बढ्दो बलात्कार, अशक्त सरकार !

बढ्दो बलात्कार, अशक्त सरकार !


■ सविना कार्की

पछिल्लो समय दिन प्रतिदिन बलात्कारका घटना बढिरहेका छन् । आखिर किन बढ्दो छ बलात्कारको घटना, गम्भीर हुनुपर्ने प्रश्न यहाँ छ कि घट्नुपर्ने बलात्कारको सङ्ख्या झन् बढिरहेको छ । के कानुन फितलो भएर हो ? के अनुसन्धानका पाटाहरू पूरा नगरेर हो ? के कानुनको मापदण्ड थाहा नभएकोले हो ? या महिलाप्रति हेरिने दृष्टिकोण गलत भएर हो ? या जे गरे पनि हुन्छ भन्ने मनोबल बढेर हो ? के हो गम्भीर प्रश्न खडा भएको छ ?

बलात्कार सबैभन्दा पीडादायी अपराध हो । कसैको शरीरलाई कब्जामा लिएर जबर्जस्ती गर्दाको पीडा त भोग्नेलाई मात्र थाहा होला, समाजमा बलात्कारी किन उत्पादन भइरहेका छन् भन्नेबारे बुझ्न ऊ कस्तो सामाजिक परिवेशमा हुर्किएको छ भन्ने कुरा बुझ्नुपर्छ । समाजमा पारिवारिक विचलन र विघटन आउँदा बलात्कारका घटना बढ्ने गर्छ । समाजमा आउने विचलनले मानिसलाई सामाजिक रोगी बनाउँछ ।

बलात्कारको घटना पीडक र पीडितबीचको मात्रै कुरा नभएर यो कहालीलाग्दो सामाजिक अपराध हो । अहिले नेपालमा सामाजिक सद्भाव र जनचेतनामा फरक ल्याउन खोजिएको छ, तर सोचमा फरक आएको छैन । झट्ट हेर्दा धेरै राजनीतिक परिवर्तन भएजस्तो देखिन्छ, तर नेताहरू नै बलात्कार मुद्दामा परेका छन् । पूर्वसभामुख कृष्णबहादुर महरा अझैसम्म बलात्कार प्रयासको आरोपमा कारागारमै छन् ।

के त्यति शिक्षित व्यक्तिले बलात्कार नै गरेका हुन् या महिलामाथि हेरिने दृष्टिकोण नै गलत ? ठूलामान्छेको धमिलिएको छवि यति बढेको छ कि बलात्कार घटनामा आफ्नै बुबाले छोरी बिर्सन्छन्, दाइले बहिनी बिर्सन्छन्, शिक्षकले विद्यार्थी बिर्सन्छन्, नाबालक, वृद्धावस्थाको आमा बिर्सन्छन् । यस्ता विभिन्न बलात्कारको घटना दिनदिनै बढिरहेका छन् । आफ्नै घरभित्र सुरक्षित छैनन् महिला दिदीबहिनी, आखिर किन ?

बलात्कार सबैभन्दा पीडादायी अपराध हो । हत्याभन्दा पनि डरलाग्दो हुन्छ । बन्दुकले सुट गर्नुभन्दा बलात्कार डरलाग्दो पीडा मानिन्छ । रेप भिक्टिमहरूको एउटा भनाइ छ, ‘मलाई गोली हान, तर रेप गरेर गोली नहान ।’ एकजना आन्दोलनकारी महिलालाई आर्मीले सीधै गोली नहानेर बलात्कारपछि गोली हानेर मारेपछि यो भनाइ बाहिर आएको थियो ।

बलात्कार कम गर्न यौनलाई उदार बनाउनुपर्छ । हाम्रो सामाजिक संरचनाले सेक्स्युअल पार्टनर राख्न विवाहअघि अनुमति दिँदैन । विवाह ३० वर्षमा हुन्छ, तर मानिसको यौनिक आवश्यकता १२ वर्षमै शुरु हुन्छ । यस्तो अवस्थामा कसरी मिलाउन सकिन्छ ? बलात्कारका घटना बढ्नुमा यो पनि एउटा जिम्मेवार कारण हुन सक्छ ।
कोही शिक्षकबाट, बाबुबाट, प्रेमीबाट बलात्कृत भएका छन् । हामी मिडियामा आएकालाई मात्रै रेप भनिरहेका छौँ, तर घरघरमा छ बलात्कार आफ्नै परिवारभित्र छ
गाउँगाउँमा छ बलात्कार कति लुकाइएको कति लुकाउनको लागि विभिन्नखाले धम्की दिने गरेको खुल्न आएको छ । बलात्कारका घटनालाई बाहिर आउन नदिनु नै बलात्कार बढ्नुको कारण हो । बलात्कारका घटना बढ्नुमा समाज पनि दोषी छ ।

सेक्स जैविक आवश्यकता हो भन्ने चलन छ, तर समाजशास्त्रले सेक्स्युलिटीलाई पनि समाजकै उत्पादन मान्छ । सेक्स्युलिटी भनेको समाजनिर्मित हुन्छ । बजारले सेक्सी देखाइदिने र व्यापार बढाउने काम गरिरहेको छ । छोटा लुगा लगाएकै कारण बलात्कार बढेको हो भने बलात्कार बढ्नुको कारण लुगा होइन, बजार हो । बजारलाई राज्यले नियन्त्रण गर्नुपर्छ । त्यस्तो कपडा उत्पादनमै रोक लगाउन सक्नुपर्छ, तर त्यस्तो हुन सकेको छैन । त्यसकारण भन्न सकिन्छ, बलात्कारी समाजकै संरक्षण र शक्ति उन्मादमा समाजभित्रै हुर्किरहेकोले अब यसमा समुदाय र प्रहरी साझेदारीजस्ता कार्यक्रम चलाएर समाजमा बलात्कारप्रति थप संवेदनशीलता जगाउनुपर्छ ।

