‘आफ्नो शक्ति र सामर्थ्य चिनेर प्रयोग गर्न नसक्दा नेपाल पछि पऱ्यो’ : डा. दीपक ढुङ्गाना

डा. दीपक ढुङ्गाना गैरआवासीय नेपाली सङ्घ (ICC) साथै अष्ट्रियावासी नेपालीहरूका लागि कुनै नयाँ नाम होइन । स्याङ्जा जिल्लाको वालिङमा ३८ वर्षअघि जन्मेका ढुङ्गाना दुई दाजुभाइमध्ये जेठो सन्तान हुन् । पोखराको गण्डकी बोर्डिङ स्कुलबाट औपचारिक शिक्षा शुरु गरेका ढुङ्गानाले एसएलसीपछि प्लस टु काठमाडौंको सेन्टजेभियर्सबाट गरेका थिए भने अष्ट्रियाको सङ्घीय राज्य अपर अष्ट्रियाको राजधानी मानिने औद्योगिक सहर लिंजमा अवस्थित जोहानेस केप्लर युनिभर्सिटीबाट आफ्नो उच्च शिक्षाको पढाइ सुरु गरे । बीएस्सी, एमएस्सी हुँदै Informatik मा विद्यावारिधि (पीएचडी) गरेलगत्तै आयरल्यान्डको लिमरिक युनिभर्सिटीबाट पोस्ट डक गरेपछि अष्ट्रियाको भियनामा अवस्थित Technical University (TU) मा सहायक प्राध्यापकका रूपमा पढाउन शुरु गरे । समयक्रमसँगै जर्मनकै विश्वविख्यात कम्पनी Siemens मा सिनियर रिसर्च वैज्ञानिकका रूपमा केही वर्ष काम गरिसकेका डा. ढुङ्गाना विगत एक वर्षदेखि University of Applied Science Austria FH Krems मा कम्प्युटर विज्ञान विभागका प्रमुख रहेका छन् । गैरआवासीय नेपाली सङ्घ अष्ट्रियामा दुई कार्यकाल सफल महासचिव रहिसकेका ढुङ्गाना नेपालमा खुला विश्वविद्यालयको शुरुवात गर्नुपर्छ भन्नेमध्येका एक हुन् । nepali.at मार्फत अष्ट्रियामा बसोवास गरिरहेका नेपालीलाई विश्वमा चिनाउने प्रयास गरिरहेका ढुङ्गानासँग वर्तमान नेपाली शिक्षा प्रणाली, गैरआवासीय नेपाली सङ्घलगायतका विषयमा घटना र विचारका अष्ट्रियाका विशेष प्रतिनिधि सागर सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :



० आममानिसबीच एकखालको कुतूहल वा चासो रहने गरेको छ कि सेन्ट जेभियर्स काठमाडौंमा अध्ययन गरेका विद्यार्थी सबैजसोले उच्च शिक्षाका लागि विदेश नै रोज्छन्, किन होला ?
– सेन्ट जेभियर्स पढेका हरेक विद्यार्थीले उच्च शिक्षाका लागि विदेश नै रोज्छन् भन्ने भनाइमा म सतप्रतिशत सहमत छैन । अहिले नेपालमा केही कलेजले विदेशी विश्वविद्यालयमा दिइने गुणस्तरको पाठ्यक्रमबाट शिक्षा दिइरहेका छन् । तर, केही विद्यार्थी नेपालको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आफ्नो भविष्य नदेखेर विदेशका विश्वविद्यालयप्रति आकर्षित भए होलान्, ठ्याक्कै यही कारण भन्ने मेरो जानकारीमा छैन ।

