किन ऋणमा डुबे रामप्रताप ?

किन ऋणमा डुबे रामप्रताप ?


■ हेमशङ्कर सिंह, धनकौल (सर्लाही)

धनकौल गाउँपलिका–४ का ७१ वर्षीय रामप्रताप महतो यतिखेर ऋणमा चुर्लुम्म डुबेका छन् । पाँच बिघा जग्गाका मालिक रहेका महतोको घरघडेरीसमेत यतिखेर दाउमा लागेको छ । तीन वर्षअघि गाउँकै साहुबाट उनले लिएको रु. चार लाख ऋण तिर्न बाँकी नै छ । उल्टै ऋणको व्याज बढेकोबढ्यै छ । प्रत्येक दिन उनी नेट पुर्जा लिएर धनकौलस्थित अन्नपूर्ण सुगर मिल धाउँछन् । यो आस बोकेर कि त्यहाँ उनको मिलमालिक वा व्यवस्थापनसँग उनको भेट हुनेछ र उनी आफ्नो बाँकी बक्यौता रकम पाउनेछन् । तर, उनी त्यहाँबाट सधैँ निरास भएर फर्कन्छन् ।

अन्नपूर्ण मिललाई उखु दिएबापत गत वर्षकै ४२ हजार रकम उनले पाउन सकेका छैनन् । सधैँझैँ नेट पुर्जा बोकेर मिल धाउने क्रममा गत बिहीबार उनीसहित आधा दर्जनभन्दा बढी किसान त्यस्तै पीडा बोकेर नेट पुर्जासहित भेटिए । चिनी मिललाई उखु दिएपछि मिलले उखुको तौल गरेर दिने पुर्जीलाई किसान नेट पुर्जा भन्ने गर्छन् । एक वर्षदेखि धनकौलस्थित अन्नपूर्ण चिनी मिल बन्द छ । सो मिलले झन्डै ५० कराडे रकम उखु किसानको तिर्न बाँकी छ ।

बाबुबाजेले वर्षौंदेखि गर्दै आएको उखुखेतीको बिँडो रामप्रसादले पनि सम्हाले, तर उनी उखुखेती गरेर होइन बिचौलियाको काम गर्न थालेपछि ऋणमा डुबेका हुन् । उखुखेती गर्दागर्दै उनी अन्य किसानले उत्पादन गरेको उखुसमेत खरिद गरेर चिनी मिलमा बुझाउन थाले । साहु–महाजनबाट ऋण काढेर किसानहरूको रकमसमेत उनी चुक्ता गर्न थाले । तर। चिनी मिलले समयमा रकम उपलब्ध नगराइदिँदा आफ्नो भएभरको खेतसमेत बेचेर ऋण तिर्न बाध्य भए । पाँच छोरा र पाँच छोरीका पिता रामप्रताप उनीहरूको लालनपालन र बिहेको भारसमेत उखुखेती र बिचौलियाकै काम गरेर बहन गरेको उनी बताउँछन् । आफ्नो जग्गा नरहेपछि यतिखेर उनी अरूको चार बिघा जग्गा ठेक्का लिएर खेतीपाती गर्दै आएका छन् । जसमध्ये एक बिघा १० कटठामा यस वर्षसमेत उनले उखुखेती गरेका छन् । रौतहटको गरुडास्थित श्रीराम मिल र सर्लाही धनकौलस्थित अन्नपूर्ण मिलले समयमा उखुको भुक्तानी नदिएका कारण ऋणमा डुब्न पुगेको उनी बताउँछन् ।

रामप्रतापजस्तै नेट पुर्जा बोकेर भेटिएका धनकौल सहेरबाका ६७ वर्षीय राधे साह, महिनाथपुरका राम सागर महतो, सिसौटका जगदीश राय, हरकठवाका नगेश्वर महतो पनि भेटिए । उनीहरूले पनि मिलबाट भुक्तानी र सरकारी अनुदानको रकम अहिलेसम्म पाउन सकेका छैनन् ।

सिसौटका जगदीश रायले भने ०७२ सालदेखिकै आफ्नो भुक्तानी र अनुदानको रकम पाउन बाँकी रहेको दुखेसो सुनाए । दुई लाख ऋणमा डुबेको व्यथा सुनाउँदै उनले भने– मिलले समयमा भुक्तानी नदिएका कारण बिस्तारै हामी उखुखेती छाड्दै छौँ । हरकठवाका नागेश्वर सहनीले भने– ऋण काढेर घरगुजारा चलाउँदै छु, पैसाको अभावका कारण न त आफ्नो औषधोपचार गर्न सकिरहेको छु न त जवान छोरीको बिहे । उनीसमेत चार लाख ऋणमा डुबेको बताउँछन् । स्थानीय मोसाफिर हजरा र चुनचुन सिंहबाट ऋण काढेको उनी बताउँछन । यस वर्षसमेत उनले साढे तीन बिघमा उखुखेती गरेका छन् ।

