‘जीवन’ र ‘दर्शन’ मरेको राजनीति !

■ दीपेन्द्र पाण्डे



जीवनको परिभाषा ध्यानी, ज्ञानी र अज्ञानीहरूले आ–आफ्नै ढङ्गले गरेको पाइन्छ । सामान्यतया जैविक रूपमा कुनै पनि प्राणीको जन्मदेखि मृत्युबीचको अवधिलाई जीवन भनिन्छ । विलियम सेक्सपियरको विचारमा जीवन भनेको एक रङ्गमञ्च हो । साथै हामी त्यसका कलाकार । जीवनको बारेमा हरेक मानिसको आफ्नै धारणा छन् । जीवनलाई कसैले उपहार मानेका छन् त कसैले दौड । सामान्यतया, जीवन प्राप्तिमा प्राणीको भूमिका रहँदैन । तर, मानव जीवन प्राप्तिसँगै वा चेतनाले भरिपूर्ण जीवन कस्तो बनाउने भन्ने तपाईंको हातमा हुन सक्छ ।

तपाईंले आफ्नो जीवनको अर्थ खोज्न चाहनुभएको खण्डमा प्रत्येक दिन, प्रत्येक क्षण नयाँ अवसर फेला पार्नुहुनेछ । तर, भौतिकवादको दलदलमा आममानिस जीवनको अर्थ खोज्ने हिम्मतसमेत गुमाउँदै छन् । जो मानिस अधिक व्यस्त छन् । उनीहरूको जीवनको प्राथमिकता अलग छन् । आफ्नो सन्तानको सुरक्षित भविष्य बनाउन भन्दै ‘मुसा दौड’मा निस्कने मानिस जीवनलाई प्रश्न गर्ने अवस्थामा पुग्नसमेत पाउँदैनन् । ती व्यक्ति जसले महसूस गर्छन् । जीवनको कुनै खास उद्देश्य हुँदैन । उनीहरू आफ्नै सिद्धान्त र संसारमा रमेका हुन्छन् ।

जब मानिसहरू खुसी हुन्छन्, योजनाबद्ध लक्ष्य बनाउन सक्छन् । आफ्नो लक्ष्य हासिल गर्न जोखिम उठाउँछन् । एउटा राम्रो जीवन तब हुन्छ जब तपाईंसँग परिवार छ । आफ्ना लागि समय निकाल्न सक्ने मानिसहरू स–साना सुखहरूको आनन्द लिन सक्षम हुन्छन् । जब दैनिक कुराले नयाँ कुरा सिकाउँछ, जसले आफैँलाई हौसला प्रदान गर्दछ । तब जीवनमा ऊर्जा प्राप्त हुन्छ । राम्रो जीवन तब हुन्छ जब हामी सजिलै आलोचना स्वीकार गर्ने तहसम्म पुग्छौँ । तपाईं त्यति बेला सफल हुनुहुनेछ । जब जीवन कुनै पनि समय मीठो हुँदैन र पनि त्यसलाई हाँसी–हाँसी स्वीकार गर्ने हिम्मत कमाउनुहुन्छ ।

सामाजिक मिडिया र तत्काल तृप्ति हाम्रो जीवनमा ‘नकारात्मक भाइरस’ बनेर उदाएका छन् । पारिवारिक बोझ, राजनीतिक घटियापन, शैक्षिक दबाब, भौतिकवादको उग्र सफलताले ‘खुसी हर्मोनहरू’ उत्पादन गर्ने जीवनको कारखानामा मन्दी छाएको छ । तत्काल तृप्ति दिइरहेको कुराले प्रायः दुःखलाई निम्त्याउँछ । तैपनि हामी त्यसलाई त्याग्न असमर्थ छौँ । खुसीको हर्मोनले भौतिकवादको असरलाई ध्यान दिँदैन । त्यसैले खुसी भनेको अस्तित्वको अर्थ हो भन्ने मान्न वर्तमान पुस्ता राजी छ । तृप्ति, खुसी र मोक्ष अलग कुरा हुन् । सर्वसाधारण मानिस खुसी हुन चाहन्छ । आफूलाई अरूसँग तुलना नगर्ने मानिस अधिकतर खुसी हुन्छ । लोभ र प्रतिस्पर्धाले मानिसलाई खुसी हुन दिँदैन । खुसीको गहिरो रूप हाम्रै वरिपरि रहेका छन्, तर हामी देख्न सकिरहेका छैनौँ । ती सामान, वस्तु, नाता–सम्बन्ध जुन सजिलै उपेक्षित छन् जहाँ खुसीका भण्डार लुकेका छन् ।

सामान्य भाषामा राजनीति एक कला हो साथै सरकारको विज्ञान पनि । राजनीतिले एक्सन, प्राक्टिस र नीति–निर्माणलाई मार्गदर्शन गर्ने गर्दछ । मानव गतिविधिको सिद्धान्त पनि हो राजनीति । शायद यही बुझेर हुनुपर्छ, ग्रिकहरूले सबैभन्दा पहिला भनिदिए । राजनीति एक अध्ययन हो, जसले शक्तिको वितरण र स्रोत परिचालनमार्फत जनतासँग सम्बन्ध गाँस्न सिकाउँछ ।

सफलता, आनन्द, यात्रा, ज्ञान, खाना, सङ्गीत, प्रकृति, धनसम्पत्ति, सामाजिक प्रतिष्ठाजस्ता शब्दहरूले जीवनको ‘चक्रब्यूह’ निर्माण गरेका छन् । हरेक मानिसलाई थाहा छ । एक दिन मरिन्छ, तर कहिले मरिन्छ ? कसैलाई थाहा छैन । यही तिथिमितिको नाजायज फाइदा उठाउने खेल नै जीवनको रहस्य बन्न पुगेको छ । अविकसित राष्ट्रहरूमा अधिकांश मानिस मान्छन् कि गरिबीले धेरै समस्या निम्त्याउँछ । वास्तवमा जीवनको गुणस्तर फगत एक धारणा मात्र हो । शिक्षा, पैसा वा प्रेम नभएको व्यक्ति पनि खुसीसँग बाँच्न सक्छ । र, बाँचेका छन् पनि ।

कुनै व्यक्ति वा विशेष समूहको विचार, सोच र मानसिकतालाई दर्शन भन्ने गरिन्छ । मानिससँग सम्बन्धित ज्ञान, भ्रम, वास्तविकताको विषयमा अध्ययन गर्न दर्शनशास्त्र सधैँ लागिपरिरहेको छ । सामान्य अर्थमा दर्शन भन्नाले देख्नु र जान्नु हो । सत्यको खोजी गर्नु दर्शनशास्त्रको प्रमुख लक्ष्य हो । जसले सत्य खोजेको, बुझेको र जानेको छ– ऊ नै दार्शनिक हो । दर्शनशास्त्रीहरू अनवरत रूपमा भौतिक विज्ञान, कला र आत्मविज्ञानको तमाम रहस्यबारे बुझ्न तल्लीन छन् । तथापि दर्शन विशुद्ध बौद्धिकताको मात्र विषय होइन । यो हाम्रो मनभित्र उब्जने तमाम प्रश्नहरूको शृङ्खला पनि हो । दर्शन, चिन्तन र अनुभूतिको विषय हो । सत्यलाई युक्तिपूर्वक जान्न हरदम कोसिस गर्ने हुनाले दर्शन शास्त्र एक अनुशासन पनि हो ।

