प्रधानमन्त्री बदल्न प्रचण्ड दृढ

प्रधानमन्त्री बदल्न प्रचण्ड दृढ


सभामुख चयनसम्बन्धी विषयलाई लिएर नेकपाभित्र उत्पन्न तनाव अन्त्य भए पनि केपी ओली नेतृत्वको सरकारलाई निर्वाध रूपले काम गर्न दिइने सम्भावना भने न्यून भएको छ । प्रचण्डले चाहेका व्यक्तिलाई सभामुख बनाउने निर्णयपछि केपीविरोधीहरूको मनोबल निकै बढेको छ र, प्रधानमन्त्री बदल्ने योजना उनीहरूले बनाएको बुझिएको छ ।

सभामुख र राष्ट्रिय सभा सदस्यको निर्वाचन भएकोले तत्काल केपी सशङ्कित हुने कुनै ‘काम कुरा’ नगर्ने ‘रणनीतिक मौनता’ प्रचण्डले कायम गर्नुभएको छ । निर्वाचनपछि कुनै अर्कै विषयलाई मुद्दा बनाएर केपीलाई रक्षात्मक तुल्याउँदै सरकार बदल्ने योजनामा प्रचण्ड रहनुभएको उहाँका निकटवर्तीहरूबाट थाहा भएको छ ।

महिना दिनभित्रै केपीसँग फेरि निहुँ खोज्ने र उपयुक्त वातावरण बनाएर संसदीय दलमा केपीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा प्रचण्ड रहनुभएको बुझिन्छ । त्यसरी अविश्वासको प्रस्ताव ल्याइनुअघि केपीलाई ‘तर्साउने’ र राजीनामा माग्ने, राजीनामा नदिएको अवस्थामा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गर्ने आन्तरिक गृहकार्यमा प्रचण्ड हुनुहुन्छ । आफू पार्टीको एकल अध्यक्ष बन्ने, माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने, वामदेव गौतमलाई उपाध्यक्ष र झलनाथ खनाललाई भविष्यमा राष्ट्रपति बनाउने ‘आकाशे भागबन्डा’का आधारमा केपीविरोधी मोर्चालाई सुदृढ बनाउने प्रयासमा प्रचण्ड लागिपर्नुभएको छ । प्रचण्डको यस्तो प्रयासमा माधव, झलनाथ, वामदेव र केही विदेशी शक्तिकेन्द्रको समेत साथ रहेको देखिए पनि उहाँको यो योजना सहजै कार्यान्वयन हुनेमा शङ्का छ ।

प्रतिनिधिसभामा अहिले पनि केपी समर्थक सांसदहरूको सङ्ख्या पचासीभन्दा बढी रहेकोे अवस्था छ । माधव नेपाल समर्थक करिब एकचालीसमध्ये सबैले प्रचण्डलाई साथ दिनेमा शङ्का छ । र, यसरी जबर्जस्ती सरकार बदल्ने खेल अघि बढाउँदा त्यसले नेकपालाई विभाजित गराउने सम्भावना पनि बढाउने देखिन्छ । हुन त प्रचण्ड आफैँचाहिँ पार्टी विभाजन हुन्छ कि भन्ने कुराबाट डराउने व्यक्तिमा पर्नुहुन्न । उहाँको विगत पनि विभाजनमा रमाउने प्रकारको रहँदै आएको छ । तर, माधव नेपालचाहिँ पार्टी विभाजनबाट डराउने भएकोले प्रचण्ड जतिसुकै आक्रामक ढङ्गले केपीविरुद्ध सक्रिय रहनुभएको भए पनि पार्टी विभाजन हुने हदसम्म माधवको साथ रहने विश्वास गरिँदैन ।

त्यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पार्टी विभाजनलाई रोक्न जुनसुकै भूमिका निर्वाह गर्ने मानसिकतामा रहनुभएको बुझिन्छ । त्यसैले प्रचण्डको योजना नारायणकाजी श्रेष्ठ र माधवकुमार नेपालकै कारण अन्ततः असफल हुन सक्ने देखिएको छ । तर, केपीलाई पहिले प्रधानमन्त्री र त्यसपछि पार्टी अध्यक्षको पदबाट हटाउने प्रचण्डको योजना र इच्छामा विराम नलाग्नेचाहिँ निश्चित छ । केपीलाई सहज हुने कुनै पनि काममा अवरोध पैदा गर्ने प्रयास प्रचण्डबाट भइरहनेछ । यदि सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङ, शङ्कर पोखरेल र देव गुरुङजस्ता नेताहरूलाई पार्टीको सचिवालय सदस्य बनाउन केपीले अग्रसरता लिनुभयो भने त्यसमा समेत बाधा पुऱ्याउने सोचमा प्रचण्ड रहनुभएको बुझिन्छ । तथापि, केपीलाई प्रधानमन्त्री पदबाट नै हटाउने उहाँको योजना कसरी अघि बढ्ला यो जिज्ञाशा र प्रतीक्षाको विषय बनेको छ ।

यो पनि हेर्नुहोस्-

प्रचण्डलाई अगाडि सारेर माधव-वामदेवले लिए बदला !