७२औँ भारतीय सेना दिवसमा ‘नेपाली गोर्खा सैनिक’को प्रशंसा

७२औँ भारतीय सेना दिवसमा ‘नेपाली गोर्खा सैनिक’को प्रशंसा


७२औँ भारतीय सेना दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले आइतबार (१९ जनवरी) एक कार्यक्रमको आयोजना गऱ्यो । कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । प्रधानसेनापति थापा भारतीय सेनाका मानार्थ महारथी तथा सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित हुनुहुन्छ ।

उक्त कार्यक्रममा मन्तव्य दिँदै प्रधानसेनापति पूर्णचन्द्र थापाले दुई देशका सेनाबीचको उत्कृष्ट सम्बन्ध र सहकार्य नेपाल–भारतबीच रहेको सुमधुर सम्बन्धको उदाहरणको रुपमा रहेकोे बताउनुभयो ।

यस्तै, भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले भारतीय सेना राष्ट्रनिर्माणको सुरक्षा कवचको रुपमा रहेको चर्चा गर्नुभयो । साथै, ‘नेपाली गोर्खा सैनिक’ले दुई देशलाई अटुट सम्बन्धमा जोड्ने कार्य गरिरहेको चर्चा गर्दै उहाँले उनीहरूको निःस्वार्थ सेवाभाव तथा त्यागप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

उहाँले अवकाशप्राप्त पेन्सनवाला भारतीय सैनिक र नेपालमा बसोबास गरिरहेका तिनका परिवारको सेवाका साथै उनीहरूको स्वास्थ्य तथा सुविधाको हेरचाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्र निर्माणमा नेपाली गोर्खा सैनिकको अथक प्रयासको प्रंशसा पनि गर्नुभयो ।

कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति र भारतीय राजदूतावासका कार्यवाहक राजदूतले भारतीय सेनाका वीरता–पुरस्कारविजेता गोर्खा सैनिकहरूलाई सम्मान गर्नुभयो । सो समारोहमा नेपाली सेनाका अधिकारी, विभिन्न राजदूतावासका सैनिक सहचारी, सरकारी र नागरिक उच्च–पदाधिकारी तथा भारतीय राजदूतावासका अधिकारीहरू उपस्थित थिए ।