सामान्य भाषामा राजनीति एक कला हो साथै सरकारको विज्ञान पनि । राजनीतिले एक्सन, प्राक्टिस र नीति–निर्माणलाई मार्गदर्शन गर्ने गर्दछ । मानव गतिविधिको सिद्धान्त पनि हो राजनीति । शायद यही बुझेर हुनुपर्छ, ग्रिकहरूले सबैभन्दा पहिला भनिदिए- राजनीति एक अध्ययन हो, जसले शक्तिको वितरण र स्रोत परिचालनमार्फत जनतासँग सम्बन्ध गाँस्न सिकाउँछ । सर्वसाधारण मानिसले बुझ्ने भाषामा भन्नुपर्दा राजनीति भनेको वास्तवमा ‘उत्तम जीवन’ प्राप्त गर्ने माध्यम हो । कुनै विशेष नीतिमार्फत शासन गर्दै खास उद्देश्य हासिल गर्नुलाई राजनीति भनिन्छ । जनताको सार्वजनिक जीवनस्तर उठाउनु, नागरिक स्तर वा व्यक्तिगत स्तरमा एक विशेष प्रकारको सिद्धान्त र अभ्यासलाई स्थापित गर्नु राजनीतिको धर्म हो ।

सरकारमा पद पाउन र सरकारी पद प्रयोग गर्नुलाई मुलुकमा पछिल्लो समय ‘राजनीति’ भन्ने गरिएको छ । आधुनिक राजनीतिमा राजनीतिक धारणालाई अगाडि बढाउने, कानून बनाउने, विपक्षीहरूको विरुद्ध लोकतान्त्रिक ढङ्गले प्रतिस्पर्धा गर्ने गरिन्छ । राजनीति श्रेष्ठत्व र वर्चस्वको लडाइँ पनि हो । राजनीतिले आफ्नो धर्म निभाउन असफल हुँदा राजनीति धोकाधडीमा रूपान्तरण हुँदै छ । फलस्वरूप राजनीतिले हामीलाई भिन्नताको भावना वितरण गर्दै छ । हामीलाई अनेक नाममा विभाजन गर्ने, अनैतिकता, असत्यलाई फूलबुट्टा भर्दै सत्ता प्राप्तिको माध्यम बनाइँदै छ, राजनीति !

पछिल्लो कालखण्डमा जीवन, दर्शन र राजनीति भौतिकवादको दबदबासामु निरीह बन्न विवश छ । चिन्तन, सिद्धान्त, दर्शन, विचारधारा, केवल कुर्सी प्राप्तिमा बदलिएको छ । मुलुकभित्र चाणक्य, प्लेटो, मेकियावेली, रुसो, मार्क्स पढ्ने मानिस हराएका छन् । धर्मनिरपेक्षता, ठेक्कापट्टा, बालुवा, गिटी, वनजङ्गल, कमिसन, भ्रष्टाचार, कुर्सी, पीआर, रेमिट्यान्सजस्ता विचारधाराको जगजगी छ ।

राजनीति विचारहीनताको बाँझोबारी बनाइएको छ । पत्रकारिताले केवल समाज र राजनीतिलाई झकझकाउन मात्र सक्छ । समाज बदल्ने ताकत सिर्फ विचार–सिद्धान्तको राजनीतिबाट मात्र सम्भव छ । विचारधारा मरेको राजनीतिले फासिज्म, उन्माद, तानाशाही जन्माउने खतरा झनै बढाउँछ । राजनीति आदर्शबाट गिर्दै छ । आरोप–प्रत्यारोप राजनीतिको अभिन्न अङ्ग बनिसकेको छ ।

हुँदैन कहिल्यै नभन्ने, भनेको कुरा कहिल्यै पूरा नगर्ने राजनीतिले स्थान जमाएको मुलुकमा ‘जनता’ केवल नेतालाई सत्ता सुम्पने ‘लाइसेन्स’ बनेका छन् । पञ्चायतको एकल राजनीतिक अभ्यासको विरुद्ध मुलुकले जन्माएका सपुतहरूले निर्माण गरेका राजनीतिक आदर्शका ‘इँटा’हरू वर्तमान राजनीतिमा बोझ बनेको छ । बीपी, गणेशमान, कृष्णप्रसाद, पुष्पलाल, मनमोहन, मदन भण्डारी ‘श्राद्धको बिरालो’ बनाइएको छ । आफ्नै सिद्धान्त, विचारधारा र विगतले चिमोटेका वर्तमान कुर्सीवाजहरू जीवन, दर्शन र राजनीतिको ‘कुर्सीमुखी’ परिभाषा निर्माण गर्न अहोरात्र खटिएका छन् ।

