ग्रीसमा पहिलो महिला राष्ट्रपति बन्दै

ग्रीसमा पहिलो महिला राष्ट्रपति बन्दै


वातावरणीय कानुन र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश बुधबार ग्रीसको पहिलो महिला राष्ट्रपति बन्ने भएकी छिन् । राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारोपोलोउले अन्तर–पार्टी समर्थन प्राप्त गरिसकेकी छिन् । ग्रीसको विदेश नीतिमा संकट बढ्दै गएको अवस्थामा उनको नाममा भएको सहमतिले राम्रो संकेत गरेको जानकारहरूको भनाइ छ ।

‘ग्रीसको खुलापन र भविष्यका लागि यो शुभसंकेत हो,’ प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भने । उनले साकेल्लारापोलोउलाई राष्ट्रपतिमा चयन गरियोस् भन्दै बुधबारको संसद बैठकमा प्रस्ताव पेस गरेका छन् ।

चार दशकदेखि न्याय क्षेत्रमा सक्रिय अनुभवी ६३ वर्षीया साकेल्लारापोलोउले सन् २०१८ देखि ग्रीसको माथिल्लो प्रशासनिक अदालत (काउन्सिल अफ स्टेट)को अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिरहेकी छिन् । ग्रीसमा यो पद सम्हाल्ने उनी पहिलो महिला पनि हुनेछिन् ।

सर्वोच्च अदालतका न्यायाधीशकी छोरी साकेल्लारापोलोउ पेरिसको सोर्बोन विश्वविद्यालयबाट स्नातकोत्तरका साथै संवैधानिक र वातावरणीय कानुनमा विशेषज्ञ हुन् । हाल ग्रीसमा प्रोकोपिस पाभ्लोपोलोस राष्ट्रपति रहेका छन् र उनको पाँचवर्षे कार्यकाल आगामी मार्चमा सकिँदै छ ।

ग्रीसमा राष्ट्रपतिको चयन संसदले गर्दछ । साकेल्लारापोलोउले बुधबार हुने मतदानमा २६० भन्दा बढी मत प्राप्त गर्नेछिन् । मुख्य विपक्षी दलहरूको पनि समर्थन भएका कारण उनको विजयी सुनिश्चित भएको हो । संसदमा राष्ट्रपति चयन हुन हाल न्यूनतम २०० मत भए पुग्छ ।

मुख्य विपक्षी वामपन्थी नेता अलेक्सिस सिप्रासले साकेल्लारापोलोउ एक ‘असाधारण न्यायाधीश’ र मानवअधिकारको पक्षधर रहेको बताए । समाजवादी किनाल पार्टीले पनि उनलाई समर्थन जनाइसकेको छ ।

प्रधानमन्त्री मिट्सोटाकिसले यसपटक राष्ट्रपतिका लागि महिलाको छनोट मात्र होइन कुनै दलको सदस्य नरहेको व्यक्ति पनि राष्ट्रपतिमा उम्मेदवार बनेकाले विगतको लामो परम्परा तोडिएको बताए । विगतका राष्ट्रपतिहरू प्रायः पार्टीका वरिष्ठ व्यक्तित्वहरू रहने गरेका थिए ।
afp