सुन्तला बेचेर २५ लाख आम्दानी

सुन्तला बेचेर २५ लाख आम्दानी


वालिङका पुराना सुन्तला व्यवसायी फणिनारायण अर्यालले यस वर्ष सुन्तला बिक्री गरेर २५ लाख रुपैयाँ आम्दानी गरेका छन् । सुन्तला व्यवसाय सञ्चालन गर्ने जिल्लाकै पुराना तथा धेरै मात्रामा सुन्तला उत्पादन गर्ने अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका अर्याल जिल्लामै धेरै आर्थिक लाभ लिने सुन्तला व्यवसायीमध्ये एक हुन् ।

अर्यालले यस वर्ष सुन्तला बिक्रीबाट रु. २५ लाख आम्दानी गरेका छन् भने भने गत वर्ष रु. ३६ लाख आम्दानी गरेका थिए । ‘गत वर्ष सुन्तला बिक्री गरेर रु. ३६ लाख आम्दानी गर्न सफल भएको थिएँ,’ व्यवसायी अर्यालले भने, ‘एक वर्ष धेरै उत्पादन हुने र अर्को वर्ष कम उत्पादन हुने कारणले गर्दा पनि यस वर्ष सुन्तला उत्पादनमा कमी भई गत वर्षको जस्तो आम्दानी भएन ।’

अर्यालले आजभन्दा ४० वर्षअघि ०३६ सालमा विद्यालयमा पढ्दै गर्दा २५ वटा सुन्तलाका बिरुवाबाट व्यवसायको थालनी गरेका थिए । ‘कृषि विषय अध्ययन गर्दा व्यावहारिकतालाई पनि जोड दिइन्थ्यो,’ व्यवसायी अर्यालले भने, ‘सोही समयमा सारेको बिरुवा राम्रो हुँदै गएपछि २०४२ र २०५० सालमा थप सुन्तलाका बोट लगाएको हुँ ।’

असी रोपनी क्षेत्रफलमा फैलिएको अर्यालको सुन्तला बगैँचामा एक हजार ६ सयवटा सुन्तलाका बोट छन् । अर्यालको मुख्य आम्दानीको स्रोत सुन्तला र दोस्रोमा कफी हो । सुन्तला र कफीखेतीबाट नै आठजनाको परिवारको शिक्षादीक्षा तथा घरखर्च चलाउँदै आएका अर्याल यो व्यवसायबाट पूर्ण रूपमा सन्तुष्ट भएको बताउँछन् ।