गुमाउनुहुन्न


■ आचार्य प्रभा (अमेरिका)

पङ्क्तिकारले निकै अघि नै लेख्न खोजेको तर सान्दर्भिकता कुर्दाकुर्दै ढिलो गरेको यो विषय यतिबेला कोरिँदै छ । हालै काठमाडौंस्थित विमानस्थलमा गायिका आस्था राउत र प्रहरी कर्मचारीबीच घटेको घटनासँग मिल्दोजुल्दो लागेर यी पङ्क्ति लेख्न बाध्य भएँ । प्रसङ्ग सेप्टेम्बर २०१९ अर्थात् २०७५ भदौ महिनाको हुनुपर्छ । हामी दम्पती अमेरिकाको लागि साँझको ७ बजेतिरको उडानको लागि एयरपोर्ट पुग्यौँ । एयरपोर्टमा निकै खचाखच भिड थियो । हामी प्रायः ओहोरदोहोर गरिरहने भएकोले एयरपोर्टका हरेक नियमसँग परिचित थियौँ र हामी नियमतः नै व्यवहार गर्न सचेत रहन्छौँ ।

चेकजाँचको कार्य सकेर इमिग्रेसनतर्फ लाग्दै थियौँ, नजिकै (लोकदोहोरी/ब्याटल दोहोरी) गाउने गायिका प्रीति आले पनि टक–टक जुत्ता बजाउँदै हिँडिरहेकी देखिइन् । छेउछाउका युवाहरू खसाकखुसुक गरिरहेका थिए– ‘प्रीति आले, प्रीति आले’ भन्दै । मैले पनि उनलाई पहिला नै चिनिहालेँ । नेपालमा हुँदा नचिने पनि २०१७–१८ मा अस्ट्रेलिया रहँदा प्रीति आलेको ब्याटल दोहोरीको भिडियो खुब हेरेकी थिएँ । उनका गीत नयाँ स्वादको भएर मलाई पनि खुब मन परेको थियो । अनि, प्रीति आले हेर्दा रफ टाइपकी गायिका भए पनि उनको त्यो समयसम्मको गीतमा कुनै किसिमको अश्लीलता र उछृङ्खलताचाहिँ मैले देखिनँ ।

कुनै–कुनै गायिका दोहोरी र लोकगीतको नाममा वेस्ट्रन बनेर नाङ्गिएझैँ उनको प्रस्तुतिमा त्यस्तो पाइनँ र मलाई प्रीति आले मन पर्न थाल्यो । उसो त आस्था पनि मेरो प्रिय गायिका नै हुन्, उनका गीतमा पनि पृथक् स्वाद पाइन्छ । हामी इमिग्रेसनछेउ पुग्यौँ । आ–आफ्नो लाइनको अफिसरको नजिक उभियौँ । त्यतिबेलासम्म पनि ती युवकहरू जो वैदेशिक रोजगारमा लागेका होलान् ‘प्रीति आले, प्रीति आले’ भन्दै खसाकखुसुक गरिरहेका थिए । किनकि, आजभोलिका युवाका ढुकढुकी प्रितीजस्ता गायक या कलाकारहरू नै हुन् । यदि त्यो ठाउँमा आस्था राउत भएकी भए पनि सायद तिनीहरूले चिन्थे होलान् । त्यसरी नै खसाकखुसुक गरेर आस्था राउत, आस्था राउत भन्थे होलान् । सर्वसाधारण र युवाहरूले कलाकारलाई नचिन्ने कुरै हुन्न ।

अनि मैले सम्झिएँ– साँच्चै अहिलेको माहोलमा जगजगी छाउन त कि स्टेज तताउने गायक–गायिका हुनुपर्ने रहेछ कि त जल्दोबल्दो मिडियामा चिनिएका अनुहार कि त नेतागण, अनि त सबैले प्रस्ट चिन्ने रहेछन् ।

मैले त्यही सम्झिँदै इमिग्रेसन अफिसरनजिक पुगेर आफ्नो पासपोर्ट र सबै कागजात देखाएँ । ती इमिग्रेसन अफिसर जवान सुन्दर हेर्दै भद्र लाग्थे, ले मलाई राम्ररी अनुहारमा नियाले, तर केही भनेनन् । जब म आफ्नो पालो सकेर अलिक पर उभिएँ मेरो श्रीमान्को पालो आयो । उहाँ पनि चेकजाँच सकेर मतिर फर्किन लाग्नुभा’थ्यो । ती अफिसरले मेरा श्रीमान्लाई बडो शालीनताका साथ मुस्काउँदै सोधे, ‘आचार्य प्रभा भनेको उहाँ नै हुनुहुँदोरहेछ है ? हामीले सानो बेलादेखि नै खुब पढेको उहाँका रचनाहरू ।’

