गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न महायज्ञ !

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न महायज्ञ !


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि महायज्ञबाट रु. ५० करोड ७६ लाख ७६ हजार ५० संकलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिको महायज्ञमा सक्रिय सहभागिता रहेको छ ।

रंगशाला निर्माणस्थलमा यही माघ १९ गतेदेखि २६ गतेसम्म बृहत धनधान्याञ्चल महोत्सव आयोजना गरिँदै छ । महायज्ञ मूल समितिका संयोजक प्रदेश सभा सदस्य विजय सुवेदीका अनुसार महायज्ञमा टोल विकास संस्थादेखि ठूला व्यावसायिक घरानासम्मबाट सहयोग संकलनका लागि खाका तयार गरिएको छ । अनुमानित खाकाअनुसार उक्त रकम संकलन हुने अपेक्षा गरिएको उनले बताए ।

स्थानीयस्तर, संघसंस्था, गैरआवासीय नेपाली, पालिकाहरू, सहकारी, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, अस्पताल, निर्माण व्यवसायी, उद्योग, सरकारी कर्मचारी, खेलकुद सामग्री उत्पादक कम्पनी एवं एजेन्सीहरूबाट रकम संकलनको लक्ष्य निर्धारण गरिएको छ । यससँगै तुलादान, चौरासी पूजा, व्रतबन्ध, लक्ष्यवर्ती, कलश, दानपेटिका, विवाह, धनधान्याञ्चल खाद्यान्न बिक्री, सौजन्य वस्तुबाट आम्दानी गरिने सुवेदीले जानकारी दिए ।

कम खर्चमा ठूलो मात्रामा रकम संकलन गर्ने योजनाका साथ महायज्ञ गर्न लागिएको छ । समितिका महासचिव दिनेश चुकेका अनुसार महायज्ञ सम्पन्न गर्न रु. ७६ लाख ७६ हजार ५० मात्रै खर्च गर्ने अनुमान गरिएको छ । रंगशाला निर्माणका लागि रु. ५० करोड बचाउने योजना बनाइएको चुकेले जानकारी दिए ।

महायज्ञ सम्पन्न गर्न जिल्लाका सांसद, पार्टीका प्रमुख, प्रशासनिक प्रमुख, स्थानीय तहका प्रमुख, उद्योगी व्यवसायी, कानुन व्यवसायी, पत्रकारलगायत रहेको एक हजार १११ जनाको मूल आयोजक समिति, २१ जनाको स्टेरिङ कमिटी, २०१ जनाको सचिवालय र ६० उपसमिति गठन गरिएको छ । भरतपुर महानगरपालिकाको रामपुरमा रु. दुई अर्ब ५० करोड खर्च गरेर रंगशाला निर्माण गरिँदै छ । धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको नेतृत्व लिएको छ ।
रासस