‘स्वर्ण महोत्सव’ ले दुल्लभको भाग्य रेखा कोर्नेछ

‘स्वर्ण महोत्सव’ ले दुल्लभको भाग्य रेखा कोर्नेछ


गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिकाको घ्याम्पेसालमा रहेको दुल्लभ माध्यमिक विद्यालय परिवार आफ्नो ‘स्वर्ण महोत्सव’ मनाउने तयारीमा छ । विद्यालयले आफ्नो ५० औं बर्ष पार गरिसकेको छ । माघ २ गतेदेखि शुरु हुने महोत्सवको तयारी, आर्थिक सहयोग संकलन र विद्यालयको भावी योजनाका बारेमा विद्यालयका प्रधानाध्यापक शिव प्रसाद भट्टसँग पत्रकार छविलाल बगालेले गरेको कुराकानीको सम्पादित अंश ।

–यहाँहरु दुल्लभ माविको ५० औं बर्ष पूरा भएको अवसरमा ‘स्वर्ण महोत्सव’को संघारमा हुनुहुन्छ । तयारी चाँही कस्तो छ ?

दुल्लभ माविको ‘स्वर्ण जयन्तीको भब्य तयारीमा हामी छौं । सभ्य र भब्य तवरले कार्यक्रमलाई सफल बनाउनका लागि हामीले विभिन्न समिति तथा उपसमितिहरु बनाएर काम अघि बढाइरहेका छौं । सबैले एकसाथ काम गरेकोले महोत्सवको लगभग अन्तिम चरणमा हामी पुगेका छौं । आगामी माघ २ देखि ५ गतेसम्म महोत्सव चल्नेछ ।

–‘स्वर्ण महोत्सव’ मनाउँदै गर्दा शिक्षक, विद्यार्थी र आम अभिभावकमा कस्तो उत्साह देखिएको छ ?

गोरखा जिल्लाको पूरानो मध्येको दुल्लभ मावि पनि एक हो । ‘स्वर्ण महोत्सव’ लाई भब्य रुपमा सफल बनाउन शिक्षक, अध्यनरत विद्यार्थी भूपू विद्यार्थी, अभिभावक र शुभचिन्तकहरुको सक्रिय सहभागिता रहेको छ । २०२४ सालमा स्थापना भएको यस विद्यालयले ५० औं बसन्त मात्रै पार गरेको छैन्, आज यस विद्यालयले धेरै विद्यार्थीहरुको भाग्यरेखा पनि कोरीदिएको छ । यसकारण पनि यो अवसरमा हामीले सबैको साथर सहयोग पाएको छौं । यसप्रति हामी विद्यालय परिवार अत्यन्तै खुशी र उत्साहित भएका छौं ।

–दुल्लभ निकै पूरानो विद्यालय । गोरखाको शैक्षिक इतिहासमा ख्याती कमाएको यस विद्यालयको पछिल्लो शैक्षिक प्रगति चाँही कस्तो छ ?
५० बर्षको यो अवधिमा दुल्लभको शैक्षिक इतिहास निकै नै राम्रो रह्यो । यसप्रति हामीमात्रै होइन अभिभावक र विद्यार्थी पनि सन्तुष्ट छन् । विद्यालयको पछिल्लो शैक्षिक अवस्थालाई मात्रै हेर्ने हो भने पनि हामी जिल्लाभरीको उत्कृष्ट १० भित्रै छौं । गत बर्ष लिइएको एसइइको परीक्षामा पनि जिल्लाका कुल १२५ विद्यालयमध्ये हामी १३ औं स्थानमा छौं । यस्तै विद्यालयको शैक्षिक अवस्था र वर्तमान अवस्थालाई ध्यानमा राख्दै कक्षा ८ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन गराएको छौं । हामीले माथिल्ला कक्षाहरुमा पनि अङ्ग्रेजी माध्यममा पठनपाठन गराउने र सिकाईलाई परम्परागत भन्दा पनि प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिएका छौं ।