त्यति भनेको शब्द झट्ट मेरो कानमा पऱ्यो । मानवीय स्वभाववश म पनि एकप्रकारले मनमनै मक्ख परेँ । ‘अरे ! हामीलाई संसारले नचिने पनि कोही त छन् चिन्ने !’ भन्ने मनमा एउटा प्रेरक उत्साह उब्ज्यो । मैले यसो फर्केर हेरेँ । ती अफिसरले मतिरै फर्किएर हँसिलो मुहार पारेर हेरिरहेका थिए । म उन्लाई बिदाइको हात हल्लाउँदै त्यहाँबाट ओझेल भएँ ।

हो मलाई ती युवाहरूले एउटी गायिका (प्रतिभा)लाई देखेर त्यति उत्तेजित भएर खुशी व्यक्त गर्दै एक–अर्कामा प्रीति आले प्रीति आले भन्दै कोट्याउँदै गरेको देख्दा नै मनमा तरङ्ग उब्जिसकेको थियो । कवि, लेखक, चिन्तक, समाजसेवीहरूलाई पनि हाम्रो देशमा कहिले सारा जनताले चिन्ने दिन आउला नि ? भन्ने मनमा कुरा खेलिरहेको थियो ।

आजभोलि नाम चलेका र पर्दामा देखिइरहेका अनि अलिक हल्लीखल्ली मच्चाउने गीतहरू स्टेजमा प्रस्तुत गर्ने र महिला सिंगरहरू जो लोकगीत मुखले गाउने प्रस्तुतिमा अङ्ग प्रदर्शन गर्नेहरू नै गल्ली–गल्लीमा चर्चामा छाउँछन् र सबैका ढुकढुकी बन्न सफल हुन्छन् । झन् यी अरू क्षेत्रकाहरू त (कलाकार) बाहेक बैनी आस्थाले भनेझैँ प्युसा–प्युपासरह नै हुन्छन् । कसले चिनुन् ? कसले गनुन् ?

हुन त मैले यहाँ आफूलाई ठूलो मान्छे भनेर परिचित गर्न खोजेकी होइन । म आफ्नो क्षेत्रमा थोरबहुत प्रसिद्धि कमाएकै व्यक्ति नै हुँ र पनि त्यो घटनाले मलाई मनमा केही तरङ्ग फैलाएको थियो । त्यो व्यक्त गर्ने अभीष्ट हुँदाहुँदै पनि गर्न सकेकी थिइनँ वा मैले त्यसो गर्ने जरुरत ठानिनँ । तर, बहिनी आस्था राउतको यो घटनाले भने मलाई यो भाव पोख्न प्रेरित गऱ्यो ।

म गायिका आस्था बहिनीलाई एउटा नेपथ्यकी (गीत लेखक) भएको नाताले जो एकै विधासँग सम्बन्धित पनि भएको, तर हालसम्म प्रत्यक्ष भेटघाट नभए पनि के भन्छु भने, बहिनी… सबैजना गीत–सङ्गीतप्रेमी हुँदैनन् । कतिलाई त थाहा नै हुन्न कुन गीत कसले गायो ? भन्ने र यो प्रहरी–प्रशासनमा कार्यरत कर्मचारीहरू त सबै यस्ता कुराहरूमा चासो राख्ने पनि नहोलान् । उनीहरू आफ्नै कर्तव्य र ड्युटीमा व्यस्त हुन्छन् । फुर्सदिलाहरू पो टेलिभिजन हेर्छन्, कार्यक्रम हेर्छन् र सबै कुराको जानकारी राख्छन् । अनि उनीहरूलाई पाठ नै त्यस्तै पढाइएका हुन्छन् शायद, जो एकोहोरो आफ्नो ड्युटीमा व्यस्त हुन्छन् त्यसपछि मात्र अन्य कुरा जान्नेतिर ।

