ल्होछारको अवसरमा हेटौँडामा महोत्सव आयोजना गरिँदै

ल्होछारको अवसरमा हेटौँडामा महोत्सव आयोजना गरिँदै


ल्होछारका अवसरमा वाग्मती प्रदेशको राजधानी हेटौँडामा ल्होछार महोत्सव हुने भएको छ । फाग–ल्हो (बँदेल वर्ग) लाई बिदाइ गरी जिवा–ल्हो (मुसा वर्ग)लाई स्वागत गर्दै मनाउन लागिएको सोनाम ल्होछार २८५६ का अवसरमा माघ १० र ११ गते महोत्सव आयोजना गर्न लागिएको हो ।

वाग्मती प्रदेश सरकारले ल्होछारको अवसरमा यही माघ १० गते सार्वजनिक बिदाको घोषणा गरेको छ । प्रदेशको नामकरण र स्थायी राजधानी तोकिएपछि बसेको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ल्होछारका अवसरमा माघ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तामाङ समुदायको सबैभन्दा ठूलो पर्व सोनाम ल्होछारका अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेसँगै प्रदेशका बौद्धमार्गी तामाङ समुदाय उत्साहित भएका छन् ।

प्रदेशका तामाङ जातजातिका गुठी, गुम्बा, तामाङ घेदुङ, ह्याङ्ला तामाङ समाजलगायत विभिन्न सङ्घसंस्थाको आयोजनामा दोस्रो सोनाम ल्होछार महोत्सव २८५६ आयोजना गर्न लागिएको ल्होछार महोत्सव मूल समारोह समितिका संयोजक आत्माराम मोक्तानले जानकारी दिएका छन् ।

महोत्सवमा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति ‘खुला सेलो नृत्य प्रतियोगिता’, ‘विभिन्न खेल’, महिला झाँक्रीको विशेष प्रस्तुति, पूजापाठ तथा तामाङ संस्कृति झल्कने विभिन्न प्रस्तुति एवं जातीय परिकार र सामग्रीका व्यापारिक कक्षसमेत रहने प्रचारप्रसार संयोजकसमेत रहेका सञ्चारकर्मी दिलबहादुर लामाले बताए । महोत्सवका अवसरमा तान्बा बोन्पो, लामा झाँकी, विभिन्न वेषभूषासहितका सहभागीको ऱ्यालीले हेटौँडा बजार परिक्रमा गर्ने नेपाल तामाङ युवा घेदुङका जिल्ला अध्यक्ष सुनिल लोप्चनले जानकारी दिए ।

file picture