–‘स्वर्ण महोत्सव’ विद्यालयको लागि निकै ठूलो कार्यक्रम पनि हो । योे महोत्सव सफल बनाउन कति खर्च हुने अनुमान गर्नुभएको छ ?
अवश्य पनि विद्यालयको ‘स्वर्ण महोत्सव’ हामी सबैको लागि महत्वपूर्ण कार्यक्रम हो । सामान्यतया सानोतिनो कार्यक्रम गर्दा त धेरै खर्च लाग्छ भने हामी त विद्यालयको ‘स्वर्ण महोत्सव’ मनाउने क्रममा छौं । त्यसैले पनि यो कार्यक्रमलाई सफल बनाउन हामीले ३५ देखि ४० लाखको वरिपरी खर्च हुने अनुमान गरेका छौं ।

–दुल्लभले ५० बर्षको अवधिमा धेरै विद्यार्थीलाई शैक्षिक ज्ञान बाँडेको छ । धेरै उपजहरु अहिले उच्च ओहोदादेखि देश विदेशमा छरिएका छन् । यसप्रति यहाँको भनाई चाँही के छ ?
साँच्चै भन्ने हो भने हामी डुंगाको माझी हौं र विद्यालय समुन्द्र हो । ५० बर्षको अवधिमा हामीले धेरै विद्यार्थीहरुलाई डुंगामा राखेर समुन्द्र पार गराएका छौं । यस मानेमा हामी खुसी भएका छौं की आज हाम्रा उपजहरु विश्वभरी छरिएर रहेका छन् । यसका साथै नेपाल सरकारको उच्च ओहोदादेखि विदेशमा पनि उच्च पदमा रहेर काम गरेका छन् । हामी गुणस्तरीय शिक्षा प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गरिरहेका छौं । आज हाम्रा उपजहरु राजनितिज्ञ, चिकित्सक, नेपाल सरकारको उच्च तहमा समेत पुगेका छन् । यो नै दुल्लभ परिवारको सम्पति हो ।

–दुल्लभका उपजलाई नै सहयोग संकलनको मुल आधार बनाइएको हो ?
हो । हाम्रा उपजको साथ सहयोग र माया कै कारण दुल्लभ जिल्लाकै ‘टप टेन’ भित्र छ । हामीले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि कुनै कसर पनि बाँकी राखेका छैनौं । यसैले पनि हामीले विद्यार्थी, अभिभावक र शुभचिन्तकबाट माया पाइरहेका छौं । ‘स्वर्ण महोत्सव’ मनाउनका लागि हामीलाई बजेटको आवश्यक थियो । नेपाल सरकारले दिएको रकम हाम्रा लागि पर्याप्त पनि छैन् । त्यसैले पनि हामीले हाम्रा उपजहरुको साथ, सहयोग र माया खोजेका हौं । हामीले रकम तोकेर मागेका छैनौं । हाम्रा उपजले आफ्नो क्षमताले दिएको सहयोग रकम हामीले हात थापेका छौं । विद्यालय व्यवस्थापन समितिको बैठकले आफ्ना उपजहरुलाई कार्यक्रमबारे जानकारी दिएर खर्च उठाउने निर्णय गरेपछि हामीले घरदैलोदेखि अन्य अभियान सुरु गरेका हौं ।

–विदेशबाट पनि आर्थिक सहयोग सहयोग आउने क्रम जारी छ । ‘स्वर्ण महोत्सव’का लागि अहिलेसम्म कति रकम संकलन भएको छ ?
आफू पढेको विद्यालयको माया सबैलाई हुन्छ । त्यही मायाकै कारण आज विदेशबाट राम्रो आर्थिक सहयोग संकलन भएको छ । अहिलेसम्म हामीले झण्डै एक करोड वरिपरी रकम संकलन गरेका छौं । रकम संकलनको क्रम जारी रहेकोले यो रकम अझैं बढ्नेछ । देश विदेशमा रहेका हाम्रा उपजहरुले विद्यायको ‘स्वर्ण महोत्सव’ का लागि आर्थिक सहयोग पठाउने क्रम जारी छ ।

–तर यहाँहरुको लक्ष्यभन्दा पनि बढि नै रकम संकलन भयो भन्ने कुरा बाहिर आएको छ । के यो सत्य हो ?
हामीले आर्थिक सहयोगका लागि सबैमा अपिल गरेका थियौं । त्यसैले पनि सामान्य भारी बोकेर जिविकोपार्जन गर्ने व्यक्तिदेखि उच्च तहमा बसेर काम गर्ने हाम्रा उपजबाट आर्थिक सहयोग जुटेको छ । हामीले अपेक्षा गरेको भन्दा धेरै आर्थिक सहयोग विद्यालयले प्राप्त गरेको छ ।

