प्रस्तावित सूचना प्रविधि विधेयकको विरोधमा काङ्ग्रेसले बुझायो ज्ञापनपत्र

प्रस्तावित सूचना प्रविधि विधेयकको विरोधमा काङ्ग्रेसले बुझायो ज्ञापनपत्र


सरकारद्वारा प्रस्तावित सूचना प्रविधि विधेयकको विरोधमा नेपाली काङ्ग्रेसले आइतबार (५ माघ) सरकारलाई ज्ञापनपत्र बुझाएको छ । अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने नियतले विधेयक आएको भन्दै त्यसको विरोधस्वरुप जिल्ला प्रशासन कार्यालयमार्फत् ७७ वटै जिल्लामा ज्ञापनपत्र बुझाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सरकारले ल्याएको नेपाल सेवा विधेयक र विकास तथा प्रविधि समितिबाट पारित सूचना प्रविधि विधेयकको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विरोध गर्दै आएको छ । उक्त विधेयक संसदको विकास तथा प्रविधि समितिबाट पारित भएर संसदमा पेश हुने क्रममा रहेको छ ।

काङ्ग्रेसले काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुमार्फत सरकारलाई विरोधपत्र बुझाएको नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति सवुज बानियाँले बताए । काङ्ग्रेसले सरकारको उक्त कदमलाई गम्भीर रुपमा लिएको र विधेयक नसच्याए आन्दोलनका अन्य कार्यक्रम घोषणा हुने चेतावनी बानियाँले दिएका छन् ।