कोरोना भाइरसबाट चीनमा नौको मृत्यु, ४४० पीडित

कोरोना भाइरसबाट चीनमा नौको मृत्यु, ४४० पीडित


चिनियाँ स्वास्थ्य अधिकारीहरूले बुधबार नयाँ कोरोना भाइरस (२०१९–कोभ) का कारण सिर्जित निमोनियाबाट चार सय ४० जना पीडित भएको घोषणा गरेका छन् । यस नयाँ भाइरसका कारण हालसम्म नौजनाको मृत्यु भइसकेको छ र मृत्यु हुने सबै मध्यचीनको हुबेई प्रान्तका रहेका राष्ट्रिय स्वास्थ्य आयोगका उपनिर्देशक ली बिनले बताए । यो भाइरस मंगलबारसम्म चीनका १३ वटा प्रान्तमा देखिएको छ ।

पत्रकार सम्मेलनमा उपनिर्देशक लीले मंगलबार मात्र १४९ जनामा भाइरस देखिएको पुष्टि भएको जानकारी दिए । विदेशमा हालसम्म जापानमा एउटा घटना प्रमाणित भएको छ भने थाइल्याण्डमा तीन र दक्षिण कोरियामा एकजनामा यो भाइरसको संक्रमण देखिएको छ ।

चिनियाँ अधिकारीहरूले कुल २,१९७ को विशेष निगरानी गरिएको र तीमध्ये एक हजार ३९४ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाएका छन् । स्वास्थ्य जाँच गरिएकामध्ये ७६५ जनालाई डिस्चार्ज गरिएको छ ।

उपनिर्देशक लीले यस भाइरसबाट संक्रमणको घटना निकै बढेको देखिएको बताए । उनले नयाँ भाइरसको परीक्षण विधि प्रयोगमा आएपछि रोगी व्यक्तिहरूको संख्या देखिएको हुन सक्ने बताए । विज्ञहरूका अनुसार श्वासप्रश्वासबाट यो भाइरस अर्को व्यक्तिमा संक्रमण हुने गर्छ ।
रासस–सिन्ह्वा