महिनाथपुरका रामसागर महतो भन्छन्– उखुखेती शुरु गरेदेखि उखु मिल पुऱ्याउन ऋण काढ्नुपर्छ, मिलले भने ०७३ सालदेखि भुक्तानी दिएको छैन । चिनी मिलले आफूलाई गरिब बनाएको दुखेसो सुनाउँदै उनले भने– चार छोराछोरीको स्कुलको शुल्क तिर्न बाँकी छ, हामी किसान रुँदै छौँ, कसलाई भन्न जाऊँ । बिचौलियाका कारण उखु किसान सङ्कटमा परेकोसमेत उनले बताए । सस्तोमा किनेर सस्तोमै बेच्ने बिचौलियालाई मिलले भुक्तानी दिएसक्यो, हामीले अहिलेसम्म पाएनौँ ।

ऋणैऋणमा डुबेको हरकठवा गाउँ

धनकौलस्थित अन्नपूर्ण चिनी मिलको पकेट एरियामा रहेको हरकठवा गाउँ नै उखुखेती गरेर ऋणमा डुबेको छ । रिर्पार्टिङको क्रममा जब हामी सो गाउँको मध्यभागमा पुगेर किासनहरूसँग भेटेर समस्या बुझ्न थाल्यौँ, पत्रकार आएको खबर गाउँमा फैलिएपछि एकछिनमै हुलका हुल किसान नेट पुर्जी बोकेर आउन थाले । मेरो पनि लेखदिनुस्, मेरो पनि लेखदिनुस् भनेर तँछाडमछाड गर्न थाले । छेउछाउबाट घरीघरी बिचौलियाहरू भन्ने गर्थे– कति पत्रकार आए र गए केही फरक पर्नेवाला छैन, सबै आफ्नो भत्ता पकाउन आउँछन् ।

हरकठवाका जयनारायण महतोले सात लाख ऋणमा डुबेको बताए । उनले मिलबाट पाँच लाख भुक्तानी लिन बाँकी रहेको सुनाए । सोही गाउँका शेख समिमले तीन वर्षअघि सात लाख ऋण काढेर छोरीको बिहे गरेको दुखेसो सुनाए । यस्तै, रामेश्वर राउतले तीन लाख ऋण काढेर छोरीको बिहे गरेको दुखेसो पोखे । यस्तै, हरकठवाकै शिवशङ्करप्रसाद साह र शिवचन्द्र रायले चार–चार लाख ऋणमा डुबेको बताए । साहले तीन लाख र रायले दुई लाख मिलबाट भुक्तनी पाउन बाँकी छ ।

के भन्छ उखु उत्पादक महासङ्घ

नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कलिमुनी मैनाली सरकारी कार्यविधिका कारण समयमा मूल्य नपाएर किसानले उखुखेती बिस्तारै गर्न छाडेको बताउँछन् । यस वर्ष मात्र २० प्रतिशतले उखुखेती घटेको छ । सरकारी कार्यविधिअनुसार उखु मिलमा बुझएको ३० देखि ४५ दिनभित्र किसानले उखुको रकम र अनुदान रकम पाउने प्रावधान छ । उखु काट्नुभन्दा करिब ६ महिनाअघि उखु मिलले आफ्नो पकेट क्षेत्रको उखुको सर्भे गर्ने गर्दछ । सर्भेपश्चात् मिलले नियुक्त गरेका प्राविधिकले कुन किसानको कति खेतमा उखु लगाइएको छ सोको विवरणसहित कटान पुर्जी दिने गर्छन् । तर, मिलमा भने किसानभन्दा बिचौलियाको उखु नै बढी पुग्ने गर्दछ । सस्तो भाउमा नजिककै उखु मात्र खरिद नगरी बिचौलियाहरूले सीमावर्ती भारतीय मिलबाट छाँटिएका उखुसमेत खरिद गरी मिललाई बेच्ने गरेको मैनाली बताउँछन् । कटान पुर्जीको आधारमा मात्र चिनी मिलले उखु खरिद गरे समस्या नहुने उनी बताउँछन् । सरकारले मूल्य नबढाइदिँदा र समयमा अनुदान नदिएका कारण उखुखेती खस्कँदै गएको उनको ठम्याइ छ । उखुको अनुदान रकम चिनी मिललाई दिनुको साटो किसानकै खातामा सरकारले जम्मा गरिदिनुपर्ने उनको माग छ । सरकारले उत्पादित चिनी खरिद गरी किसानको उखुको मूल्यसमेत उनको खातामा जम्मा गरिदिए उखु किसानको समस्या समाधान हुने उनी बताउँछन् । उखुखेतीको आधुनिकीकरण गर्नुपर्नेमा जोड दिँदै उनी भन्छन्– नत्र सुर्तीखेती समाप्त भएझैँ उखुखेती समाप्त भएर जानेछ ।

पूर्वी तथा पश्चिमी मधेसको १४ जिल्लाका ७५ हजार किसान उखुखेतीमा आश्रित रहेको नेपाल उखु उत्पादक महासङ्घको तथ्याङ्कले देखाएको छ । देशभरि १४ वटा चिनी मिल रहेकोमा हाल नौवटा चिनी मिल मात्र सञ्चालनमा छन् । प्रदेश २ मा मात्र आठवटा चिनी मिल रहेकामा पाँचवटा मिल मात्र सञ्चालनमा छन् ।