एनआरएनए सुधारका लागि डा. पौडेलले उठाए गम्भीर सवाल

एनआरएनए सुधारका लागि डा. पौडेलले उठाए गम्भीर सवाल


■सागर सुवेदी, अष्ट्रिया

गैरआवासीय नेपाली संघको नवौँ विश्व सम्मेलन सम्पन्न भएको तीन महिनाभन्दा ज्यादा अवधि गुज्रिसकेको छ । गत सन् २०१९ को अक्टुबर १५ देखि १७ सम्म काठमाडौंस्थित ह्यात होटलमा आयोजित उक्त सम्मेलन अत्यन्त विवादित र बेथितिको उदाहरण बनेर सम्पन्न भएको चर्चा त्यतिबेलै चलेको थियो । सत्तानिकट राजनीतिक पहुँच समेत प्रयोग गरेर मतदाताको थपघट, अनेक जालझेल तथा हुलहुज्जत गरेर नेतृत्व हत्याएको आरोप कैयन एआरएन सदस्यहरूले लगाएको अहिलेसम्म सुनिँदै छ ।

यसरी गैरआवासीय नेपाली संघका सदस्यहरूको गुनासो र आरोप चलिरहेकै बेला गैरआवासीय नेपाली संघ युएसएका पूर्वसभापति डा. केशव पौडेलले एनआरएनएए समयानुकुल तथा विधिसम्मत् ढङ्गले सञ्चालन हुन नसकेको भन्दै संघको विधान संशोधन प्रयोजनको लागि विशेष अधिवेशनको माग गर्नुभएको छ । संस्थाभित्र धेरै विषयमा छलफलको आवश्यकता रहेको औंल्याउँदै डा. पौडेलले विधिसम्मत तवरबाट संस्था अगाडि लैजानका लागि निर्वाचन प्रणाली, सदस्यता वितरण र प्रतिनिधि चयनको प्रक्रियामा आमूल परिवर्तनलगायतका कैयन विषय प्रक्रियागत ढङ्गबाट सम्बोधन गर्नुपर्ने धारणा अघिसार्नुभएको छ ।

‘एनआरएनए सुधारका लागि’ भन्दै डा. पौडेलद्वारा हालै सार्वजनिक गरिएको ‘अपिल–पत्र’मा काठमाडौंमा सम्पन्न नवौँ सम्मेलनका क्रममा भएका कतिपय गतिविधिले समस्त गैरआवासीय नेपालीलाई हीनताबोध गराउनुका साथै नेतृत्वपङ्क्तिको कमजोरी र व्यवस्थापकीय त्रुटिका कारण घटेका केही घटनाले गैरआवासीय नेपालीलाई हेर्ने नजरमा नै नकारात्मक असर पर्न गएको आरोप लगाइएको छ ।

उहाँले आफ्नो विज्ञप्तिमा भन्नुभएको छ– ‘सम्मेलनमा आफ्नो जीत सुनिश्चित गराउनका लागि भए गरेका गलत कार्यहरूको फेहरिस्त नै छन् । नेतृत्व हात पार्नका लागि प्रतिनिधि छान्ने प्रक्रियादेखि प्रतिनिधि पास उपलब्ध गराउने कार्यमा के–कस्ता गलत कार्य भएका थिए र प्रतिनिधिको संख्यामा कसरी गोलमटोल गरिएको थियो भन्ने कुरा सम्मेलनमा सहभागी जो–कसैलाई पनि थाहा भएकै कुरा हो ।’