० तपाईं ‘सिमेन्स’ जस्तो एक विश्वविख्यात कम्पनीको सिनियर रिसर्च साइन्टिसले सजिलै राजीनामा दिएर विश्वविद्यालयको एक सङ्काय प्रमुखमा किन आउनुभयो ?
– म ‘सिमेन्स’मा सिनियर अनुसन्धान वैज्ञानिक थिएँ, तर कम्पनीको नीतिअनुरूपको काम गर्नुपर्ने हुन्थ्यो । करिअर मात्र हर्ने हो भने मेरो लागि त्यही पनि उत्तम हुन सक्थ्यो, तर मैले गर्ने जति अनुसन्धान हुन्थे ती अनुसन्धान कम्पनीको पोलिसीअनुसार हुन्थे, साथै कम्पनीले आफ्नो व्यावसायिक फाइदाको लागि बनाउने नीतिअनुरूपका अनुसन्धान गरिन्थे भने अहिले म यहाँ आफ्नो तवरको अनुसन्धान गर्न सक्छु । सोहीअनुरूपको पाठ्यक्रमलार्ई विकास गर्न सक्ने भएँ । विश्वविद्यालयहरू स्वायत्त हुन्छन्, यहाँ कुनै व्यापारसँग फोकस नगरी समग्र मानवजीवनको लागि कुन प्रविधि आवश्यक छ भन्ने सवालमा पाठ्यक्रम निर्माण गरिनुका साथै आउने दशकसम्मको लागि मानव जीवनमा कुन प्रविधि आवश्यक पर्दछ भन्ने विषयलार्ई प्राथमिकता दिएर काम गरिन्छ । तपाईंलार्ई भन्दा म ‘सिमेन्स’सँग रहँदा मात्र एक अनुसन्धान वैज्ञानिक हुन्थेँ भने यहाँ विश्वविद्यालयको एक सङ्काय प्रमुखमा रहँदा आधा दर्जनभन्दा बढी अनुसन्धान गर्ने वैज्ञानिक प्राध्यापक मेरोमातहतमा रहेर प्राध्यापन तथा अनुसन्धानको काम गर्नुहुन्छ ।

० वर्तमान प्राविधिक युगको एक युवा साथै एक अष्ट्रियन युनिभर्सिटीको सङ्कायको प्रमुखको नाताले यहाँबाट नेपालको वर्तमान शिक्षा–प्रणालीलाई कसरी हेर्नुभएको छ ?
– हामी नेपालको विश्वविद्यालयस्तरको पढाइबारे कुरा गर्दा त्यहाँ पढाइ हुने करिकुलम यहाँको जस्तो चाँडो अपडेट नभएको पाएको छु । एक अर्थमा भन्दा यहाँका विश्वविद्यालयका करिकुलमहरू एकप्रकारको डाइनामिक नै हुन्छन्, जस्तो कि प्रत्येक वर्ष र तीन वर्षमा परिवर्तन भइरहेका हुन्छन् भने नेपालमा दशौँ वर्ष पनि उही पाठ्यक्रममा पढाइ भइरहेको हुन्छ । राम्रोसँग त मैले पनि हेरेको छैन, तर नेपालको कम्प्युटर साइन्सको करिकुलमहरू यहाँभन्दा केही वर्ष नै पछाडि छ जस्तो लाग्छ ।

नेपाल गरिब भएको पैसा नभएर, लगानी गर्ने मान्छे या संस्था नभएर भन्ने विषयमा पटक्कै सहमत छैन । नेपालमा पैसा जहाँतहीँ छ । नेपालको महँगी युरोपभन्दा बढी छ, तर कमाइ छैन । तैपनि सबै त नभनौँ नेपालीको सान कुनै युरोपियनहरूको भन्दा कम छैन ।

