प्रदेश नं ५ का प्रमुख प्रतिपक्षी दलका नेता पोखरेलको निधन

प्रदेश नं ५ का प्रमुख प्रतिपक्षी दलका नेता पोखरेलको निधन


प्रदेश नं ५ प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा निधन भएको छ ।

विगत एक वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलकोे रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खैरियास्थित आफ्नै निवासमा आज (६ माघ) अपराह्न साढे १ बजे निधन भएको हो । छातीमा क्यान्सरको सङ्क्रमणका कारण रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहनुभएका पोखरेललाई केही दिनअघि अस्पतालबाट मात्रै घर लगिएको थियो ।

विसं १९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिनुभएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभाको सदस्य बन्नुभएको थियो । उहाँ प्रदेशसभाकै जेष्ठ सदस्य हुनुहुन्थ्यो । पोखरेलका श्रीमती, चार छोरा र दुई छोरी हुनुहुन्छ ।