पर्यटन प्रवर्द्धन गर्न कोलम्बोमा निजी हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध फुकुवा

पर्यटन प्रवर्द्धन गर्न कोलम्बोमा निजी हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध फुकुवा


श्रीलङ्काका राष्ट्रपति गोताबाया राजपाक्षेले राजधानी कोलम्बोको मध्यभागबाट निजी अपरेटरले हेलिकोप्टर उडान गर्नमा विगत २५ वर्षदेखि लगाइँदै आएको प्रतिबन्ध हटाइएको घोषणा गरेका छन् । देशमा पर्यटन प्रवर्द्धन गर्न गर्नका लागि प्रतिबन्ध फुकुवा गरिएको बताइएको छ ।

श्रीलङ्काको नागरिक उड्ययन प्राधिकरणका अनुसार अब उप्रान्त श्रीलङ्काका निजी हेलीकोप्टर पनि रक्षा मन्त्रालयको अधिनमा रहेको ‘गेल फेस’बाट उडान भर्न वा अवतरण गर्न पाउने छन् ।

सुरूमा यसका लागि सरकारले प्रमुख चार विमान कम्पनीले पुनः सेवा सञ्चालन गर्ने बताइएको छ । यो अवसरका लागि आफूहरू लामो समयदेखि पर्खिरहेका भन्दै उडान क्षेत्रसम्बद्ध व्यवसायीहरूले श्रीलङ्काको उड्ययन इतिहासमा यो एउटा प्रमुख उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

निजी विमान कम्पनीलाई दिइएको यस अनुमतिले देशको पर्यटन र अर्थतन्त्रमा थप टेवा पुऱ्याउन सकिने भन्दै उनीहरूले भनेका छन्– ‘श्रीलङ्का आउने धेरै खर्च गर्नसक्ने पर्यटकको चाहना छोटो समयमा प्रमुख पर्यटकीयस्थलमा पुग्ने र त्यहाँका मनोरम दृश्यको आनन्द लिने रहने गरेको थियो तर निजी विमानले अवतरण वा उडान गर्नका लागि स्थान नै नपाउँदा यो सेवा दिन निजी विमान सेवा प्रदायकलाई सम्भव थिएन ।’

श्रीलङ्काले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ भने सन् २०२५ सम्म यो सङ्ख्यालाई एक करोड पुऱ्याउने महत्वाकांक्षी योजना ल्याएको एएफपीले जनाएको छ ।

गत वर्ष श्रीलङ्कामा १९ लाख पर्यटक भित्रिएका थिए भने बितेको डिसेम्बरमा मात्र दुई लाख ४० हजार पर्यटक त्यहाँ पुगेका श्रीलङ्काको पर्यटन विकास प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।