० नेपालजस्तो विकासको चरणमा प्रवेश गर्दै गरेको विकासोन्मुख देशले अलमलमा रहेको शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको बनाउन रणनीतिक रूपमा कस्ता अवधारणा तय गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
– मैले नयाँ यस्तै भन्ने त खासै केही छैन कि यस विषयमा सबै शिक्षाविद्हरू जानकार हुनुहुन्छ जस्तो लाग्छ । तैपनि हामीले अरू विश्व तथा अष्ट्रियालार्ई हेरेर पनि एक दृष्टिकोण बनाउन सकिन्छ । यहाँ सबै नागरिक विश्वविद्यालय गएका छैनन्, यहाँ सबैभन्दा प्राथमिकता भनेको प्राविधिक शिक्षामा छ, जसलार्ई मिडल क्वालिफाइड व्यक्तिहरूले नै राज्यलार्ई योगदान दिएका छन्, शिक्षित हुनलार्ई विश्वविद्यालय नै जानुपर्छ भन्ने किसिमको शिक्षा प्रणाली यहाँ छैन । नेपालको सन्दर्भमा हेर्दा छन त छ, तर अति नै कम स्तरमा भइरहेको पाएको छु । देश विकासको मेरुदण्ड भनेको स्किल मेनपावर पनि हो र राज्यले पनि सोहीअनुरूपका स्किल मेनपावर उत्पादन गरी काममा लगाउन सकिने नीति तर्जुमा गर्नुपर्ने मेरो बुझाइ छ ।

० भनेपछि नेपालको शिक्षा–प्रणालीलार्ई परिमार्जित नै गर्नुपर्छ भन्न खोज्नुभएको हो ?
– हो, परिमार्जित गर्दै प्राविधिक शिक्षालाई राज्यले लगानी गर्नुपऱ्यो, देश विकास हुनका निमित्त सबैले मास्टर डिग्री या विद्यावारिधि गरेको हुनुपर्दैन, जनस्तरमा काम गर्न सक्ने प्राविधिक हुनुपऱ्यो । मैले भन्न खोजेको नेपालमा तीन महिना या ६ महिनाको इलेक्ट्रिसियन तालिम दिइन्छ नि, त्यो होइन, थोरैमा पनि २ या ३ वर्षको कक्षा सञ्चालन गरेर दक्ष प्राविधिक बन्ने किसिमको तालिम दिनुपऱ्यो, चाहे त्यो टेक्निकल क्षेत्रमा होस् चाहे त्यो स्वास्थ्य क्षेत्रमा होस् ।

० देशको वर्तमान अवस्थाबारे कत्तिको चासो राख्नुहुन्छ नि ?
– राखिन्छ नि ! आफू जन्मेको, हुर्केको देशको माया र चासो कसलार्ई हुँदैन र ?

० मेरो देश यस्तो बनिदियोस् भन्ने अपेक्षा कत्तिको हुन्छ ?
– हुन्छ नि, अवश्य हुन्छ । देशमा दक्ष जनशक्ति नै नभएर देश नबनेको भनेर म भन्दिनँ । पढेलेखेका मानिसले विदेशमा नै भविष्य खोजेको कारण देशको विकास नै नभएको भन्ने पनि मलार्ई लाग्दैन । तर, नेपालमा भएका मेनपावरको आइडिया या स्किललाई प्रयोग गर्न सक्ने वातावरण नै बनेको छैन । मेरो अपेक्षा सधैँ यही हुन्छ कि देशले आफ्नो देशको शक्ति अनि सामर्थ्यलाई चिनोस् अनि प्रयोग गरोस् । व्यक्तिगत फाइदाभन्दा समग्र देशको फाइदालाई ध्यान दिएर पोलोटिकल लेभलबाट काम गर्ने हो भने फरकचाहिँ पक्कै हुनेछ ।

डा. ढकालले ओपेन युनिभिर्सिटीको अवधारणा अघि सार्नुभयो । अति मिहिनेत गर्नुभयो । कानुन बनाउनेदेखि लिएर सम्पूर्ण कार्य रातदिन नभनी गर्नुभयो । तर, जुन दिन उहाँले शुरु गरेको या उहाँको ‘कन्सेप्ट’को युनिभर्सिटी तयार भयो त्यही दिन उहाँलाई नै त्यहाँबाट गलहत्याइयो । अब आफैँ भन्नुहोस् मजस्तो व्यक्ति के देखेको आधारमा नेपाल गएर काम गर्ने ?