बलात्कारका घटना किन बढिरहेछ भन्नेबारे खासै अध्ययन भएको छैन । आमसञ्चार र सामाजिक सञ्जालमा आएका टिप्पणी हेर्दा गरिबी, बेरोजगार, अशिक्षा, वैदेशिक रोजगार, अश्लील चलचित्र, पुरुषप्रधान सोच, मदिरा सेवन र कारबाहीको अज्ञानता आदि कारण बलात्कार हुन्छ भन्ने मान्यता स्थापित भएको देखिन्छ । तर, समाजशास्त्रीहरू भने अपराधमा संलग्न व्यक्तिहरूको पृष्ठभूमिदेखिकै अध्ययन गर्नुपर्नेमा जोड दिन्छन् । बलात्कारका घटनामा कस्ता व्यक्तिहरूको संलग्नता हुन्छ भन्नेबारे उपयुक्त विवरण पुग्न सकेकै छैन ।

सामान्यतया बलात्कार तत्काल उत्वेगमा आएर हुने अपराध हो । यस्तो आपराधिक मनोवृत्ति के कारणले भइरहेको छ भन्नेबारे गम्भीर अध्ययन नगरी समस्याको जरोमा पुग्न मुस्किल हुन्छ । बेरोजगारी, एक्लोपना, दण्डहीनता या अरू के कारणले यस्तो मनोवृत्ति बढिरहेको छ, पत्ता लगाएर न्यूनीकरणका उपाय खोजिनुपर्छ ।

कति वृद्धहरूमा अतृप्त यौन कुण्ठा छ, युवाहरूमा उत्सुकता– यौन शिक्षामार्फत उनीहरूमा यौन सचेतना बढाएर यस्ता घटना केही कम गर्न सकिन्छ । कतिमा चाहिँ कुण्ठाभन्दा पनि ‘मलाई कसले के गर्न सक्छ र भन्ने खालको घमण्ड पनि देखिन्छ । दोषीले कानुनमा तोकेबमोजिम पनि सजाय नपाउनाले अपराधीहरूको मनोबल बढेको हो कि भन्ने आशङ्का उब्जिएको छ । अनुसन्धान फितलो भएकै कारण कति पक्राउ परेर पनि छुट्ने गरेका छन् । फितलो अनुसन्धान हुनुमा राजनीतिक संरक्षण पनि एउटा कारण हो । कानुन कार्यान्वयनमा भूमिका हुने प्रहरीले किन यस्ता विषयमा राम्रो कार्यसम्पादन गर्न सकेको छैन भन्ने कुरामा प्रश्न गरिनुपर्छ ।

केही समय पहिलेकै तथ्याङ्कअनुसार मुलुकमा दैनिक औसत ६ जना महिला बलात्कृत भइरहेका छन् । नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा दुई हजार दुई सय ३० महिला बलात्कृत भएका छन् । सात सय ८६ महिलामाथि बलात्कार प्रयास भएका छन् । यस्तो तथ्याङ्क वर्षेनी बढ्दो छ । आर्थिक वर्ष ०७४÷७५ मा देशभर झन्डै एक हजार पाँच सय बलात्कारका घटना भएका थिए भने बलात्कार प्रयास भएको भन्दै करिब सात सय उजुरी प्रहरीकहाँ परेका थिए । डेढ–दुई दशकअघिसम्म यो सङ्ख्या निकै कम हुन्थ्यो । ०५५/५६ मा एक सय ४१ महिला बलात्कृत भएका थिए भने १८ जनालाई बलात्कार प्रयास भएको थियो । त्यतिबेला घटनै कम हुन्थे या प्रहरीसामु थोरै मात्र आइपुग्थे, तर अहिले प्रहरीमा आइरहेको तथ्याङ्क भने निकै बढेको छ ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भयो, तर अहिलेसम्म अपराधी कानूनी दायरामा आउन सकेन । यस घटनामा नागरिक स्तरबाट देशव्यापी रूपमा व्यापक दबाब र सङ्घर्षका कार्यक्रम भए पनि पीडितले न्याय नपाउँदा अपराधीमा मनोबल बढ्न सक्ने देखिन्छ र मुलुकमा बलात्कारका घटना अझै बढ्न सक्छ । अर्को घटना प्रतिनिधिसभामा सभामुख रहेका कृष्णबहादुर महरा बलात्कार प्रयासकै आरोपमा अहिले पनि कारागारमै छन् । उच्चपदस्थ व्यक्ति बलात्कारको घटनामा मुछिनुले पनि समाजमा नकारात्मक सन्देश गएको छ ।

शिक्षित वर्गबाट नै समाजमा बलात्कारका घटना किन यति बढी भइरहेका छन्– गम्भीर अध्ययनको विषय बनेको छ । बलात्कारका घटना बढ्नुमा कसको कमजोरी छ ? घटनामा परेका व्यक्तिलाई प्रहरीले तुरुन्त सहयोग गर्न सकेको छ ? के प्रहरीले पीडितलाई उचित न्याय दिन सकेको छ ? प्रहरी कहाँनिर चुकेको छ ? दिनदिनै बढिरहेको बलात्कार घटना कम गर्न सरकार किन अक्षम छ ? सरकार किन यस्तो गम्भीर विषयमा पनि कडा कदम चाल्न सकिरहेको छैन ? आममहिलाको चासोको विषय बनिरहेको छ ।