पशु-प्राविधिकले छात्रामाथि यौन दुर्व्यवहार गरेपछि…

पशु-प्राविधिकले छात्रामाथि यौन दुर्व्यवहार गरेपछि…


यौन दुर्व्यवहारको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पशु–प्राविधिक पक्राउ परेका छन् । भेटेरिनरी विषयको ओजेटी गरिरहेकी छात्रालाई यौन दुव्र्यहार गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएपछि नगरपालिकाका पशु प्राविधिक गणेश आचार्य पक्राउ परेका हुन् ।

ओजेटीमा आएकी छात्रालाई आफ्नै कार्यकक्षमा यौन दुव्र्यहार गरेको अभियोगसहित आचार्यमाथि उजुरी परेपछि गत मङ्गलबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै छात्राले उजूरी दिएलगत्तै आरोपित आचार्यलाई पक्राउ गरिएको र हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको राससले जनाएको छ । जबर्जस्ती करणी प्रयास उद्योग महलअन्तर्गत मुद्दा दर्ता गरेर कारवाही थालिएको आचार्यलाई आज (२ माघ) जिल्ला अदालतमा लगेर म्याद थप्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीमा उजूरी दिएर पीडक पक्राउ परेपछि उनका आफन्तले मिल्नका लागि फोन र भेटघाटमा दबाब दिइरहेको पीडित छात्राले गुनासो गरेकी छन् । स्रोतका अनुसार अध्ययनरत विद्यालयबाट ओजेटीमा नगरपालिका पठाइएका तीन जना विद्यार्थीमध्ये उनलाई यथास्थानमा राखेर दुई जनालाई भने पशु चिकित्सालय तथा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलमा पठाइएको छ ।