० तपाईंजस्ता व्यक्तिहरू (जो विश्वभरमा हुनुहुन्छ) को सीप, सामर्थ्यलाई नेपाल सरकारले प्रयोग गर्न सक्छ ? अथवा, कस्तो वातावरण निर्माण भएको खण्डमा तपाईंजस्ता व्यक्तिहरूले देशको समग्र विकासमा टेवा पुऱ्याउन सक्छन् ?
– हेर्नुहोस्, सक्छन् तर त्यो तहबाट पहल भएको पाएको छैन । म तपाईंलार्ई केही विस्तृतमा प्रस्ट्याउँछु– मलाई यहाँ अनुसन्धानको क्षेत्र खोज्न अत्यन्त कठिन छ, यो कठिनाइ हरेक अतिविकसित देशहरूमा लागू हुन्छ, तर नेपालको परिप्रेक्षमा हेर्ने हो भने नेपालभित्र अनुसन्धानका क्षेत्रहरू जहाँतहीँ छन्, काम गर्न अत्यन्त सजिलो छ किनकि जहाँतहीँ समस्याहरू मात्र छन् । यहाँ हामीहरू काम गर्दै जाँदा समस्या पहिल्याउन नै गाह्रो हुन्छ भने नेपालजस्तो मुलुकमा समस्यासँग जहाँ पनि ठोक्किने अवस्था छ । तर, ती समस्यामा काम गर्ने अवस्था नै छैन । देश विकासको प्रमुख शुरुवाती अवस्था भनेको नेतृत्वकर्ताको भिजनको कुरा आउँछ । यहाँ मैले राजनीतिज्ञ मात्र भन्दिनँ, हामीले जुनसुकै क्षेत्रको नेतृत्वकर्तालाई हेऱ्यौँ भने त्यही समस्या देख्छौँ, सर्वप्रथम भिजन बनाउने ठाउँमा भएको व्यक्ति स्वयम्को भिजन राम्रो हुनुपऱ्यो, तर नेपालमा त्यसको उल्टो छ । त्यसैले मजस्ता हजारौँ विश्वभर रहेका साथीहरूलाई गाह्रो हुन्छ, तर केही साथीहरूले यस्तै अवस्थामा पनि केही गर्छु नै भनेर नेपाल फर्केर काम गर्दै रहेको अवस्था पनि छ । यसमा राजनीतिक, व्यापारी अनि जनस्तरबाट काम गर्ने वातावरण तथा बजेटको व्यवस्था गरिदिन सक्नुपऱ्यो । अझै थप्दा विश्व डिजिटल बनेर काम गर्न थालेको वर्षौं भइसक्यो, नेपालमा अझै पनि कागजी फाइलमै काम भइरहेको देखिन्छ । विश्वसँग अपडेट हुन नसकेको कारण राज्यले आफूलार्ई विकसित गर्नेतर्फ लागेको तर कछुवाको गतिमा विकास गरिरहेको देखिन्छ ।

० तपाईंजस्तो एकेडेमिक स्किललाई विदेशस्थित कूटनीतिक नियोगहरूले, स्वदेशभित्र प्रयोग गर्ने हेतुले, देशलाई दिन सक्ने योगदानका विषयमा चासो राखेको पाउनुभएको छ ?
– त्यस्तो खालको ‘इनिसियटिभ’ आजसम्म मैले पाएको छैन । तर, गैरआवासीय नेपाली सङ्घले अघि सारेको ओपेन युनिभर्सिटीका विषयमा गैरआवासीय नेपाली सङ्घभित्र चाहिँ बहस भएको हो । तर, म तपाईंलार्ई यही विषयमा केही भन्न चाहेँ– देशलाई केही गरौँ भन्ने उद्देश्य बोकेर क्यानडाबाट आफ्नो प्राध्यापन पेसा छोडेर डा. प्रमोद ढकाल नेपाल फर्किनुभयो । त्यो समयमा मेरो उहाँसँग त्यति निकटता नभए पनि अहिले सामीप्यता छ । डा. ढकालले ओपेन युनिभिर्सिटीको अवधारणा अघि सार्नुभयो । अति मिहिनेत गर्नुभयो । कानुन बनाउनेदेखि लिएर सम्पूर्ण काममा रातदिन नभनी काम गर्नुभयो । तर, जुन दिन उहाँले शुरु गरेको या उहाँको ‘कन्सेप्ट’को युनिभर्सिटी तयार भयो त्यही दिन उहाँलाई नै त्यहाँबाट गलहत्याइयो । अब आफैँ भन्नुहोस् मजस्तो व्यक्ति के देखेको आधारमा नेपाल गएर काम गर्ने ? उहाँ अझै पनि जुध्दै हुनुहुन्छ, तर कहिलेसम्म ? तसर्थ, राजनीतिक लेबलबाट यस्ता क्रियाकलाप नरोकिएसम्म कसैले प्रयास गर्दै केही होला जस्तो मलार्ई लाग्दैन भन्ने मेरो बुझाइ हो ।

० केन्द्रीय स्तरमै कुनै पदमा नरहेर नै गैरआवासीय अभियानमा जोडिएको व्यक्ति हुनुहुन्थ्यो, दुई वर्ष अष्ट्रियन राष्ट्रिय को–अर्डिनेटर बनेर काम पनि गर्नुभयो । गैरआवासीय नेपाली सङ्घ अष्ट्रियाको महासचिव पनि भइसकेको व्यक्तिको नाताले भन्दा ‘एनआरएनए’को भविष्य कस्तो देख्नुहुन्छ ?
– यहाँ ठूलो समस्या छ । समितिको एक कार्यकाल जम्मा दुई वर्षको छ । हरेक दुई वर्षपछि नेतृत्वमा आउने व्यक्तिले अघिल्लो कार्यकालमा भए–गरेका हरेक विषयलाई ध्वस्त गरेर आफ्नो पाराले काम गरिरहेको अवस्था छ । गैरआवासीय सङ्घका जुन कार्यक्रमहरू छन् तिनीहरूको लङटम्र्स स्ट्रयाटिजी पनि देखिइरहेको छैन । ओपेन युनिभर्सिटी पनि एक उदाहरण थियो, त्यो सम्भव बनाइएन । ‘एनआरएनए’ले दीर्घकालीन १० होइन ५० वर्ष लगाएर काम गर्दै जाने प्रोजेक्टहरूमाथि काम गर्नुपर्ने हुन्छ । यस्ता भिजनमा कोही गएको मैले देखेको छैन । ‘एनआरएनए’ले एक ट्वाइलेट तथा एक स्कुल बनाएर न देश बन्छ न संस्थाको भविष्य बन्छ । एक स्कुलले एक गाउँ, एक ट्वाइलेटले एक परिवारलाई सहयोग पुग्ला, तर देशलाई केही पनि हुँदैन । यस्ता सर्टटम्र्सका प्रोजेक्टभन्दा पनि धेरै फरक तबरले गएको खण्डमा केही होला कि ?

नेपालको संविधानमा तोकिएको गैरआवासीय नेपाली सङ्घका सदस्यको प्रमाणीकरण हावाको तालमा भएको देखेको छु । यहाँ आफ्नो पक्ष भए फोनको भरमा प्रमाणीकरण हुन्छ भने आफ्नो पक्ष होइन जस्तो लाग्यो भने सबै बुझाउँदा पनि आनाकानी गरिरहेको अवस्था छ ।

० सङ्घको भविष्यको विषयमा फ्याट्ट एक वाक्यमा तपाईंले देखेको भन्नु न !
– होइन सागरजी, एकै वाक्यमा कसलार्ई के नै भन्न सकिएला र ? तैपनि गैरआवासीय नेपाली सङ्घको कन्सेप्ट नराम्रो कहाँ छ र ? स्किल मेनपावर, पुँजी प्रयोग गरेर देशको विकासमा टेवा दिन्छु भन्नु नराम्रो कुरा होइन, तर ‘इम्प्लिमेन्टेसन’ जुन तवरले भइरहेको छ, त्यसको जुन पोटेन्सियल छ त्यहाँ गर्न सकिने सम्भावनाहरू छन् ती सबै प्रयोगमा छैनन् । ‘एनआरएनए’ समग्र गैरआवासीय नेपालीलाई आवश्यक छ, तर जस्तो तरिकाले अहिले काम भइरहेको छ, साथै नेतृत्वले जसरी काम गरिरहनुभएको छ त्यसमा ठूलो परिवर्तन आवश्यक छ ।

