प्रदेशसभा सदस्य जगत र भरतलाई अन्तर्घातमा खटाए मातृकाले

प्रदेशसभा सदस्य जगत र भरतलाई अन्तर्घातमा खटाए मातृकाले


प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको विशेष अग्रसरतामा नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन गरिएको भए पनि नेकपाकै एकथरी नेता दुई पार्टीबीचको उक्त सम्झौता कार्यान्वयन हुन नदिन सक्रिय रहेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।

समाचारअनुसार नेकपा–राजपाबीचको गठबन्धनलाई निस्प्रभावी तुल्याउन केहीअघि मन्त्रीबाट हटाइएका मातृका यादव र प्रभु साह विशेष सक्रिय भएका छन् । क्षेत्रीयतावादी नेता उपेन्द्र यादव मातृका यादवलाई भेट्न उनको निवासमै पुगेका थिए । त्यसो त उपेन्द्र यादवले चिया पिउने निहुँ बनाएर महन्थ ठाकुरको घरमा गएर पनि लामो वार्तालाप गरेका थिए । ठाकुरलाई उच्च प्रशंसा गर्दै उपेन्द्रले आफूहरू एक भएर अघि बढ्नुपर्ने, महन्थलाई सर्वमान्य नेताका रूपमा स्वीकार गरिने, केपीले हामीलाई उपयोग प्रयोग मात्र गरेर छोड्नेजस्ता कुराहरू बताएर महन्थको मन जित्न प्रयास गरेका थिए ।

दुई नम्बर प्रदेशको सरकार यथावत् राखी त्यसमा महन्थको सिफारिसका थप एक–दुईजनालाई मन्त्री बनाइदिने वचन दिँदै उपेन्द्रले त्यहाँ नेकपा र राजपाबीच गठबन्धन हुँदा त्यसले मधेशको राजनीतिमा धेरै ठूलो नकारात्मक असर पार्ने पनि बताएका थिए । उपेन्द्रको कुराले महन्थ प्रभावित भए पनि उनले राष्ट्रिय सभा निर्वाचनका लागि बनेको गठबन्धन नतोडिने स्पष्ट गरिदिएको बताइन्छ । तर, मातृका यादव भने नेकपाको भोट राजापलाई नदिई उपेन्द्र–देउवा गठबन्धनका उम्मेदवारलाई दिलाउने गृहकार्यमा जुटिरहेका छन् ।

प्राप्त जानकारीअनुसार नेकपाको तर्फबाट प्रदेश सभा सदस्य रहेका जगत यादव र भरत साहलाई मातृकाले ‘अन्तर्घात व्यवस्थापनको जिम्मेवारी’ सुम्पिएका छन् । मातृकाले निर्देशन दिएपछि जगत र भरत नेकपा–राजपाका उम्मेदवारलाई पराजित गरेर शेरबहादुर–उपेन्द्र गठबन्धनका उम्मेदवारलाई जिताउने गृहकार्यमा जुटिसकेका छन् । उनीहरूले नेकपा–राजपा गठबन्धनका उम्मेदवारलाई मत नदिने नेकपाका मतदाताहरूको पहिचान गरी मातृका र उपेन्द्र यादवलाई त्यसको जानकारी गराउने तथा ‘घाती मतदाता’हरूलाई यादवद्वयसँग सीधै संवाद गराउनेसम्मका काम गर्दै आएका छन् । मातृका यादवले नेकपाको कति मत घटाइदिन सक्छन्, सोको जानकारीका लागि केही दिन प्रतीक्षा गर्नुपर्ने भएको छ ।