सप्तरीमा छोरी शिक्षा बीमा र मुद्दती बचत खाता कार्यक्रम आरम्भ

सप्तरीमा छोरी शिक्षा बीमा र मुद्दती बचत खाता कार्यक्रम आरम्भ


राजविराज । प्रदेश न. २ की उपसभामुख उपमा देवले सप्तरीको बोदेबरसाइन नगरपालिकाबाट जिल्लामा छोरी शिक्षा बीमा र मुद्दती बचत खाता कार्यक्रमको शुभारम्भ गरेकी छिन् ।

बोदेबरसाइन नगरपालिकाद्वारा बिहीबार स्थानीय महेन्द्र चुन्नी माविमा आयोजित एक कार्यक्रमका बीच उपसभामुख देवले प्रदेश २ सरकारले अघिसारेको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बीमा र मुद्दती बचत खाता कार्यक्रमको शुभारम्भ गरेकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख देवले छोरीलाई शिक्षित र आत्मनिर्भर बनाउन प्रदेश सरकारले छोरी शिक्षा बीमा र मुद्दती बचत खाता कार्यक्रम शुरु गरेको बताए । मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रमकी प्रदेश निर्देशक समितिकी सदस्यसमेत रहेकी जिल्ला संयोजक दिलकुमारी चौधरीले २०७५ सालको माघ १ गतेदेखि हालसम्म जन्मिएकी सबै बालिकाको बीमा गरिने जानकारी दिइन् ।

प्रदेश सरकारको तर्फबाट एक लाख र प्रभु बैकको तर्फबाट २५ हजार गरी प्रत्येक बालिकाको २० वर्षका लागि १ लाख २० हजारबराबरको शिक्षा बीमा भइरहेको जानकारी समेत चौधरीले दिइन् । शिविरको पहिलो दिन बिहीबार १०७ जना बालिकाको स्वास्थ्य जाँच र शिक्षा बीमा गरिएको नगर उपप्रमुख अन्जु कुमारी साहले बताइन् । यस्तै, शनिबारदेखि तिरहुत गाँउपालिका, डाक्नेश्वरी, हनुमानगर कंकालिनी, कंचनरुपसहितका नगरपालिका र गाउँपालिकामा शिविरकै रुपमा कार्यक्रम संचालन गरिएको छ ।

प्रदेश २ सरकारले भने सो कार्यक्रम माघ महिनाभरि प्रदेशको आठवटै जिल्लामा सञ्चालन गर्ने जनाएको छ । प्रदेशभरी शुक्रबारदेखि नै सरकारले कार्यक्रमको शुभारम्भ गरेको छ ।