‘सदनलाई नेतृत्वविहीन राख्न उचित नहुने मान्यताका आधारमा राजीनामा दिएँ’ : डा तुम्बाहाम्फे

‘सदनलाई नेतृत्वविहीन राख्न उचित नहुने मान्यताका आधारमा राजीनामा दिएँ’ : डा तुम्बाहाम्फे


उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिएकी छन् । आज प्रतिनिधिसभामा मन्तव्य दिँदै उनले ‘प्रतिनिधिसभा लामो समयसम्म सभामुखविहीन हुँदा जटिलता उत्पन्न हुने र यस्तो अवस्था कायम राख्न नहुने’ भन्दै राजीनामाको घोषणा गरेकी हुन् ।

दुई पृष्ठ लामो लिखित वक्तव्य पढ्दै उनले भनिन्– ‘अन्यौलपूर्ण अवस्थामा उपसभामुख पद पनि रिक्त गरेर यस गरिमामय सदनलाई नेतृत्वविहीन राख्नु उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्गप्रशस्त गर्ने भनेर मैले सार्वजनिक रुपमा राखेको मान्यता सम्मानित सदनसमक्ष अभिलिखित गराउन चाहन्छु ।’

हेर्नुहोस् डा. तुम्बाहाम्फेको राजीनामा-वक्तव्यको पूर्ण पाठ–

माननीय सदस्यहरू,
एउटा अप्रत्यासित र अस्वाभाविक परिस्थितिका कारण विगत केही समयदाख प्रतिनिधिसभाको सभामुखको पद रिक्त रहँदै आएको व्यहोरा यहाँहरुलाई अवगत नै छ । सार्वभौम संसदको महत्वपूर्ण अङ्ग प्रतिनिधिसभा लामो समयसम्म सभामुखविहीन हुँदा उत्पन्न भएको जटिलता र यसले सिर्जना गरेका समस्याका बारेमा पनि हामी सबै जानकार नै छौँ ।

यस्तो स्थिति अब कायम राख्न हुँदैन, यसले छिटै उपयुक्त निकास पाउनुपर्छ भन्ने माननीय सदस्यहरुको भावनालाई प्रतिनिधित्व गर्दै मैले पटक–पटक सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउँदै आएको यथार्थसँग माननीय सदस्यहरु परिचित नै हुनुहुन्छ ।

अन्यौलपूर्ण अवस्थामा उपसभामुख पद पनि रिक्त गरेर यस गरिमामय सदनलाई नेतृत्वविहीन राख्नु उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्गप्रशस्त गर्ने भनेर मैले सार्वजनिक रुपमा राखेको मान्यता सम्मानित सदनसमक्ष अभिलिखित गराउन चाहन्छु ।

समावेशी लोकतन्त्र हाम्रो संवैधानिक व्यवस्थाको महत्वपूर्ण विशेषताका रुपमा रहेको छ । संविधानको यो मर्म अक्षर या वचनबाट होइन, हाम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुन सक्छ भन्ने मलाई लाग्छ । राज्यका उच्च ओहदाहरुमा समाजका सबै अंगहरुको प्रतिविम्ब झल्किन सके मात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुन सक्छ भन्ने यथार्थसँग संविधान निर्माणमा अगुवाइ गर्नुहुने राजनीतिक दल र नेतृत्व वर्ग सहमत हुनुहुन्छ भन्ने मैले आशा लिएकी छु ।

यसै विश्वासमाथि आधारित रहेर मैले आफ्ना धारणाहरु सम्बन्धित निकायहरुमा प्रस्तत गरेकी हूँ । मेरा यी धारणाहरु कुनै अस्वभाविक महत्वाकांक्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा म दृढ छु । यससम्बन्धी विभिन्न प्रतिक्रियाहरुलाई मैले नजिकबाट नियालेकी छु । समयले यसबारेमा वस्तुनिष्ठ मूल्यांकन गर्ने नै छ भन्ने मेरो विश्वास छ ।

लोकतन्त्र र खल्ला समाजमा हामीले गर्ने हरेक निर्णयहरु जनताको सूक्ष्म निगरानीमा रहेका हुन्छन् । तिनको औचित्यको परीक्षा पनि समयको कसीमा घोटिएर भई नै रहेको हुन्छ । निर्णय र सार्वजनिक जवाफदेहिताको बीचमा उचित सामञ्जस्यता हुनुपर्ने कुरामा सबै सम्बन्धित पक्षले ध्यान पुर्याउनु पर्छ भन्ने मलाई लाग्छ ।

दलबाट सिफारिस या निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भएता पनि संवैधानिक ओहदामा बसुन्जेल सम्बन्धित व्यक्ति दलसँगको सम्बन्धबाट अलग रहेको हुन्छ । उक्त ओहदामा रहँदा ऊ दलको निर्देशनमा होइन, संवैधानिक र कानुनी प्रबन्धअनुसार निर्देशित भएर क्रियाशील हुन्छ । मैले पनि यसैअनुसार नै इमान्दारिताका साथ कर्तव्य पूरा गर्ने प्रयास गरेकी छु ।

तर कसैले पनि आफ्ना जराहरु बिर्सनु हुँदैन, धरातल भुल्नु हुँदैन र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझनु हुँदैन भन्ने कुरामा पनि म सचेत छु ।

विभिन्न पक्षहरुका बीचमा यस अन्यौललाई निकास दिन चलिरहेको छलफललाई मेले सुक्ष्म अध्ययन गरिरहेकी छु । प्रतिनिधिसभामा बहमत प्राप्त दलले आफ्नो तर्फबाट नेतृत्वको दाबा गरेको अवस्थामा, हाम्रो प्रचलित संवैधानिक र कानुनी व्यवस्थाका आधारमा त्यसलाई कार्यान्वयनका लागि मैले सहजीकरण गर्न आवश्यक भएको छ ।

यसै अनुसार मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।

उपसभामुखका रुपमा विगत झण्डै दुई वर्षसम्म माननीय सदस्यहरुसँग बिताउन पाएको अवधि मेरो जीवनका अविस्मरणीय र सुखद अवधिका रुपमा स्मृतिमा रहने छन् । एउटा महिला, त्यसमाथि पनि एकल अवस्थामा रहेको र जनजाति पृष्ठभूमिबाट आएको म जस्तो व्यक्तिले जनताको सार्वभौम अधिकार अभ्यास गर्ने यस सर्वोच्च र गरिमामय अंगको नेतृत्व गर्न पाएको अवसरलाई अत्यन्त महत्वपूर्ण अवसर ठानेकी छु । यसको श्रेय हाम्रो लोकतान्त्रिक प्रणाली र राजनीतिक दलहरुलाई जान्छ ।

समावेशी लोकतन्त्रका माध्यमबाट न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्ने अभियानमा म भिन्न रुपमा, अविचलित र अविश्रान्त रुपमा क्रियाशील भइ नै रहने छु ।

मलाई कर्तव्य निर्वाहको सिलसिलामा प्राप्त सहयोगका लागि माननीय सदस्यहरु र संसद सचिवालयलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद !