बुद्धकालीन स्थल पण्डितपुरमा ‘जियो फिजिक्स सर्भे’ शुरु

बुद्धकालीन स्थल पण्डितपुरमा ‘जियो फिजिक्स सर्भे’ शुरु


पुरातात्विक एवं पर्यटकीय बुद्धकालीनस्थल पण्डितपुरमा ‘जियो फिजिक्स सर्भे’ शुरु भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ मा अवस्थित पण्डितपुरमा पुरातत्व विभाग र बेलायतस्थित दुरह्याम विश्वविद्यालयको विज्ञ टोलीले सोमबार (२८ पुस)देखि जियो फिजिक्स सर्भे शुरु गरेको हो । सर्भे तीन दिनसम्म सञ्चालन हुनेछ ।

जिल्लाको सदरमुकाम परासीबाट पश्चिमतर्फ करिव पाँच किलोमिटरको दूरीमा रहेको यस स्थलमा सन् २००२ मा पुरातत्व विभागका पुरातत्वविद् शुक्रसागर श्रेष्ठले गरेको प्रारम्भिक उत्खननको अनुशरण गर्दै पुरातत्व विभागका पुरातत्वविद्ले सन् २०१२ देखि २०१५ सम्म पण्डितपुरको उत्खनन गरेका थिए । करीब ६० विघा क्षेत्रफलमा फैलिएको यो ठाउँलाई उत्खननमा संलग्न पुरातत्वविद्ले प्राचीन कोलीय गणराज्यको राजधानीका रुपमा सङ्केत गरेका थिए ।

पण्डितपुर क्षेत्रमा जियो फिजिक्स सर्भेमार्फत जमिनमुनिको सतहमा रहेका भौतिक संरचना के–कस्तो अवस्थामा छन् भनेर पत्ता लगाउन पुरातत्व विभागको आर्थिक सहयोगमा रामग्राम नगरपालिकाको पहलमा सर्भे गरिएको हो । यसअघिको उत्खननका क्रममा प्राप्त सांस्कृतिक तह प्राचीन संरचना र महत्वपूर्ण पुरातात्विक वस्तुको प्राप्तिले यो ठाउँ लुम्बिनी र कपिलवस्तुको समकालीन भएको पुष्टि भएकाले यसको थप अनुसन्धान र विकास गर्न सर्भे थालिएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो ।

जमिनमुनिको दुई मिटर गहिराइसम्मका संरचनाका बारेमा जानकारी प्राप्त हुने उहाँले बताउनुभयो । ‘सर्भेको नतिजा आउन तीन÷चार महिना लाग्छ, आगामी नोभेम्बरमा पनि फेरि जियो फिजिक्स सर्भे गर्नेछौँ, सर्भेपछि हुने उत्खननले पण्डितपुरको वास्तविकता पत्ता लाग्नेछ’, कुँवरले भन्नुभयो । नेपालकै महत्वपूर्ण पुरातात्विक स्थलका रुपमा रहेको पण्डितपुर क्षेत्र भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपबाट नौ किलोमिटर उत्तर पश्चिममा अवस्थित छ ।

पण्डितपुर क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न रामग्राम नगरपालिकाले गुरुयोजना बनाएर अघि बढ्न लागेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले बताउनुभयो । ‘पण्डितपुर क्षेत्र बुद्धकालीन महत्वपूर्ण पुरातात्विक स्थल हो भन्ने प्रमाण उत्खननबाट प्राप्त वस्तुबाट प्रमाणित हुन्छ, पुरातत्वविद्ले प्राचीन देवदह पण्डितपुर नै भएको सङ्केत पनि गरेका छन्, अत्यन्त सम्भावना बोकेको यस स्थलको जियो फिजिक्स सर्भे र थप उत्खनन गरी यसको ऐतिहासिकता उजागर गर्न हामीले पहल थालेका हौँ’, नगर प्रमुख गुप्ताले भन्नुभयो ।

पण्डितपुर क्षेत्रमा उत्खननका क्रममा भेटिएका पुरातात्विक वस्तु पुरातत्व विभागमा सुरक्षित छन् । ‘यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नगरपालिकाले गुरुयोजना बनाएर अघि बढ्दैछ, नगरभित्र रामग्राम स्तूप र पण्डितपुर नै मुख्य पर्यटकीय स्थल हुन्, संरक्षणको पर्खाइमा रहेको यस पण्डितपुर क्षेत्रको संरक्षण र प्रवद्र्धनमा अब नगरपालिकाले चासो लिइसकेको छ, पहिचान भएका गन्तव्यको विकास र प्रवद्र्धन गर्ने र नयाँ गन्तव्यको पहिचान गर्ने हाम्रो लक्ष्य छ’, नगर प्रमुख गुप्ताले भन्नुभयो ।

पण्डितपुरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न यस क्षेत्रमा कोलीय शान्तिबाटिका बनाउने तयारीसमेत नगरपालिकाले गरेको छ । पण्डितपुर क्षेत्र बुद्धमावली भए–नभएको तथ्य प्रमाण सङ्कलनका लागि पनि यस सर्भे महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

rss