अनेरास्ववियुद्वारा स्ववियु निर्वाचनमा होमिने निर्णय

अनेरास्ववियुद्वारा स्ववियु निर्वाचनमा होमिने निर्णय


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि)द्वारा घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा होमिने निर्णय गरेको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को एकतापछि भएको पहिलो पूर्ण बैठकले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियु सहभागी हुने निर्णय गरेको हो ।

बैठकमा अनेरास्ववियुका जिल्ला र क्याम्पस कमिटीलाई स्ववियु निर्वाचनको तयारी गर्नसमेत निर्देशन दिने निर्णय गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले जानकारी दिए । ‘करिव १० वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा सहभागी हुने निर्णय गरेको छौँ’– उनले भने, ‘नेपाल विद्यार्थी सङ्घ र अन्य विद्यार्थी सङ्गठनलाई पनि स्ववियु निर्वाचनमा सहभागी हुन आग्रह गरिएको छ ।’

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुन सकेको छैन । विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो ।

अनेरास्ववियुको बैठकले सरकारलाई अन्य विश्वविद्यालयमा पनि स्ववियु निर्वाचन गराउन माग गरेको छ । विसं २०७३ मा स्ववियु निर्वाचन भए पनि करिब २५० क्याम्पसमा मात्र भएको थियो । अहिले त्रिविसहित पोखरा, पूर्वाञ्चल, काठमाडौँ विश्वविद्यालयमा केही क्याम्पसमा मात्र स्ववियु निर्वाचन हुने गरेको छ ।

बैठकले राष्ट्रिय शिक्षा आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनसमेत सार्वजनिक गर्न माग गरेको छ । यस्तै सरकारको नीति, नियम र निर्देशन नमान्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेको अनेरास्ववियुका केन्द्रीय सदस्य बस्नेतले जानकारी दिए । गत शुक्रबारदेखि शुरु भएको एकता बैठकले सोमबार (२८ पुस) अनेरास्ववियुका संयोजक ऐन महरको राजनीतिक तथा शैक्षिक प्रतिवेदन र सहसंयोजक रञ्जित तामाङको ‘अनेरास्ववियुको अन्तरिम विधान–२०७६’ समेत पारित गरेको छ ।

नयाँ विधानअनुसार ३३५ केन्द्रीय सदस्य, १११ सचिवालय सदस्य, ४५ स्थायी कमिटी सदस्य र नौदेखि १५ सम्म केन्द्रीय कार्यालय समिति राख्ने व्यवस्था गरिएको छ । बैठकले माघ मसान्तभित्र प्रदेश, जिल्ला र क्याम्पस कमिटीको एकता सम्पन्न गर्ने निर्णयसमेत गरेको राससले जनाएको छ । यही पुस १८ गते दुवै सङ्गठनको एकता गरिएको थियो ।