आमाको मन

आमाको मन


■ आचार्य प्रभा

आज छोरा-छोरी होस्टेलबाट घर आउने दिन । आमाको मन ! आफ्ना नानी-बाबुले होस्टेलमा भनेजस्तो खान पाउँदैनन् भनेर हतार-हतार गरी दाल/भात/तरकारी/मासु/घ्यु/दुध/दहीसहित साँझको खाना तयार गरिन् र बेचैनीका साथ छोरा-छोरीको प्रतीक्षामा बसिन् । केही समयपश्चात बाबाले छोरा-छोरी ल्याइपुऱ्याए । आमा खुशीले प्रफुल्ल बन्दै ढोकामा पुगिन् । आमालाई देखेर छोरी मुसुक्क गर्दै हुर्रिएर आफ्नो कोठामा पसिन् । छोरा साथीसँगको कुराकानीमा कानमा फोन टसाउँदै कोठामा पस्यो । आमा केही क्षण निःशब्द बनिन्।

केही समयसम्म पर्खिंदा पनि छोरा-छोरी आफूनजिक नआउँदा आमाले सोचिन्- ‘भोकाएका होलान्, पहिला तात्तातै खाना खुवाइहाल्छु त्यसपछि कुरा गरौँला !’ आमा छोरा-छोरीलाई खाना खान बोलाउँदै उनीहरु नजिक गइन् । ‘ल-ल खाना खाइहाल पहिला । मैले तिमीहरुलाई मनपर्ने सबथोक बनाएकी छु, सेलाउँछ ऐले ।’

छोरीले जवाफ दिइन्- ‘आमा पनि क्या कुरा गरिसिन्छ ! कहाँ बेलुका पनि भात खानु ? म त डाइटिङमा बसेको छु। बेलुका त हल्का-फुल्का स्न्याक्स मात्र खान्छु।’

अर्को कोठाबाट छोराले पनि जवाफ दियो। ‘आमा.. म त साथीसँग डिनरमा बाहिर खाना खाने भन्ने सल्लाह छ, खान बाहिर नै जान्छु।’

आमा स्तब्ध बनिन् र चुल्होमा तताइरहेको खानामा पुलुक्क हेरेर निन्याउरो मुख लाउँदै आफ्नो कोठामा पसिन् ।