विभिन्न नाममा जथाभावी पासहरू वितरण गरिएकोदेखि निर्वाचन प्रक्रियाको अपारदर्शिता र निर्वाचन कसरी गरिएको थियो भन्ने जगजाहेर रहेको उल्लेख गर्दै नवौँ सम्मेलनमा उपाध्यक्षको उम्मेदवारसमेत रहनुभएका पौडेलले नतिजा कस्तो निकालिँदैछ भन्ने पहिले नै अनुमान गरिएको खुलासा समेत गर्नुभएको छ । तथापि, संस्थालाई सर्वोपरी ठानी संस्थाको हितका निम्ति एकताबद्ध एनआरएनए बनाउने ध्येयले जानाजान आफूहरू प्रक्रियामा सहभागी भएको पनि उहाँले प्रष्ट्याउनुभएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘हामी सबैलाई थाहा छ नवौँ विश्व सम्मेलनमा कोषाध्यक्षको प्रतिवेदन र महासचिवको प्रतिवेदन पारित भएन । यो दुवै महत्वपूर्ण विषयलाई अर्थहीन जस्तो गराइ चुनाव गराइयो र त्यसबाट चुनिएको अहिलेको समितिले के आधारमा संस्थाको कोष सञ्चालन गरिरहेको छ ? त्यो महत्वपूर्ण प्रश्न बनेर आएको छ । अर्कोतर्फ संस्थाको वार्षिक प्रतिवेदन समेत पास नभएको अवस्थामा अहिलेको समितिले कार्यक्रमहरू कसरी लगिरहेको छ ? यो पनि एउटा महत्वपूर्ण विषयको रुपमा रहेको छ । यो विषयमा यो समितिलाई गम्भीर बन्न म आग्रह गर्न चाहन्छु ।’

अहिलेको निर्वाचन प्रक्रियाबाट स्वच्छ निर्वाचनको कल्पना गर्न नसकिने भन्दै निर्वाचन प्रक्रियालाई वैज्ञानिक र समय सापेक्ष रुपमा सुधार गरी आमूल परिवर्तन गर्नुपर्ने खाँचो डा. पौडेलले औंल्याउनुभएको छ । प्रतिनिधि छान्ने प्रक्रिया पनि अवैज्ञानिक खालको हुनाले यसमा सुधार हुन आवश्यक रहेको र एउटा व्यक्तिले ठानेको विचारका आधारमा संस्थालाई हिँडाउन खोजिएको पनि उहाँको धारणा छ । आफूअनुकूल हुने गरी विधानलाई प्रयोग गर्ने कार्य बढ्दै गइरहेकोले एनआरएनए संस्थागत हुन नसकिरहेको गम्भीर अवस्था उहाँले दर्शाउनुभएको छ ।

संस्थाको सुधारका लागि निकै महत्वपूर्ण सुझाव दिँदै विज्ञप्तिको अन्त्यमा उहाँले भन्नुभएको छ– ‘निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउनका लागि सम्मेलनमा पुगेर पास पाउने र त्यो पनि कसैको निगाहमा भर पर्नुपर्ने परिपाटीको अन्त्य हुनुपर्दछ । प्रतिनिधिको छनौटको काम सम्मेलन हुनुभन्दा कम्तिमा एकमहिनाअघि हुनुपर्दछ । हामी गैरआवासीय नेपालीले सिकेको सीप, अनुभव र काम गर्दा अपनाइने प्रक्रियागत कार्यलाई नेपालमा स्थानान्तरण गर्ने कुरा गरिरहँदा हाम्रो आफ्नै संस्था संस्थागत दिशामा अघि बढ्न नसक्नु अत्यन्तै खेदजनक छ । सस्तो लोकप्रियताका लागि बोल्ने, तर गर्न नसक्ने कार्य बढ्दै गएको छ । यसले गैरआवासीय नेपालीप्रति वितृष्णा पैदा भइरहेको छ भने एनआरएनए संस्थाप्रतिको विश्वास र भरोसामा आघात पुगिरहेको छ । आवश्यकता एउटा र काम अर्कै भइरहेको छ । एकप्रकारले भन्दा मनोमानी बढेको छ । यो संस्था विश्वभर रहेका गैरआवासीय नेपालीको पसिनाले सिञ्चित संस्था हो । यसको हेक्का हामी सबैले राख्नैपर्दछ । नयाँ नेतृत्वले नेतृत्वमा आएपश्चात अब सदस्यता शुल्क नलिने जुन घोषणा गरेको थियो, प्रशंसनीय कार्य हो । यदि त्यो योजनाबद्ध रुपमा व्यावहारिक पक्षलाई समेत अध्ययन गरी सस्तो लोकप्रियताभन्दा माथि उठेर ल्याइएको हो भने त्यसको सुरुवात तत्काल गर्न पनि म विशेष आग्रह गर्न चाहन्छु । यी सबै कार्यका लागि यथाशीघ्र विधान संशोधन प्रयोजनार्थ विशेष अधिवेशनको आह्वान गरी ६ महिनाभित्र विशेष अधिवेशन डाकेर संस्थालाई गतिशील र संस्थागत बनाउन म अहिलेको समितिको ध्यानाकर्षण गर्न चाहन्छु ।’