प्रचण्डलाई अगाडि सारेर माधव-वामदेवले लिए बदला !

प्रचण्डलाई अगाडि सारेर माधव-वामदेवले लिए बदला !


प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट अपमानित र उपेक्षित महसूस गरिरहेका ‘एमाले’ नेताहरूले प्रचण्डलाई अघि सारेर केपी ओलीसँग बदला लिएका छन् ।

आफ्ना सबै मुख्य इच्छा पूरा गर्दै आउनुभएका ओली यसपटक सुवास नेम्वाङलाई सभामुख बनाउन चाहनुहुन्थ्यो । नेम्वाङलाई सभामुख चयन गराउन सफल भएको भए केपी ओली सर्वशक्तिमान शासक बन्नुहुने निश्चित थियो । केपी ओलीको प्रस्तावमा विद्या भण्डारी राष्ट्रपति बनिसक्नुभएको छ भने अख्तियार, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र निर्वाचन आयोगजस्ता महत्वपूर्ण निकायमा पनि ओलीले आफूअनुकूलकै व्यक्तिहरूको चयन गरिसक्नुभएको छ । सभामुखसमेत आफ्नै मानिस (सुवास नेम्वाङ) लाई बनाउन सकेको भए ओलीका निम्ति सबै दृष्टिले अनुकूल परिस्थिति निर्माण हुने र ओलीसँग असहमतहरूले सधैँ सङ्कुचित भएर रहनुपर्ने अवस्था हुन सक्थ्यो ।

संवैधानिक नियुक्तिमा सभामुख र उपसभामुखको महत्वपूर्ण भूमिका हुने र संसदीय कामकारबाहीलाई सहज तुल्याउन सभामुखको निर्णायक भूमिका रहने हुनाले ओली आफ्नै मान्छेलाई उक्त जिम्मेवारी दिन दृढ हुनुहुन्थ्यो । केपीको नियत बुझेर नेकपाभित्रका एकथरी नेताहरू प्रचण्डलाई अघि सारेर एकजुट भए ।

आफ्नो मर्यादाक्रम घटाइदिएको र राष्ट्रिय सभामा पनि आफ्नो भागमा एकजना मात्र ‘सदस्य’ दिएको कुराले माधवकुमार नेपाल केपीसँग क्रूद्ध हुनुभएको थियो । त्यस्तै राष्ट्रिय सभा सदस्य चयन गरेर संविधान संशोधन गरी आफूलाई प्रधानमन्त्री बन्न सहयोग नगरेकोमा वामदेव गौतम पनि ओलीसँग ‘आगो’ हुनुभएको थियो । त्यसैगरी केपीको स्थायी विपक्षी मानिने झलनाथ खनाल आफ्नो सानातिना मागसमेत पूरा नगरिदिएकोमा थप क्रूद्ध हुनुभएको थियो । नेम्वाङसँग जिल्ला (इलाम)मा हैरानी व्यहोर्नुभएका खनाल उनैलाई सभामुख बनाउने केपीको प्रस्तावबाट झनै असन्तुष्ट बन्नुभएको थियो ।

ओलीसँग एमालेका मुख्य नेताहरू रिसाएको मौकालाई प्रचण्डले उचित किसिमले ‘सदुपयोग’ गर्नुभएको छ । कृष्णबहादुर महरा पदमुक्त भएदेखि नै आफ्ना खास मानिस अग्नि सापकोटालाई सभामुख बनाउने इच्छा प्रचण्डले राख्दै आउनुभएको थियो । माधव, झलनाथ र वामदेवसहितको सहयोग प्राप्त भएपछि प्रचण्ड निकै उत्साहित हुनुभएको हो । नेकपाको सचिवालयका नौमध्ये बहुमत (प्रचण्ड, माधव, झलनाथ, वामदेव र रामबहादुर थापा) आफ्नो पक्षमा भएपछि प्रचण्ड केपीलाई ‘ठेगान लगाउन’ कस्सिनुभएको बुझिन्छ । आफूलाई पुग्ने बहुमत स्पष्ट भएपछि नारायणकाजी श्रेष्ठ तटस्थ भूमिकामा रहँदा पनि परिणाममा असर नपार्ने विश्वासमा प्रचण्ड हुनुहुन्थ्यो ।

केपी ओलीको अनुपस्थितिमा सचिवालयको बैठक राखेर प्रचण्डले उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने निर्णय गराउनुभएको थियो । केपी असहमत भए पनि बहुमतका आधारमा अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय सचिवालयबाट गराउने, स्थायी समिति र आवश्यक परे केन्द्रीय समितिबाट पनि उक्त निर्णयको अनुमोदन गराउने योजना र तयारीमा प्रचण्ड हुनुहुन्थ्यो । माधव, झलनाथ र वामदेवको साथ रहँदा प्रचण्डलाई केन्द्रीय समिति र स्थायी समितिबाट समेत आफूअनुकूल निर्णय लिन मुस्किल थिएन । स्थायी समितिको सतचालीसमध्ये केपीको पक्षमा केवल बाह्र (१२) जना मात्र रहने विश्वास प्रचण्डको छ । केपी लाइनमा नआए बहुमतको आधारमा सभामुख चयन गर्ने, त्यसपछि पार्टीभित्र दुईतिहाइ बहुमत पुऱ्याएर अध्यक्ष पदबाट पनि केपीलाई बिदा गर्ने दीर्घकालीन योजनामा प्रचण्ड हुनुहुन्थ्यो । त्यसपछि राष्ट्रपति बदल्ने सोच प्रचण्डको हो ।

हुन त केही समयअघि प्रचण्डलाई ‘कार्यकारी’ दिँदा दुवै अध्यक्षको सहमतिमा मात्र निर्णय हुने भन्ने लिखित सहमति केपी र प्रचण्डबीच भएको हो, तर प्रचण्ड त्यस्तो सहमतिमा अड्न खोज्नुभएन । चौतर्फी घेराबन्दी गरेर आफूलाई सिध्याउन अग्रसर भएपछि अन्ततः गत आइतबार (माघ ५ गते) केपी ओली प्रचण्डसमक्ष घुँडा टेक्न पुग्नुभयो । माघ ४ गते शनिबार केपी र प्रचण्डबीच साढे तीन घन्टा लामो वार्तालाप भएको र उक्त वार्तालाप निकै सकारात्मक बनेको महसूस प्रचण्डले गर्नुभएको थियो ।

सभामुख चयनमा प्रधानमन्त्री केपीलाई पछि हट्न बाध्य तुल्याएपछि प्रचण्ड–माधव पक्षको मनोबल उच्च हुन पुगेको छ । केपीलाई यो प्रकरणमा परास्त गर्न सफल भए पनि नेकपाभित्रको तनाव भने अरू गहिरो भएको छ । यसको बदला केपीले अब कसरी लिनुहुने हो, प्रतीक्षाको विषय बनेको छ ।

यो पनि हेर्नुहोस्-

प्रधानमन्त्री बदल्न प्रचण्ड दृढ