० के गैरआवासीय नेपाली सङ्घभित्र तपाईंले भनेजस्तो परिवर्तन नै ल्याउने खालका व्यक्ति छन् त ?
– ‘एनआरएनए’मा देखिएका नयाँ–पुराना अनुहारमध्येमा केही छन् । संस्थाभित्र त दुई या चारजनाको हाराहारीमा छन् जस्तो लाग्छ । तर, यी दुई या चारजनाले मात्र केही हुन सक्दैन । यी दुई–चारजनाहरूलाई नेपालको राजनीतिभित्र जे भइरहेको छ यहाँ पनि त्यही बनाइराखिएको जस्तो देखिन्छ । ‘एनआरएनए’भित्र जबसम्म कुन पार्टीको, कुन आस्थाको, कुन जातको, कुन समूहको उम्मेदवार भन्ने हुन्छ तबसम्म यो सङ्घमा केही पनि हुँदैन ।

० वर्तमान केन्द्रीय चुनावी प्रणाली, साथै गैरआवासीय नेपाली सङ्घको परिचयपत्र यी दुवै विषयलाई कसरी हेर्नुभएको छ ?
– सर्वप्रथम त यो सदस्यता प्रमाणित गर्ने प्रणाली नै त्रुटिपूर्ण छ । म यो किन भन्दै छु भने नेपालको संविधानमा तोकिएको गैरआवासीय नेपाली सङ्घका सदस्यको प्रमाणीकरण हावाको तालमा भएको देखेको छु । यहाँ आफ्नो पक्ष भए फोनको भरमा प्रमाणीकरण हुन्छ भने आफ्नो पक्ष होइन जस्तो लाग्यो भने सबै बुझाउँदा पनि आनाकानी गरिरहेको अवस्था छ । त्यसैले धेरै जनसङ्ख्या भएका मुलुकमा यो समस्या विकराल देखिन्छ । जब नेपालको संविधानमै गैरआवासीय नेपालीका लागि स्थान दिइएको छ भने विदेशमा रहेका गैरआवासीय नेपालीको सदस्यता प्रमाणित एनसीसीले मात्र किन गर्ने ? सरकारका आधिकारिक निकाय राजदूतावास छन् नि, एनसीसीको समन्वयमा राजदूतावासले सदस्यता प्रमाणित गर्ने पद्धति विकास गर्नुपऱ्यो, र मतदान पनि एनसीसीको समन्वयमा विश्वभर रहेका राजदूतावासमार्फत तथा यसले तोकेको प्रतिनिधि रहेको ठाउँबाट गराए भयो । यसरी गर्न सक्यो भने निर्वाचन पनि अधिक स्वच्छ हुन्छ भने अहिले जस्तो विवाद पनि हुँदैन । त्यसैमा विश्वभर रहेका गैरआवासीय नेपालीको मतले प्रतिनिधि चुनिने भयो । साथै वर्तमान महँगो निर्वाचन प्रणालीबाट पनि मुक्ति पाइने भइयो । अहिले कस्तो छ भने राजदूतावासले एनआरएन भनेर एउटा कार्ड दिन्छ, अर्को गैरआवासीय नेपाली सङ्घले दिन्छ, किन हामीलार्ई यी दुईटा कार्ड चाहियो ?

अहिले कस्तो छ भने राजदूतावासले एनआरएन भनेर एउटा कार्ड दिन्छ, अर्को गैरआवासीय नेपाली सङ्घले दिन्छ, किन हामीलार्ई यी दुईटा कार्ड चाहियो ?