कलाकारले कलाकार चिन्छन्, पत्रकारले पत्रकार, सबैको आ–आफ्नै क्षेत्र र पहिचानको हद हुँदोरहेछ । हामी लेख्नेलाई कसले चिन्छ ? जो साहित्य मन पराउँछ, जो रुचि राखेर पढ्छ उनीहरूले मात्र हो कवि–गीतकार, लेखकलाई चिन्ने नत्र त उही पिउसो र प्युपासरह नै । उसो त गायक–गायिकाले गीतकार चिन्दैनन् । मुस्किलले सङ्गीतकारलाई चिन्छन् । अझ एरेन्जर त को हो को हो ? सधैँ ओझेलमै ।

एउटा गीत तयार गर्न कतिजनाको प्रयास र मिहिनेत हुन्छ ? कुनै स्रोता–दर्शकले कहिले लेखाजोखा गरेको छ ? त्यसैले कला र कलाकार भनेको धैर्यता–संयमताको प्रतिमूर्ति हो, ऊ आफू कपासझैँ हलुङ्गो हुनुपर्छ न कि धुलोझैँ हावाले उडाउने तर कपासझैँ हलुङ्गो भएर जहिल्यै मनमा अडिरहने । भनिन्छ नि एक चोटले ज्ञानी हुन्छ रे, तर धेरै चोट खाएर बानी पर्ने कोसिस कसैले पनि गर्नुहुन्न ।

जीवन यात्रा हो, हिँड्दै जाँदा असङ्ख्य ठक्कर खाइन्छ । एक चोटले नै सचेत हुनुपर्छ । चोट नखाई पोख्त भइन्न । हामी पिउसो–प्युपा नै बनेर बाँचिरहेछौँ, तर मनमा आत्मविश्वास लिएर । धेरैको भिडमा चिनिएर मात्र चर्चा बटुल्नुभन्दा थोरैको मनमा बस्न सफल भएर प्रसिद्धि पाउनु श्रेयष्कर हो भन्छु म । हुन त आस्था बहिनीको पिउसो–प्युपा शब्द कतिलाई मन परेन । मलाई भने किन हो किन मनभित्रै गडेर रह्यो । यसको अर्थ उनले कसैलाई गालीको अर्थमा प्रयोग गरिन् भनेर होइन खै किन हो ? मलाई उनका यी दुई विशेषणरूपी शब्दहरू मन पऱ्यो कारण नौलो पनि लाग्यो हाँस पनि उठ्यो ।

अन्तिममा म यति भन्न रुचाउँछु । कोही आफ्नो कामकर्तव्यमा व्यस्त होलान् त्यसैले आफ्नै काममा दत्तचित्त भएर कर्तव्य निभाउलान्, तर त्यसमा आफ्नो परिचय हराएको महसूस गर्नुहुन्न ।

कलाले पनि सबैलाई कहाँ चिनेको हुन्छ र ? जसलाई चिनेको हुन्छ उसैलाई साथ दिएको हुन्छ । अब हरकलाकार र प्रतिभावानले यही सोच्नुपर्छ कि सबै ठाउँ सबैको लागि उपयुक्त हुँदैन । कहीँ नाम गुमे पनि स्वाभिमान नगुमोस् । कला, गला र प्रतिभा अजर–अमर रहोस् । कसैले आत्माग्लानि र कुण्ठा पाल्नुहुन्न । आजभोलि जहाँ जे घटना घट्छ त्यसमा कुरै नबुझी खहरे खोलाहरू उर्लिएर आएर पात र पतिङ्गर मैलोहरू बगाएर ल्याएर छर्कने प्रयास हुन्छ, त्यसैले सम्झौँ कुनै पनि घटना घट्नु भनेको सानो गल्तीले हुन्छ । समय र ठाउँअनुसार आफूलाई उतार्न सक्नुपर्छ । कसैले उत्तेजनामा आएर हिलो छ्याप्ने काम गर्नुहुन्न । प्रहरी–प्रशासनले पनि आफ्नो कर्तव्यलाई उत्तिकै सतर्कताले निभाउन सक्नुपर्छ । यसमा राजा–रजौटा र आउरेबाउरे भनेर नछुट्याएकै राम्रो हुन्छ । यो हामी सबैले बुझ्न जरुरी छ । हामी सबैमा अनुशासन र कर्तव्यप्रतिको बफादारीचाहिँ हुन जरुरी छ ।