‘नेपालमा सङ्घीयताको आरम्भ भए पनि यो जन्मिँदै विकलाङ्ग’ : उपेन्द्र यादव

‘नेपालमा सङ्घीयताको आरम्भ भए पनि यो जन्मिँदै विकलाङ्ग’ : उपेन्द्र यादव


■ हेमशंकर सिंह, वीरगञ्ज

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालमा सङ्घीयताको आरम्भ भए पनि सङ्घीयता विकलाङ्ग भएर जन्मेको टिप्पणी गरेका छन् ।

प्रदेश २ सरकारले आइतबार वीरगञ्जमा आयोजना गरेको बलिदानी दिवस तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले त्यस्तो टिप्पणी गरेका हुन् ।

आवरणमा सङ्घीयता देखिए पनि भित्री रुपमा यो नियन्त्रित र एकात्मक रहेको आरोप लगाउँदै यादवले भने– ‘सङ्घीयता जन्मिँदै विकलाङ्ग छ, तथापि जसरी कुनै बच्चा अपाङ्ग भएर जन्मे पनि चित्सिकहरूले उपचार गरेर हिँडडुल गर्न योग्य बनाइदिन्छन्, त्यस्तै आशा गरौँ विकलाङ्ग सङ्घीयता पनि बिस्तारै ठिक हुनेछ ।’

सङ्घीयतालाई ठिक पार्ने एक मात्र उपाय संविधान संशोधन रहेको र त्यसका लागि उपयुक्त बाटो संवैधानिक बाटो संविधान संशोधनको बाटो नै तत्कालका लागि आफूहरुले रोजेको भन्दै यादवले भने आवश्यकता परे जनविद्रोहको माध्यमले वर्तमान संविधानलाई फालिने छ ।

सोही कार्यक्रममा बोल्दै प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउतले संशोधनविना वर्तमान संविधान सबैको संविधान हुन नसक्ने बताए । वर्तमान संघीय सरकारले प्रदेश र स्थानीय तहलाई लडाउन खोजेको आरोपसमेत उनले लगाए । सङ्घीयताको अवधारणाअनुसार स्थानीय तहमाथि प्रदेश सरकारको नियन्त्रण हुनुपर्ने जिकिर उनले गरे ।

प्रदेश नं २ का भौतिक पूर्वाधारमंन्त्री समेत रहेका राजपा संसदीय दलका नेता जीतेन्द्र सोनलले भने दुई तिहाईविना संविधान संशोधन हुन नसक्ने भएकाले सेन्टीमेन्टमा बग्नु भन्दा पनि रणनितीका साथ अघि बढ्नुपर्ने बेला आएको तर्क गरे ।

सोही अवसरमा मधेश आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर मारिएकाको परिवारलाई प्रदेश सरकारले नगद २५ हजारसहित सम्मान गरेको थियो ।

pict: rss