० भनेपछि यो आईडी प्रणाली नै सच्याउनुपर्ने देख्नुभयो, होइन ?
– हो, हामीलार्ई यो दुईतर्फबाट दिइने परिचयपत्र आवश्यक छँदै छैन, नेतृत्व तहमा भएका साथीहरूले यस विषयमा तत्काल पहल गरुन् भन्ने मेरो आग्रह हो ।

० गैरआवासीय नेपाली सङ्घले नेपालको विकास (हुन त समृद्धि भन्ने शब्द जन्म भएको छ आजभोलि) मा कस्तो देन दिन सक्छ ? समग्रमा भन्दा गैरआवासीय नेपालीको पैसाले देश विकासमा कस्तो रोल खेल्न सक्छ ?
– नेपाल गरिब भएको पैसा नभएर, लगानी गर्ने मान्छे या संस्था नभएर भन्ने विषयमा पटक्कै सहमत छैन । नेपालमा पैसा जहाँतहीँ छ । नेपालको महँगी युरोपभन्दा बढी छ, तर कमाइ छैन । तैपनि सबै त नभनौँ नेपालीको सान कुनै युरोपियनहरूको भन्दा कम छैन । त्यसैले नेपालमा विकासका लागि गएका प्रोजेक्टहरू जहाँतहीँ छन् । कुनै प्रोजेक्टमा काम गर्नुपऱ्यो भने सबैतिर देश–विदेशको पैसा छ, तर सही तवरले सही ठाउँमा त्यो पैसालाई प्रयोग गरिएको छैन । म अनुसन्धानको मान्छे भएको कारण इम्प्याक्ट भन्छु के, त्यो पैसाले के प्रभाव पार्छ भन्ने तहमा केही ‘एनलाइसेस’ भएको हुँदैन । समग्रमा भन्दा रिजल्टमाथि अनुसन्धान हुनुपऱ्यो, नेपालमा पैसा खन्याइएको छ, तर यसको परिणामको विषयमा अनुसन्धान नै भएको छैन ।

० गैरआवासीय नेपाली सङ्घमा कस्तो खालको व्यक्तित्वले नेतृत्व गरेको खण्डमा समग्र सङ्घको हित होला जस्तो लाग्छ ?
– राजनीतिक आस्था मात्र नभएर सबै विषय बुझेर, भिजन तयार गरेर, ती विषयमा सम्बन्धित ठाउँमा गएर छलफल, बहस गर्दै आफ्ना कार्यक्रम लागू गर्न सक्ने खुबी भएको व्यक्ति हुनुपऱ्यो ।

० अन्त्यमा, नेपाली राजनीतिक पार्टीहरू तथा विश्वभर रहेका गैरआवासीय नेपालीलाई हामीमार्फत् खास केही भन्न चाहनुहुन्छ कि ?
– हामीले बुझ्नुपर्ने भनेको विकासको प्रथम खुट्किलो भनेको शिक्षा हो, जब शिक्षामा विकास हुन्छ तब देश विकासको पथमा हिँडेको मानिन्छ । राजनीतिक तह साथै निर्णायक तहमा रहेका व्यक्तित्वले यो कुरालाई मनन गर्दै काम गरे भने असम्भव छैन । आफ्नो परिवार मात्र नसोची समग्र देशलाई सोचेर काम गर्ने हो भने देश बन्दै गर्दा परिवार आफैँ बन्नेछ भन्ने सोच विकास गर्न आग्रह गर्दछु । साथै विश्वभर रहेका गैरआवासीय दाजुभाइ तथा दिदीबहिनीले पनि ‘एनआरएनए’लाई बलियो बनाउन बलियो नेतृत्व आवश्यक पर्दछ भन्ने सोच राखेर काम गर्नुका साथै मैले माथि उठाएका विषयमा बहस गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु ।

twitter: Sagar Subedi @sagaraustria

प्रतिक्रिया