अस्ट्रेलियामा भीषण आँधी, तीस हजार घरमा विद्युत लाइन अवरुद्ध

अस्ट्रेलियामा भीषण आँधी, तीस हजार घरमा विद्युत लाइन अवरुद्ध


मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण करिब ३० हजार घरमा विद्युत लाइन अवरुद्ध भएको छ । मंगलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्विन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थियो ।

राज्य आपतकालीन सेवा (एसईएस) का अनुसार सहयोगका लागि सिड्नीको दक्षिणी उपनगरबाट मध्यरातमा आठ सयभन्दा बढी टेलिफोन कल आएका थिए । मुख्यतया यी फोनहरू भाँचिएका रूखका डरले आएको एसईएसका निर्देशक पल बेलीले बताए । रूखले सडकमा गुडिरहेका कैयौँ मानिसका कारलाई थिचेको थियो ।

केही भागहरूमा प्रतिघन्टा सय किलोमिटरका हिसाबले आँधीबेहरी आएको बताइएको छ । सिड्नीको पश्चिममा रहेको ब्रिन्जेली सपिङ सेन्टरको छानाका केही भागहरू हावाले उडाएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
रासस–सिन्ह्वा