थारुको भोट बटुल्न प्रचण्डले झुठो अभिव्यक्ति दिएको लेखीको टिप्पणी

थारुको भोट बटुल्न प्रचण्डले झुठो अभिव्यक्ति दिएको लेखीको टिप्पणी


■ हेमशंकर सिंह, राजविराज

आदिवासी जानजाति नेता राजकुमार लेखीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले रेशम चौधरी छिट्टै जेलमुक्त हुन्छन् भनी दिएको अभिव्यक्ति सस्तो लोकप्रियता र थारुको भोट बटुल्नको लागि मात्र भएको टिप्पणी गरेका छन् । सप्तरीको महुलीमा बिहिबार आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै लेखीले प्रचण्डले भन्दैमा थारु नेता चौधरी रिहाई नहुने, हुने भए एक वर्षपहिले नै हुने थिए भन्ने धारणा राखे ।

नेता लेखीले भने, ‘सस्तो लोकप्रियताका लागि पटकपटक प्रचण्डजीले यस्तै झुटो आश्वासन दिन्छन् । प्रचण्ड आदालत हो र ?’ २० लाख थारुको भोट बटुल्न प्रचण्डले झुठो बोल्ने गरेको आक्रोश पोख्दै लेखीले भाषणको पछि लागेर थारु, आदिवासी आन्दोलनलाई कमजोर नपार्न आग्रह गरे ।

प्रचण्डले बुधबार काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवमा बोल्दै रेशम चौधरी छिट्टै छुट्ने, उनलाई छुटाउन आफूले विशेष कदम चाल्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति स्वार्थप्रेरित रहेको लेखीको आरोप थियो । उत्पीडित जनताको लागि रेशमसँगै आफू पनि आजीवन जेल बस्न तयार रहेको भन्दै उनले ओली, प्रचण्ड र देउवालगायत चार पाँच जना नेताका कारण देशमा अशान्ति, बेथिति र विद्रोह उत्पन्न भएको आरोपसमेत लगाए ।

नाचगान गरेर मात्र अधिकार पाउन नसकिनेमा जोड दिँदै उनले उत्पीडन र विभेदबाट मुक्तिका लागि आन्दोलनको विकल्प नरहेको बताए । गाउँघरमा दबिएर ओझेलमा परेको माघी पर्वको उजागर गर्न ०६३ सालदेखि काठमाडौको टुँडिखेलबाट शुरु गरेको माघी गाउँटोलसम्म विस्तार भएको भन्दै लेखीले खुशी व्यक्त गरे । लेखीले माघीलगायतका साँस्कृतिक चाडलाई महोत्सवको रुपमा मनाउदै अधिकार लागि विचार आदानप्रदान गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिए ।

माघी महोत्सव २०७६ मुल आयोजक समिति अग्निसाइर कृष्णासवरन गाउँपालिकाका संयोजक शिवनन्दन लेखीको अध्यक्षतामा आयोजित कार्यक्रममा आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, अग्निसाइर कृष्णासवन गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कुशुम आचर्य, नेकपा जिल्ला सदस्य बोधराज सुवेदी, थारु नेता माधव चौधरी लगायतले माघीले नेपालीहरुबीच आपसी एकता, सद्भाव, कायम गर्दै देशको विकास र समृद्धिका लागि सफलता हासिल गरोस् भनी शुभकामना व्यक्त गरे ।

कार्यक्रममा थारु पहिचान झल्कने गीतसंगीत र नृत्य प्रस्तुत गरिएको थियो । महोत्सवमा थारु पहिचान झल्कने सामाग्री र थारु परिकारहरुको प्रदर्शनसमेत गरिएको थियो ।