जापान सरकारद्वारा ब्याडमिन्टन खेल सामाग्री हस्तान्तरण

जापान सरकारद्वारा ब्याडमिन्टन खेल सामाग्री हस्तान्तरण


जापानी सरकारको ‘स्पोर्ट्स फर टुमरो’ कार्यक्रमअन्तर्गत निप्पन ब्याड्मिन्टन संघले नेपाल ब्याडमिन्टन संघलाई खेल समाग्री उपलब्ध गराएको छ ।

जापानी राजदुतावासमा आयोजित एक कार्यक्रमबीच जापानका परराष्ट्र मन्त्रालयका उपमन्त्री नोरिहिरो नाकायामाले नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलाई ब्याडमिन्टन ऱ्याकेट उपलब्ध गराएका थिए ।

स्पोर्ट्स फर टुमरो, टोकियो ओलम्पिक्स र पारालम्पिक्स २०२० को प्रवद्र्धन परियोजना हो । यसअन्तर्गत जापान सरकारले सन् २०२० मा टोकियो ओलम्पिक सुरु हुँदा सम्म एक करोडभन्दा बढीलाई खेलमार्फत सहयोग गर्ने लक्ष्य लिएको छ । निप्पन ब्याड्मिन्टन संघले ८० ब्याड्मिन्टन र्याकेट प्रदान गरी नेपालको ब्याड्मिन्टनलाई सहयोग गरेको हो ।

सो अवसरमा नेपालका लागि जापानका राजदुत मासामिची साइगोले नेपाली ब्याडमिन्टनलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । यसैगरी नेपाल ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठले जापानले नेपालका ब्याडमिन्टन खेलाडीलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।