–संकलन भएको रकमको सही सदुपयोग चाँही कसरी हुन्छ ? केही नयाँ योजना छ ?
यहाँले राम्रो प्रश्न गर्नुभयो । हामीले धेरै सुनेका छौं की सामाजिक कार्यको लागि संकलन भएको आर्थिक सहयोग हिनामिना भएका खबरहरु । हामी खर्चलाई कसरी कम गर्ने भन्ने योजनामा छौं । हामीले विद्यालयको ‘स्वर्ण महोत्सव’ का लागि संकलन भएको आर्थिक सहयोगबाट कार्यक्रम सकेर बचेको रकमलाई गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगका लागि अक्षय कोष बनाउने छौं । अर्को कुरा हामी खर्चलाई पारदर्शी बनाउने प्रतिबद्धता जाहेर गर्छौैं ।

–पछिल्लो समय सरकारले सामुदायिक विद्यालयमा ठूलो धनराशी खर्च गरेको छ । तर लगानी अनुसारको नतिजा भने पाउन मुश्किल भएको छ । दुल्लभको हकमा चाँही कस्तो छ नी ?
सामुदायिक विद्यालयमा सरकारले गरेको लगानीलाई हामीले त्यसै खेर जान दिएका छैनौं । हामी सबै शिक्षकहरुको मिहेनेत र विद्यालय व्यवस्थापन समितिको योजना अनुरुप शैक्षिक गुणस्तरलाई उकास्ने काम गरेका छौं । सरकारले नेपालभरका २ सय २२ वटा विद्यालयलाई ‘नमूना विद्यालय’ घोषणा गरेको छ । नेपालभरका यिनै २ सय २२ मध्ये दुल्लभ मावि पनि नमूना विद्यालयभित्र पर्न सफल भएको छ । हामी अबका दिनमा दुल्लभको शैक्षिक गुणस्तरलाई अझ प्रभावकारी र नयाँ ढंगबाट अघि बढाउने योजनामा छौं ।

–शैक्षिक गुणस्तर उकास्नका लागि के छन् यहाँका नयाँ योजनाहरु ?
विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि हामी सधैं चिन्तित नै छौं । अहिले विगतको जस्तो समय र परिस्थिती पनि छैन् । हामी प्रविधिमैत्री सिकाईमा जान सकेनौं भने हामीले सोचेजस्तो गुणस्तर बृद्धि हुँदैन् । त्यसैले हामीले कक्षा ८सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन गराएका छौ भने कक्षा २ बाट ल्यापटप र प्रोजेक्टरको सहायताबाट पठनपाठन थालेको छौं । अबको समयमा पनि नयाँ प्रविधिबाट अघि नबढ्ने हो भने विद्यालय, शिक्षक र विद्यार्थी पछि पर्नेछन् । हामी विद्यार्थीको शैक्षिक स्तरलाई माथि उठाउन कुनै कसर पनि बाँकी नराख्ने प्रतिबद्धता जनाएका छौं ।

–अन्तमा ‘स्वर्ण महोत्सव’ को अवसरमा समस्त अभिभावक, विद्यार्थीलाई केही भन्न चहानुहुन्छ ?
अन्तमा दुल्लभको ‘स्वर्ण महोत्सव’ को अवसरमा समस्त अभिभावक, विद्यार्थी, भूपू विद्यार्थी, शिक्षक तथा शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । कार्यक्रम सफल बनाउन आफ्नो गास कटाएर गर्नुभएको सहयोगप्रति विद्यालय परिवार अत्यन्तै खुशी व्यक्त गर्न चहान्छ । विद्यालयको ‘स्वर्ण महोत्सव’ मा सहभागि भएर कार्यक्रमको शोभा बढाइदिन पनि विद्यालयको प्रधानाध्यापकको हैसियतले म सबै समक्ष विनम्र अनुरोध गर्दछु । एउटा राम्रो विद्यालय बन्नका लागि शिक्षक, विद्यार्थी र अभिभावकको मिहेनत र सहयोग अति नै आवश्यक पर्नेछ । अन्तमा, देश विदेशबाट दुल्लभका उपजहरुले आफू पढेको विद्यालयलाई गरेको सहयोगप्रति विद्यालय परिवार निकै हर्षित छ ।