वैश्ययुगको कारण जीवन र दर्शन आँधीबेहरीबीच गन्तव्य हराएको चराजस्तो बन्दै छ । आदर्श राजनीतिले चिमोटेको बेला जागेको जीवन र दर्शन कुर्सी र द्रव्यमोहमा थला परेको छ । सत्य, न्याय र अधिकारको निम्ति हाँसी–हाँसी जीवनको कुर्वानी दिन राजी विगतको राजनीति ‘सर्पको जिब्रो’जस्तो हाँगा हाल्दै छ । राष्ट्रवाद, विकास, समृद्धि, सुशासन, अपेक्षा, जवाफदेहिता, जिम्मेवारिता लडखडाएको कारण कर्पोरेट हाउसहरू नीतिगत भ्रष्टाचार गर्न–गराउन सफल भएका छन् । ‘आफ्नो पक्षमा नीति बदल्ने, ‘ठेक्का सम्झौता’ ठेकेदारहरूको इच्छा र चाहनामा भरपर्ने लोकतन्त्रमा प्राकृतिक साधन र स्रोतको चरम दोहनको विरोध गर्दा युवकको ट्रिपरले किचेर हत्या गर्ने अवस्था स्थानीय, प्रदेश र केन्द्र सरकारलाई सामान्य लाग्दै छ । हत्याहिंसाको बाटोबाट मुलुक परिवर्तन गर्ने विगत बिर्सिंदै सोसल मिडियाको घाँटी निमोठ्ने अवस्थामा राजनीति पुऱ्याइएको छ । सर्वसाधारण जनताको नजिकको मित्र सामाजिक सञ्जाल नियन्त्रण गर्ने कुर्सीवादी सोचले सत्ताको गुणगान गाउन बाध्य पार्ने अवस्था सिर्जना गरिँदै छ ।

राजनीति विचारहीनताको बाँझोबारी बनाइएको छ । पत्रकारिताले केवल समाज र राजनीतिलाई झकझकाउन मात्र सक्छ । समाज बदल्ने ताकत सिर्फ विचार–सिद्धान्तको राजनीतिबाट मात्र सम्भव छ । विचारधारा मरेको राजनीतिले फासिज्म, उन्माद, तानाशाही जन्माउने खतरा झनै बढाउँछ । राजनीति आदर्शबाट गिर्दै छ । आरोप–प्रत्यारोप राजनीतिको अभिन्न अङ्ग बनिसकेको छ । समाजको वैचारिक स्तरमा ठूलो मात्रामा गिरावट आएको छ । राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणको कारण बौद्धिक मानिसहरू राजनीतिबाट मात्र होइन मुलुकबाट पलायन हुँदै छन् ।

विचारको राजनीति र विचारहीनताको राजनीतिले नेताको आचरण, जीवनशैली र प्रतिबद्धतामा ठूलो प्रभाव पार्दछ । ०४६ को राजनीतिक परिवर्तनसम्म ‘नङ्गा फकिर’ रहेकाहरू सार्वजनिक लुट–भ्रष्टाचारलाई संस्थागत गर्न मरिहत्ते गर्दै छन् । जीवन र दर्शन भौतिकवादको पेलानमा करिब मृत अवस्थामा पुगेको छ । राजनीतिको ‘चार धाम’ केवल कुर्सी बनेको छ । सार्वभौमसत्ता, सम्प्रभुता, समानताजस्ता शब्द संविधानको ‘गहना’ बनाइएको छ । मुलुकको पहिचान केवल इतिहासको विषयमा सीमित गरिएको छ । जीवन र दर्शन नबुझ्ने मानिसले गर्ने पेसा राजनीति बनेको छ । जसको कारण लोकतन्त्रको सान्दर्भिकता, मानवीय मूल्यमान्यता र मुलुकको अस्तित्व ‘खुला रहस्य’ बनाइएको छ ।

प्रतिक्रिया